देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

भ्रमण दशक कार्यान्वयन प्रक्रिया अगाडि बढाएका छौँ : पर्यटनमन्त्री

देशान्तर

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले पर्यटन क्षेत्रको विकासका लागि नीतिगत र संरचनागत सुधारलाई उच्च प्राथमिकता दिएको बताएका छन् ।

अमेरिकी चेन होटल बेस्ट वेस्टर्न प्लस काठमाडौंको आज यहाँ उद्घाटन गर्दै मन्त्री पाण्डेले सरकारले पर्यटन र नागरिक उड्डयन क्षेत्रमा नीतिगत सहजीकरण गरिदिने भन्दै पर्यटकीय पूर्वाधारमा निजी क्षेत्रले उत्साहकासाथ लगानी बढाउनुपर्नेमा जोड दिए ।

पर्यटनमन्त्री पाण्डेले होटल पूर्वाधारमा एकपछि अर्को लगानी बढिरहेको र विभिन्न विदेशी ‘ब्रान्ड’हरु पनि क्रमशः नेपाल भित्रिरहेको भन्दै यसबाट नेपालको आर्थिक समृद्धिमा टेवा पुग्ने विश्वास व्यक्त गरे । उनले नेपालको अथाह पर्यटकीय सम्भावनालाई उजागर गर्दै विदेशी पर्यटकलाई आकर्षण गर्न सरकार र निजी क्षेत्रको दरिलो साझेदारिता आवश्यक रहेको औँल्याए ।

पर्यटनमन्त्री पाण्डेले भ्रमण दशक कार्यान्वयनका लागि प्रक्रिया अगाडि बढाएको बताए । सरकारले सन् २०२५ देखि २०३५ लाई भ्रमण दशकका रुपमा मनाएर वार्षिक ३५ लाख विदेशी पर्यटक नेपाल भित्र्याउने लक्ष्य लिइएको छ ।

“भ्रमण दशकको कार्ययोजना निर्माणमा मन्त्रालय जुटेको छ । दशक मनाउँदै गर्दा धेरै मिहिनेत गर्नुपर्छ । भ्रमण दशकलाई परिणाममुखी बनाउन बजेटसहित आवशयक व्यवस्थापकीय काम जरुरी हुन्छ,” पर्यटनमन्त्री पाण्डेले भने ।

नेपालका लागि अमेरिकी राजदूत डिन आर थम्सनले नेपालको प्रर्यटन क्षेत्रको विकास प्रवर्द्धनमा अमेरिकी सरकारले समन्वय र सहयोगी भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे ।

नेपालको मनमोहक प्राकृतिक सौन्दर्यको भ्रमणका लागि उल्लेख्य संखयामा अमेरिकी नागरिकहरु आइरहेको भन्दै लामो इतिहास बोकेको अमेरिकी चेन होटल वेष्ट वेष्टन प्लसको सञ्जालमार्फत नेपालमा आतिथ्यता उद्योगको विकासमा सहयोग पुग्ने बताए ।

होटल संघ नेपालका अध्यक्ष विनायक शाहले अन्तर्राष्ट्रियस्तरको हस्पिटालिटी सेवाको नेपालमा सुरुआतले नेपालको पर्यटन प्रवर्द्धनका साथै सम्पर्क सञ्जाल विस्तार गर्न मद्दत पुग्ने बताए ।

बेस्ट वेस्टर्न प्लस काठमाडौँका अध्यक्ष रामेश्वर अर्यालले होटल उद्योगलाई केवल एक व्यावसायिक प्रयासको रुपमा मात्र नभई नेपालको पर्यटन र आतिथ्यता क्षेत्रलाई नयाँ उचाइमा पुरयाउने प्रतिविम्बका रुपमा बेष्ट वेस्टनलाई लिइएको उल्लेख गरे ।