देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

तातोपानी नाका सधैँका लागि बन्द गर्ने चीनको प्रस्ताव

देशान्तर

काठमाडौं । चीनले नेपालसँगको प्रमुख व्यापारिक तातोपानी–खासा नाका सधैँका लागि बन्द गर्ने तयारी गरेको छ । उसले यसबारे नेपालसमक्ष औपचारिक प्रस्तावसमेत राखेको छ । नेपालले प्रयोग गर्दै आएको खासा–ओलाङचुङगोला सडक नाका बन्द गर्ने चिनियाँ प्रस्तावपछि बुधबार थप सडक नाका खुलाउनेबारे दुई देशबीच हुन लागेको प्रोटोकल सम्झौता रद्द भएको छ ।

चिनियाँ उच्चस्तरीय वार्ताटोलीले सुरक्षाको कारण देखाउँदै खासा–ओलाङचुङगोला सडक नाका बन्द गर्ने अडान राखेको नेपाली वार्ताटोलीका एक सदस्यले बताए । यसअघि नेपालले खासा–ओलाङचुङगोला ताप्लेजुङ, खासा–रसुवागढी रसुवा र खासा–यारी हुम्ला नाका प्रयोग गर्दै आएको थियो । यारी र रसुवागढी दुवै नाका खासाभन्दा पश्चिममा पर्छन् । अहिले रसुवागढी नाका पूर्ण रूपमा सञ्चालनमा आइसकेको सन्दर्भमा यी दुई नाकामा पुग्नका लागि खासा तातोपानी नाका प्रयोग गर्नै पर्दैन । त्यसो हुँदा तातोपानी नाकाबाट पूर्वको ओलाङचुङगोलाका लागि खासा नाका प्रयोग गर्न नमान्नुको अर्थ तातोपानी–खासा नाका सदाका लागि बन्द गर्ने चाहना राख्नु हो ।

चिनियाँ पक्षले यस्तो अडान राख्नुको अर्थ भूकम्पपछि बन्द रहेको खासा नाका चीन सधैँका लागि बन्द गर्न चाहन्छ भन्ने अर्थ राख्ने वार्तामा सहभागी नेपाली पक्षले बताएको छ । नेपाली वार्ताटोलीका अनुसार चीन हुँदै नेपालको एक नाकाबाट अर्को नाका जोड्ने थप सडक खुलाउनेबारे नेपाल र चीनबीच सम्झौताको सम्भावना तत्कालका लागि सकिएको छ । चीनले आवश्यक ठानेमा र वार्तामा बोलाएमा नेपाल सहभागी हुने र आफ्ना कुरा राख्नेछ । त्यसबाहेक उच्चस्तरीय भेटमा पनि यो विषयलाई उठाउन सकिनेछ । साथै, खासा–ओलाङचुङगोला नाका नेपाली पक्ष वार्तामा सहमत नभएकाले तत्कालका लागि बन्द हुनेछैन । बन्द भएको घोषणा नगरे पनि भूकम्पपछि उक्त नाका सुचारु छैन । आजको नयाँ पत्रिकामा समाचार छ ।