काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सहिदहरूले नेपाली जनताको स्वतन्त्रताको लागि गरेको बलिदानबाट प्रेरणा लिएर नेपाललाई स्वर्ग बनाउने अभियानमा जुट्न सबैलाई अपील गरेका छन् । तनहुँको व्यास नगरपालिका –८ पुलिमराङमा रहेको सहिद पार्कमा पुगेर सहिदहरूको शालिकमा माल्यार्पण पछि स्थानीयलाई सम्बोधन गर्दै उनले भने – “सहिदहरूको ठूलो बलिदानले आज हामीले संघीय लोकतान्त्रिक गणतन्त्र प्राप्त गरेका छौ ।
अब विदेश जाने छटपटाहट छोडौ र नेपाललाई नै स्वर्ग बनाउने अभियानमा जुटौ । “ उनले लोकतन्त्रपछि देशमा धेरै काम भएको र अझै हुन बाँकी रहेको उल्लेख गर्दै अब गाउँमा सबै सुविधा पुग्नेमा विश्वस्त हुन आग्रह गरे । उनले गाउँमा अब कृषि क्रान्ति गरेर गाउँमै रोजÞगारी र गाउँमै आम्दानी कसरी ल्याउने भन्ने चिन्ता लिनुपर्ने पनि बताए । राष्ट्रपति पौडेलले पुलिमराङमा रहेको सहिद पार्कमा रहेका सहिदहरू भारत गुरुङ, शमसेरबहादुर गुरुङ, लालध्वज गुरुङ, धर्मध्वज गुरुङ, सर्वसिंह गुरुङ, हस्तवीर गुरुङको शालिकमा माल्यार्पण गरे ।
लोकतान्त्रिक आन्दोलनका क्रममा विभिन्न समयमा शाहदत प्राप्त गर्ने पुलिमराङका ६ जनाको शालिक यो पार्कमा रहेको छ । जसमध्ये धर्मध्वज गुरुङले १ माघ २००७ मा बन्दीपुरमा राणा शासनविरुद्धको आन्दोलनमा शाहदत प्राप्त गरेका थिए । त्यसैगरी २०१८ सालमा निर्दलीय पञ्चायती व्यवस्थाविरुद्धको आन्दोलनमा पुलिमराङका लालध्वज गुरुङ, सर्वसिंह गुरुङ र हस्तवीर गुरुङले कोत्रेमा शहादत प्राप्त गरेका थिए । शमसेरबहादुर गुरुङ भरतपुरमा र भारत गुरुङ पुलिमराङमै मारिएका थिए । राष्ट्रपति पौडेलले माघ १६ गते सहिद दिवसका अवसरमा गृहजिल्ला पुगेर लोकतान्त्रिक आन्दोलनमा शाहदत प्राप्त गर्नुभएका सहिदहरूको शालिकमा माल्यार्पण गरेर श्रद्धा प्रकट गरेका हुन् ।
प्रतिक्रिया