देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

दुई नम्बर प्रदेशका १३६ स्थानीय तहको निर्वाचनमा आज मतदान

देशान्तर

काठमाडौँ । निर्वाचन आयागले तेस्रो चरणको स्थानीय तहको निर्वाचनमा आज बिहान सात बजेदेखि अपराह्न पाँच बजेसम्म हुने मतदान सुरु भएको छ । निर्वाचन आयोगले मतदानका लागि सम्पूर्ण तयारी पूरा भएको र मतदाता उत्साहपूर्वक मतदानका लागि पर्खाइमा रहेको बताएको छ ।  निर्वाचनका लागि दुई हजार १६६ मतदानस्थलमा तीन हजार ५७८ मतदान केन्द्र बनाइएको । मतदान कार्यमा सुरक्षाकर्मीबाहेक ३१ हजार पाँच सय जना कर्मचारी परिचालन गरिएको छ ।  एक महानगरपालिका, ३ उपमहानगरपालिका, ७३ नगरपालिका र ५९ गाउँपालिका गरी १३६ वटा स्थानीय तहमा निर्वाचन हुँदैछ भने त्यहाँका २६ लाख ६४ हजार ९५० मतदाताले मताधिकारको प्रयोग गर्दैछन् । निर्वाचनबाट ६ हजार ६२७ जना प्रतिनिधि निर्वाचित हुनेछन् भने निर्वाचनमा कुल ३७ हजार २३६ उम्मेदवार प्रतिस्पर्धामा छन् ।
उम्मेदवारमध्ये महिला १४ हजार ३३७ (३९ प्रतिशत) र पुरुष २२ हजार ८६१ (६१ प्रतिशत) को उम्मेदवारी कायम रहेको छ ।

यस निर्वाचनमा आठ जना उम्मेदवार निर्विरोध निर्वाचित भइसक्नु भएको छ । नगरप्रमुख तथा अध्यक्षमा एक हजार ७०९ पुरुष र ६१ जना महिलाको मात्रै उम्मेदवारी छ । आयोगका अनुसार, नगरउपप्रमुख वा उपाध्यक्षमा भने पुरुषको भन्दा महिलाको उम्मेदवारी सबैभन्दा बढी देखिएको छ । नगरउपप्रमुख र उपाध्यक्षमा १९७ जना पुरुष र ९१९ जना महिला उम्मेदवार छन् । वडाध्यक्षमा आठ हजार ५२ जना पुरुष र २२३ जना महिला उम्मेदवारहरू निर्वाचनको मैदानमा छन् । यस्तै निर्वाचन आयोगले प्रदेश नम्बर दुईमा हुने निर्वाचनमा मतदाताले कुनै कारणवशः फोटोसहितको मतदाता परिचयपत्र प्राप्त गर्न नसकेमा वा प्राप्त गरेका मतदाताले परिचयपत्र हराएमा वा नष्ट भएमा निजको मताधिकार सुनिश्चित गर्न वैकल्पिक व्यवस्था गरेको छ ।

नागरिकताको प्रमाणपत्र वा २०७० सालमा निर्वाचन आयोगबाट जारी गरिएको मतदाता परिचयपत्र वा राहदानी वा सवारीचालक अनुमतिपत्र वा जग्गाधनी प्रमाणपत्र वा सरकारी निकायबाट फोटोसहित जारी भएको अन्य परिचयपत्रसमेतका आधारमा मतदान गर्न पाउने निर्णय आयोगले गरेको छ ।  आयोगले मतदाता नामावली तथा मतदाता परिचयपत्रमा सामान्य त्रुटि पाइएमा स्थानीय तह निर्वाचन निर्देशिका, २०७३ को दफा ४८ बमोजिम सानोतिनो भूलचुक मानी निजको नागरिकता प्रमाणपत्रको विवरणलाई मूल आधार लिई मतदान गर्न दिने व्यवस्था मिलाउन निर्देशन दिएको छ ।

अपाङ्गता भएका, गर्भवती, सुत्केरी, ज्येष्ठ नागरिक, अशक्त वा बिरामी मतदातालाई मतदान गर्ने कार्यमा प्राथमिकता दिई उचित व्यवस्थापन मिलाउन र सहज ढङ्गले मतदानको प्रबन्ध गर्न सबै मुख्य निर्वाचन अधिकृत र मतदान अधिकृतलाई आयोगले निर्देशन दिएको छ । दृष्टिविहीन वा शारीरिक अशक्तता भएका मतदाताले आफै मत सङ्केत गर्न नसकेमा एकाघरको परिवारका सदस्यले मतदान अधिकृतको स्वीकृति लिएर वा मतदान अधिकृतको सहयोगमा मत सङ्केत गर्न सक्ने व्यवस्था मिलाइएको छ ।

आयोगले आज हुने मतदानको पर्यवेक्षणका लागि पर्यवेक्षणका लागि ४४ वटा संस्थाका दुई हजार एक सयभन्दा बढी पर्यवेक्षकलाई निर्वाचन पर्यवेक्षणको अनुमति दिएको छ । यस्तै, पहिलो र दोस्रो चरणमा जस्तै तेस्रो चरणको स्थानीय तह निर्वाचनमा नेपालमा रहेका विदेशी कूटनीतिक नियोगका प्रमुख तथा प्रतिनिधिलाई प्रदेश नम्बर दुईका जनकपुर, बर्दिबास, वीरगन्ज र सिमरामा मतदानको दिन अवलोकन भ्रमण गर्न सक्ने छन् ।  मतदानको कार्य सम्पन्न भई मतपेटिका सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा प्राप्त भइसकेपछि राजनीतिक दलहरूसँग समन्वय गरी यथाशक्य छिटो मतगणना सुरु हुने आयोगले जनाएको छ ।