काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले अन्तर्राष्ट्रिय साक्षरता दिवस तथा ३८औँं राष्ट्रिय शिक्षा दिवसका अवसरमा उत्कृष्ट विद्यार्थीलाई विभिन्न विद्यापदक प्रदान गरेकी छन् । राष्ट्रपति कार्यालय शीतल निवासमा आज भएको कार्यक्रममा उनले नेपाल विद्याभूषण पदक ‘क’बाट २१५ जना, ‘ख’बाट ८२ जना, ‘ग’बाट २८ जना, स्नातक तहको नेपाल छात्र विद्यापदक २३ जना र प्रमाणपत्र तहको नेपाल छात्र विद्यापदक तीन जनालाई प्रदान गरेकी हुन्।
सो अवसरमा राष्ट्रपति भण्डारीले पदक पाउनेले आफ्नो आर्जित ज्ञान र विद्धतालाई सामाजिक, आर्थिक समृद्धिमा प्रयोग गर्ने विश्वास व्यक्त गरीन्। देश विकासको आधार स्तरीय शिक्षा भएको बताउँदै उनले शिक्षाले सामाजिक, आर्थिक र राजनीति रुपमा जागरुक नागरिक तयार गर्छ भने आर्थिक रुपमा सक्षम हुने वातावरणसमेत सिर्जना गर्ने बताए ।
राष्ट्रपति भण्डारीले सदियौँदेखि अभ्यासमा रहेको पूर्वीय ज्ञानलाई संरक्षण र संवद्र्धन गर्दै समयानुकूल आधुनिक ज्ञानको माध्यमबाट समग्र शिक्षा पद्दतिलाई वैज्ञानिक ढंगको बनाउन आवश्यक रहेकोमा जोड दिईन् । उच्च शिक्षालाई सर्वसुलभ र गुणस्तरीय बनाउनुपर्नेमा जोड दिँदै उनले प्राविधिक विषयमा नेपालमा विश्वस्तरीय शिक्षा प्रदान गर्ने वातावरण बन्नु खुशीको कुरा भएको बताईन् ।
राष्ट्रपति भण्डारीले संविधानमा आधारभूत शिक्षाको पहुँचलाई निःशुल्क र अनिवार्य तथा माध्यमिक तहसम्मको शिक्षालाई निःशुल्क गर्ने व्यवस्था राख्नु खुशीको कुरा भएको बताउँदै भूकम्प, बाढीपहिरोबाट क्षतिग्रस्त शैक्षिक संस्थाको पुनःनिर्माणलाई तीव्रता दिई सबैले सहज रुपमा शिक्षाआर्जन गर्ने वातावरण बनाउन सम्बन्धीत सबैमा आग्रह गरीन् ।
राष्ट्रपति भण्डारीले संविधान जारी भई अहिले मुलुक स्थानीय तहको अन्तिमचरणको निर्वाचन सम्पन्न गर्ने अन्तिम घडीमा रहेको तथा प्रदेश र संघको निर्वाचनको मिति घोषणा भई त्यसको तयारीमा जुटेको उल्लेख गर्दै यी निर्वाचनले राज्य सञ्चालनका लागि संवैधानिक र कानूनी व्यवस्थालाई थप संस्थागत र सुदृढ गर्ने विश्वास व्यक्त गरीन् ।
प्रतिक्रिया