काठमाडौं । आजदेखि काठमाडौंमा सभापति कप फुटबल प्रतियोगिता सुरु हुँदै छ । नेपाली कांग्रेस लोकतान्त्रिक खेलकुद संघ महाधिवेशन निर्देशन समितिको आयोजनामा सभापति कप फुटबल प्रतियोगिता सुरु हुन लागेको हो ।
प्रतियोगिताको उद्घाटन उपप्रधान तथा शहरी विकासमन्त्री प्रकाशमान सिंहले गर्नेछन् । उद्घाटन खेल दिउँसो ३ बजे हुनेछ । जसमा ‘ए’ डिभिजन क्लब चर्च ब्वाइज र संकटा क्लब आमनेसामने हुनेछन् ।
१७ गतेसम्म चल्ने प्रतियोगितामा ८ टिमको सहभागिता रहेको छ । नकआउट फुटबल प्रतियोगितामा जित्ने टोली सीधै सेमिफाइनल प्रवेश गर्नेछ ।
बुधबार आयोजित प्रि–म्याच कन्फ्रेन्समा सबै टिमका कोच र कप्तानले लामो समयदेखि रंगशालामा प्रतियोगिता नभएको अवस्थामा सभापति कप आयोजना हुनु खेल र खेलाडीका लागि राम्रो अवसर रहेको बताए ।
प्रतियोगिताको उपाधि विजेता टिमले नगद २६ लाख प्राप्त गर्दा उपविजेता टिमले १३ लाख पाउनेछ । यसैगरी प्रत्येक खेल खेल्ने दुवै टिमलाई म्याच मनीको रूपमा नगद ५०–५० हजार प्रदान गरिनेछ भने प्लेयर अफ दी म्याच खेलाडीले १५ हजार पाउनेछन् ।
प्रतियोगिताको टिकट मूल्य भिआईपीतर्फ ३ सय र साधारणतर्फ १ सय रुपैयाँ तोकिएको छ । प्रतियोगिता संयोजक मनिष जोशीका अनुसार सभापति कपको टिकट खल्ती एपबाट खरिद गर्न सकिनेछ ।
प्रतिक्रिया