देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

उम्मेदवारी दर्ता उत्साहजनक, आज उम्मेदवारमाथिको दावी विरोध

देशान्तर

काठमाडौं । तेस्रो चरणको स्थानीय तह निर्वाचनअन्तर्गत प्रदेश नं २ का १३६ स्थानीय तहमा आगामी असोज २ गते हुने निर्वाचनका लागि मनोनयन दर्ता कार्य उत्साहजनक र शान्तिपूर्णरुपमा भएको छ । मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालयमा पुगेर महिला, दलितलगायत उम्मेदवारले उत्साहपूर्वक मनोनयन दर्ता गराएको निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले बताए।  यसैबीच असोज २ गते हुने प्रदेश नम्बर २ को स्थानीय तहको चुनावको मनोनयन दर्ता गर्ने उम्मेदवारमाथिको दावी विरोधको लागि आज विहान १० बजेदेखि १ बजे सम्मको समय निर्धारण गरिएको छ ।

निर्वाचन आयोगले हिजो उम्मेदवारी दिने व्यक्तिहरुको विषयमा विरोध गर्ने तथा उजुरी दर्ता गर्ने प्रयोजनका लागि आज समय छुट्टाएको हो । यस्तै राती साढे ११ बजेसम्म मनोनयनको जाँच गर्ने जनाएको छ ।  शुक्रबार बिहान साढे ११ बजेदेखि १ बजेसम्म मनोनयनमा परेका उम्मेदवारको नाम प्रकाशन गर्ने र सोही दिन साँझ ५ बजेसम्म उम्मेदवारी फिर्ताको समय छुट्याइएको आयोगले जनाएको छ । शनिबार १० देखि ११ बजेसम्ममा उम्मेदवारको अन्तिम नामावली सार्वजनिक गर्ने आयोगले सोही दिन ११ देखि साँझ ५ बजेसम्म निर्वाचन चिन्ह प्रदान गर्ने जनाएको छ ।

तेस्रो चरणको स्थानीय तह निर्वाचन एक महानगरपालिका, तीन उपमहानगरपालिका, ७३ नगरपालिका र ५९ गाउँपालिकामा हुँदैछ। यो निर्वाचनबाट छ हजार ६२७ प्रतिनिधिहरु निर्वाचित हुनेछन्। निर्वाचन कार्यक्रमअनुसार उम्मेदवारको अन्तिम नामावली प्रकाशनपछि उम्मेदवारलाई यही भदौ २४ गते निर्वाचन चिह्न प्रदान गरिनेछ। मुलुकका सात प्रदेशका ७७ जिल्लाका ७५३ मध्ये पहिलो चरणमा गत वैशाख ३१ गते २८३ तथा दोस्रो चरणमा ३३४ स्थानीय तहको निर्वाचन भइसकेको छ। स्थानीय सरकार गठनका लागि भइरहेको स्थानीय तहको निर्वाचन पूरा भएपछि संविधान कार्यान्वयनको एउटा खुड्किलो पार हुन्छ ।