काठमाडौं । संयुक्त राज्य अमेरिकाको फ्लोरिडामा प्रवेश गरेको समुद्री आँधी एर्मा उत्तरतर्फ बढ्दै गर्दा त्यसले तटीय क्षेत्रमा व्यापक बाढी तथा हावाहुरी निम्त्याएको छ ।
शक्तिशाली आँधीका कारण २० लाखभन्दा बढी घर तथा कलकारखानामा बिजुली आपूर्ति बन्द भएको छ । आँधीको गति कमजोर भएपनि अधिकारीहरुले हावाहुरी घातक हुनसक्ने चेतावनी दिएका छन् ।
आँधीका कारण अहिलेसम्म फ्लोरिडामा कम्तीमा तीनजनाको मृत्यु भएको अधिकारीहरुले बताएका छन् ।राष्ट्रपति डोनल्ड ट्रम्पले फ्लोरिडामा ठूलो संकट आइपरेको घोषणालाई अनुमोदन गर्दै संघ सरकारबाट थप आपतकालीन सहायता निकासा गरेका छन् ।
एर्मा आँधीलाई ठूलो राक्षसको संज्ञा दिंदै ट्रम्पले आँधीका बेला सहयोगमा जुटिरहेका संघीय निकायहरुको प्रशंसा गरेका छन् र आफू छिट्टै प्रभावित राज्य जाने बताए । (एजेन्सी)
प्रतिक्रिया