काठमाडौं । काठमाडौं जिल्ला अदालतले आन्तरिक राजस्व विभागका निलम्बित महानिर्देशक चूडामणि शर्माविरुद्धको भ्रष्टाचार मुद्दामा एक साताभित्र म्याद तामेल गरी विशेष अदालतमा पठाउने भएको छ । अदालतका प्रवक्ता कृष्णप्रसाद नेपालले शर्मा विरुद्धको मुद्दाको म्याद तामेली एक साताभित्र विशेष अदालतमा पठाइसक्ने जानकारी दिए ।
उनले म्याद तामेलदार हप्ता दिनमा अदालत आउने बताउँदै तिनीहरु फिल्ड कर्मचारी भएकाले अहिल्यै तुरुन्तै पठाउन नमिले पनि उनीहरुको आउने समय भइसकेको बताए । प्रवक्ता नेपालले अब आउँदा म्याद तामेल गराएर तुरुन्तै विशेष अदालतलाई पठाइने जानकारी दिए । शर्मा विरुद्धको भ्रष्टाचार मुद्दा विशेष अदालतको क्षेत्राधिकार पर्ने भन्दै सर्वोच्च अदालतले साउन २७ गते फैसला गरे पनि जिल्ला अदालत काठमाडौंबाट म्याद तामेल भएर विशेष अदालतमा हालसम्म नआएकोले उक्त मुद्दाको प्रकृया अगाडि बढ्न सेकको छैन ।
विशेष अदालतका शाखा अधिकृत विष्णुप्रसाद पाण्डेले मिसिलगत आधारमा काठमाडौं जिल्ला अदालतबाट म्याद तामेल भएर विशेषमा नआइपुगेको बताए । पाण्डेले उताबाट म्याद प्राप्त हुनासाथ १५ दिनभित्र शर्मालाई हाजिर हुने सूचना जारी गरिने जानकारी दिए । उनले हाजिर हुने अधिकतम समय ३० दिनको रहेको बताउँदै बिरामी परेर वा अन्य गम्भीर कारणवश १५ दिनभित्र हाजिर हुन नआए अर्को १५ दिनको लागि हाजिर हुने म्याद तोकिने उनले बताए ।
सर्वोच्चले शर्मालाई साधारण तारेखमा छाड्न आदेश दिएको थियो भने उनीसँग विशेष अदालतले मागेको धरौटी रकम पनि अस्वभाविक भएको ठहर गरेको थियो । शर्मासँग विशेष अदालतले दुई अर्बभन्दा बढी धरौटी मागेको थियो । सर्वोच्चको आदेशमा धरौटी रकम मनासिब नदेखिएको उल्लेख छ ।
शर्मासहित कर फछ्र्योट आयोगका अध्यक्ष लुम्बध्वज महत र सदस्य उमेश ढकाल विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा १० अर्ब २ करोड १९ लाख ८२४ रुपैयाँ भ्रष्टाचार मुद्दा दायर गरेको थियो । उक्त मुद्दा भने अहिलेसम्मकै ठूलो हो । महत र ढहाल हालसम्म फरार रहे पनि शर्मा भने सर्वोच्चको आदेशमा साधारण तारेखमा रिहा भइसेका छन् ।
प्रतिक्रिया