देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

माथिल्लो तामाकोशीको भौतिक प्रगति ९० प्रतिशतभन्दा बढी

देशान्तर

काठमाडौं । राष्ट्रिय गौरवको आयोजना माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको भौतिक प्रगति ९० प्रतिशत भन्दामाथि पुगेको छ ।

सरकारले आयोजनाका लागि हरप्रकारको सहयोग उपलब्ध गराउँदै तोकिएको समय भन्दा पहिले पूरा गरे पुरस्कारको समेत व्यवस्था गरेपछि निर्माणले गति लिएको हो ।

कुल ४५६ मेगावाट क्षमताको सो आयोजनाको सबैभन्दा अप्ठ्यारो मध्येको एक ठाडो सुरुङ भटिर्कल साफ्ट टनेल ब्रेक थ्रु भएपछि भौतिक प्रगति ९० प्रतिशतमाथि पुगेको आयोजना प्रमुख विज्ञान श्रेष्ठले जानकारी दिए ।

विद्युत् गृहमा पानी ल्याउने सुरुङ मध्येको सबैभन्दा अप्ठ्यारो मानिएको सो सुरुङ ३२२ मिटर लामो छ । आयोजना प्रमुख श्रेष्ठले भने, “विश्वकर्मा पूजाको दिन नै हामीले सबैभन्दा अप्ठ्यारो मानिएको ठाडो सुरुङ निर्माण सम्पन्न गरेका छौ, ३१ भदौ आयोजानको लागि महत्वपूर्ण दिन सावित भएको छ । सो कार्य सम्पन्न भएपछि ‘भर्टिकल स्टिल लाइनिङ’ जडानका लागि समेत मार्ग प्रशस्त भएको छ ।”

भूकम्प र भारतको अघोषित नाकाबन्दीको चपेटामा परेको आयोजनाको काममा दैनिकजसो प्रगति भइरहेको उनको भनाइ छ । आगामी असार अन्त्यमा आयोजनाको पहिलो युनिट सञ्चालनमा ल्याउने तयारीका साथ काम भइरहेको छ ।

आयोजनाका प्रवक्ता गणेश न्यौपानेले आयोजनाको कार्यप्रगति दैनिक जसो राम्रो अवस्थामा रहेको र तोकिएको समयमा पूरा गराउन आफूहरु प्रतिवद्ध रहेको वताए। आयोजनाको काम तीव्र रुपमा अगाडि बढेपनि प्रसारण लाइन र सव स्टेशन निर्माण कार्यले गतिलिन नसक्दा विद्युत् खेर जाने आशंकाले आयोजना र नेपाल विद्युत् प्राधिकरणलाई नराम्ररी सताएको उनको भनाइ छ ।

माथिल्लो खिम्ती सव स्टेशनको काम जग्गा प्राप्तिको समस्याले अगाडि बढ्न सकेको छैन । जग्गा प्राप्तिको विषयलाई समाधान गर्न पहल भइरहेको आयोजनाले जनाएको छ ।

रोल्वालिङको अनुमतिपत्र प्राप्त

माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाले २२ मेगावाट क्षमताको रोल्वालिङ खोला डाइभर्सन आयोजनाको अनुमतिपत्र पाएको छ । विद्युत् विकास विभागले सो आयोजनाको अनुमतिपत्र गत भदौ २५ गते आयोजनालाई हस्तान्तरण गरेको प्रवक्ता न्यौपानेले जानकारी दिए ।

माथिल्लो तामाकोशी आयोजनामै रोल्वालिङ खोलाको पानी मिसाउन यसअघि अध्ययन गरिए पनि नयाँ आयोजना बनाउँदा थप राम्रो हुने निष्कर्षका साथ आयोजनाको अनुमतिपत्र दिइएको हो । तामाकोशीको जलाशय रहेको स्थानभन्दा करिब २५० मिटरमाथि रोल्वालिङ खोलाको पानी प्रयोग गरेर २२ मेगावाट विद्युत् उत्पादन गरिने र सो पानी तामाकोशीको जलाशयमा नै खसालिनेछ ।

सो आयोजनाबाट वार्षिक करिब १६ करोड युनिट विद्युत् थप उत्पादन हुने अध्ययनबाट पत्ता लागेको छ । बालुवा थिग्ग्रयाउने मेसिन र विद्युत् गृह निर्माण गर्दा थप विद्युत् प्राप्त हुन्छ । सहज रुपमा निर्माण हुने भएकाले सो आयोजनालाई आर्कषक आयोजनाको रुपमा लिइएको छ ।

डाइभर्सनका लागि हालसम्म भएको अध्ययनअनुसार करिब सात किलोमिटर सुरुङ बनाउनुपर्ने छ । त्यसको विस्तृत इञ्जिनियरिङ डिजाइन तयार भइसकेकोे छ । “आयोजनाको लागत तय गर्ने काम भइरहेको छ, बल्ल अनुमतिपत्र प्राप्त भयो, हामी सबै पक्षसँग छलफल गरेर लगानी जुटाउँछाँै,” नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले भने ।

माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको सञ्चालक समितिका अध्यक्षसमेत रहेका घिसिङले आयोजनाको प्रगतिसँग नयाँ परियोजनाको पनि अनुमतिपत्र प्राप्त हुनु थप खुसीको विषय भएको बताए । आयोजनाले कर्मचारी सञ्चयकोष, नागरिक लगानीकोष लगायतलाई लगानीका लागि आग्रह गर्ने तयारी गरेको छ । ती संस्थाले माथिल्लो तामाकोशीमा लगानी गरेका छन् । रोल्वालिङ डाइभर्सनको बाँधस्थल विकटमा रहेकाले त्यहाँसम्म पुग्न भौगोलिक जटिलता छ ।

केवलकार निर्माणको तयारी

दोलखाको छेतछेतदेखि साविकको गौरीशंकर गाविसको रिखु गाउँसम्म करिब दुई किलोमिटर लामो केवलकार निर्माणको तयारी गरिएको छ ।

केवलकारबाटै निर्माण सामग्रीलगायत ढुवानीको योजना बनाएको आयोजनाले जनाएको छ । जलविद्युत् आयोजनाका लागि केवलकार निर्माण गर्न लागिएको यो नै पहिलो पटक हो ।

स्थानीय सहकारीमार्फत साधारण शेयर बाँडिने

आयोजनाले दोलखा जिल्लावासीलाई प्रदान गर्ने साधारण शेयरका लागि स्थानीय सहकारी संस्था तथा अन्य वित्तीय संस्था परिचालन गर्ने नीति लिएको छ ।

आयोजनाले केही समयभित्रै स्थानीयवासीका लागि साधारण शेयर दिने र आगामी चैतमा आम नागरिकका लागि साधारण शेयर जारी गर्ने तयारी गरेको छ । यसअघि कर्मचारी सञ्चयकोषका सञ्चयकर्ता र लगानीकर्ता निकायका कर्मचारीलाई साधारण शेयर दिइसकिएको छ ।