सर्लाही । स्थानीय तहको टिकट वितरणप्रति असन्तुष्ट राष्ट्रिय जनता पार्टीका सांसद जंगीलाल रायले पार्टी महामन्त्री पदबाट राजीनामा दिएका छन् । कबिलास नगरपालिकाका साथै विष्णु र ब्रह्मपुरी गाउँपालिकामा आफूले चाहेका व्यक्तिलाई पार्टीले उम्मेदवार नबनाएपछि महामन्त्री राय रुष्ट बनेका हुन् । महामन्त्रीबाट राजीनामा दिएपछि उनी जिल्लामा सक्रिय नै छन् ।
आफूले भनेअनुसार राजपाबाट टिकट पाएकालाई जिताउन लाग्ने भन्दै उनले भने, ‘जसलाई टिकट दिइएको छैन । उनीहरु जुन पार्टीबाट उठेपनि म सहयोग गर्छु ।’ कबिलासी नगरपालिकाका साथै विष्णु र ब्रह्मपुरी गाउँपालिकामा कमजोर उम्मेदवारलाई टिकट दिएको उनको आरोप छ ।
अध्यक्ष मण्डलका सदस्यद्वय राजेन्द्र महतो र महेन्द्र यादवले जिल्लामा मनोमानी तरिकाबाट टिकट वितरण गरेको उनले बताए । महामन्त्री पदबाट राजीनामा दिए पनि पार्टीको साधारण सदस्यबाट राजीनामा नदिएको रायले बताए । राय सर्लाही क्षेत्र नम्बर ५ बाट निर्वाचन सांसद हुन् ।
प्रतिक्रिया