काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालले मुलुकभित्र बहुलवाद र अन्तर्राष्ट्रिय सम्बन्धमा बहुध्रुवीय नीतिलाई अनुशरण गरेको बताएका छन ।
संयुक्त राष्ट्रसंघको ७२ औँ महासभामा भाग लिन न्यूयोर्कमा पुगेका प्रधानमन्त्री देउवाले कोलम्बिया विश्वविद्यालयमा आयोजित ‘समावेशी लोकतन्त्र र विकासतर्फ नेपालको रुपान्तरण’ विषयक वल्ड लिर्डर्स फोरम (विश्व नेता मञ्च) लाई सम्बोधन गर्दै नेपालको यथार्थ बहुलवाद भएको बताए । उनले बहुलबादको शक्ति राष्ट्रिय एकता,सांस्कृतिक ऐक्यबद्धता र जनताको धैर्यता भएको उल्लेख गरे ।
नेपालले शान्तिपूर्ण सहअस्तित्वसहितको पञ्चशीलको सिद्धान्तलाई अंगीकार गरी आएको बताउँदै उनले यसै सिद्धान्तले अनिश्चय र आरोहअवरोहबीचमा सुमधुर सम्बन्ध कायम राख्न मार्गनिर्देश गरेको विश्वास ब्यक्त गरे ।
शान्ति, प्रगति र समृद्धिका लागि विश्वासको वातावरण निर्माण गर्न क्षेत्रीय सहयोग अपरिहार्य रहेको बताउँदै प्रधानमन्त्री देउवाले सहयोग विस्तार तथा सबै पक्षको जीतका लागि ‘कनेक्टिभिटी’ पूर्व सर्त रहेको र यसैकारण ऐतिहासिक कालदेखि स्वतन्त्र रहदै आएको बताए ।
उनले नेपालले स्वतन्त्र परराष्ट्र नीतिलाई अनुशरण गर्दा नेपालले कुनै भय र झुकावबिना गुणका आधारमा हरेक मुद्दामा निर्णय लिने गरेको बताए ।
देउवाले सबै पक्षसँग मित्रता कायम गर्नु र शान्ति, प्रगति र समृद्धिका लागि मिलेर काम गर्नु नेपालको लामो समयअघि देखिको नीति रहँदै आएको स्मरण गराए ।
प्रधानमन्त्री देउवाले नेपाल आफ्ना मित्रहरुको चिन्ता र चासोप्रति सदा सजग रहेको र आफ्नै चासोमा पनि यसै किसिमको सजगताको अपेक्षा राखेको बताउ ।
परिवर्तित सन्दर्भमा राष्ट्रसंघको ठूलो भूमिका र जिम्मेवारी रहेको तथ्यलाई नेपालले महसुस गरेको जनाउदै विश्वका चुनौतीको शीघ्र सामना गर्ने कार्यलाई अझ प्रभावकारी बनाउन राष्ट्रसंघको सुधार गर्न आवस्यक भएको पनि बताए ।
विश्वभर जटिल र ध्रवीकृत वातावरण सिर्जना भएको र आर्थिक तथा वित्तीय संकटले भूराजनीतिक प्रतिस्पर्धाका लागि नयाँ सुरक्षा तथा आर्थिक परिवेश खडा गरिदिएको पनि उनले उल्लेख गरे ।
बढ्दो संकीर्णवाद तथा धार्मिक अतिवादले समाजलाई असहिष्णु बनाएको र जातीय राजनीति हाबी भएर सामाजिक सद्भावलाई खल्बल्याएको उल्लेख गर्दै प्रधानमन्त्री देउवाले हरेक संस्कृतिका मुख्यमुख्य मान्यताको संरक्षण गर्न र वास्तविक समस्यासँग जुझ्न साझा धरातल पहिल्याउनु पर्ने र सहिष्णुता तथा सद्भाव कायम गर्नुपर्ने तर्फ सबैको ध्यान जान आवस्यक भएको बताए ।
नेपालमा प्रजातान्त्रिक संघर्षका लागि भएको आधा शताब्दीको आधुनिक इतिहास प्रकाश पार्न आफू महासभामा उपस्थित भएको बताउँदै उनले प्रजातान्त्रिक मूल्य मान्यताप्रति प्रतिबद्ध, अप्ठ्यारा स्थितिमा पनि विधिको शासनप्रति प्रतिवद्ध, गरिबीले व्याप्त अतिकम विकसित एक मुलुकका रुपमा नेपाल माथि उठ्न चाहेको बताए ।
नेपालले सशस्त्र द्वन्द्वको समाधानमा संवाद र वार्ताको माध्यम अपनाएको जानकारी दिँदै उनले जटिलतम परिस्थितिमा पनि नेपाली जनताले गरेको प्रजातान्त्रिक संघर्ष र प्रजातन्त्रप्रतिको गहिरो कटिबद्धतालाई प्रतिबिम्बित गर्नु विश्वकै लागि उदाहरणीय भएको बताए ।
सन् २००६ मा सरकार र माओवादी विद्रोहीबीचमा विस्तृत शान्ति सम्झौतामा हस्ताक्षर भएपछि विद्रोहीले सबै निर्वाचनमा भाग लिएको र सरकारको नेतृत्वसमेत गरेको स्मरण गराउदै देउवाले सन् २००८ मा नेपाली जनताले समावेशी चरित्रको संविधानसभालाई चुनेको र त्यसैले २४० वर्षको राजसंस्थाको अन्त्य गर्दै नेपाललाई संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा गरेको जानकारी गराए ।
सन् २०१५ को दोस्रो संविधानसभाबाट जनताका प्रतिनिधिले लोकतान्त्रिक तथा समावेशी संविधान जारी गरेको उल्लेख गर्दै प्रधानमन्त्री देउवाले त्यसले शान्ति प्रक्रियालाई टुंग्याएको र समावेशी संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गरेको मात्र नभई शान्ति, स्थायित्व र विकासको नयाँ युगको सूत्रपात पनि गरेको दाबी गरे ।
प्रतिक्रिया