काठमाडौं । काठमाडौंको थापाथलीस्थित नर्भिक इन्टरनेशनल अस्पतालमा उपचारका क्रममा बालिका भिक्टोरीया आचार्यको मृत्यु चिकित्सकको लापरवाहीले नभएको पाइएको छ ।
सरकारले बालिकाको मृत्युका बिषयमा छानविन गर्न स्वास्थ्य मन्त्रालयका डा बिनोदमान श्रेष्ठको संयोजकत्वमा एक छानबिन समिति गठन गरेको थियो ।
समितिले बालिकाको मृत्युका बिषयमा सबै पक्षसंग सोधपुछ र अनुसन्धान पछि चिकित्सकको लापरवाहीका कारण नभई कडा निमोनियाको कारण भएको ठहर गरेको छ ।
मृतक बालिकाका बुबा रमेश कुमार आचार्यले अस्पताल र चिकित्सकको लापरवाहीका कारण मृत्यु भएको भन्दै उचित छानविन र क्षपुर्तीको माग गरेपछि स्वास्थ्यमन्त्री गिरिराजमणी पोखरेलले समिति गठन गरि सातदिनभित्र प्रतिबेदन दिन निर्देशन दिएका थिए ।
समितिले मृतक बालिकाका परिवार, उपचारमा संलग्न चिकित्सक, बालिकाले प्रयोग गरेको औषधी, त्यसको मात्रा र पोष्टमार्टमको रिर्पाेटका आधारमा थप बिशेषज्ञहरुसंग राय लिदा पनि बालिकाको मृत्युमा औषधी र लापरवाहीको कारण नभेटिएको जनाएको छ ।
बालिकालाई भदौ १३ गते बिहान १० बजे उपचारका लागि नर्भिक पुर्याईएको थियो । १६ महिलनाकी बालिका आचार्य निमोनियाबाट ग्रस्त भएका कारण औषधीले काम गर्न नसक्दा नर्भिक भर्ना गरेको दुई घण्टा पछि उनको मृत्यु भएको प्रतिबेदनमा उल्लेख छ ।
निमोनियाका कारण बालिकाको फोक्सोको दुबै भाग कडा भईसकेकाले औषधीले काम गर्न नसकेको समितिको ठहर छ ।
समितिका सदस्यहरुले बालिकाको उपचारका क्रममा प्रयोग भएको औषधी र यसको प्रयोगका बिषयमा बिभिन्न बिशेषज्ञहरुसंग राय लिदा बालिकाको तौल ८ केजी भएकाले ५० देखि १०० मिलिग्राम मात्रै प्रयोग भएको र यो ओभर डोज नभएको ठहर गरेको छ ।
अस्पतालले उपलब्ध गराएको बिबरण अन्य अस्पतालमा उपचार गरिरहेका बालिकाका लागि प्रयोग भएका ओैषधीहरु अनुसार नै भएको र पोष्टमार्टम रिपोर्टमा पनि औषधीका कारण मृत्यु भएको नपाइएको समितिको निष्कर्ष रहेको छ ।
समितिले सबै जसो अस्पतालमा सेवाग्राही र सेवा प्रदायकबीच आपसी सद्भाव र समजदारीको कमी देखिएको भन्दै बिरामी केन्द्रित सेवाका लागि चिकित्सकहरुलाई मन्त्रालय तहबाटै आवश्यक तालिमको ब्यवस्था गर्न सुझाव पनि दिएको छ ।
बिनोदमान श्रेष्ठ संयोजक रहेको समितिमा नेपाल मेडिकल काउन्सीलका सदस्य प्रा.डा ढुण्डीराज पौडेल, जिल्ला प्रशासन कार्यलय काठमाडौंका कानुन अधिकृत पासरमणी पोखरेल, महानगरीय प्रहरी परिसर टेकुका प्रहरी नायब उपरिक्षक बेल बाहादुर पाण्डे, कान्ती बाल अस्पतालका डा.रामहरि चापागाई, टिचिङ अस्पताल माहाराजगन्जका डा. लक्ष्मण श्रेष्ठ, स्वास्थ्य मन्त्रालका शाखा अधिकृत घनश्याम पोखरेल र टिचिङ अस्पताल महाराजगन्जका डा.अरुण शर्माआमन्त्रित सदस्य रहेका थिए ।
प्रतिक्रिया