देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

कांग्रेस ११, एमाले ८, माओवादी ७,राजपा ५ र समाजवादी फोरमको ४ तहमा अग्रता

देशान्तर

काठमाडौं । प्रदेश नम्बर २ का ८ जिल्लामा भएको स्थानीय तहको तेस्रो चरणको निर्वाचनपछि मतगणना जारी छ । कतिपय वडा तहको मतपरिणाम सार्वजनिक भैसकेको छ ।

अधिकांश तहमा मतगणना सुरु भैसकेको निर्वाचन आयोगले जनाएको छ । ८ वटा जिल्लाका १३६ वटा स्थानीय तहमा सोमबार मतदान भएको थियो । करिब सय बढी तहमा मतगणना सुरु भैसकेको छ ।

बाँकी स्थानीय तहको मतगणना कार्य पनि सुरु गर्ने तयारी भइरहेको निर्वाचन आयोगमा रहेको संयुक्त निर्वाचन परिचालन केन्द्र (जेइओसी) बाट प्राप्त विवरणमा उल्लेख छ ।

राजविराज नगरपालिकाको वडा नं. १५ का राष्ट्रिय जनता पार्टीका वडाध्यक्षका उमेदवारको निधन भएकाले उक्त वडामा असोज ५ गते मतदान भएपछि मात्रै राजविराज नगरपालिकाको मतगणना कार्य सुरु हुने आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिए ।

त्यसबाहेक अहिलेसम्म मतगणना भएका तहको प्रारम्भिक परिणामअनुसार कांग्रेस, एमाले, माओवादी, राजपा र संघीय समाजवादी फोरम नेपालबीच प्रतिष्पर्धा हुने देखिएको छ ।

अत्यन्त कडा सुरक्षाकाबीच मतगणना भैरहेको छ । कतिपय तहमा काँडेतार र जालीसमेत लगाइएको बताइएको छ । प्रारम्भिक मतपरिणाम हेर्दा नेपाली कांग्रेसले धेरै तहमा अग्रता हासिल गरेको छ ।

नेपाली कांग्रेसले अहिलेसम्म ११ तहमा अग्रता कायम गरेको छ भने एमालेले ८, माओवादीले ७ र राजपाले ५ र समाजवादी फोरमले ४ तहमा अग्रता हासिल गरेका छन् ।