काठमाडौं । मुस्लिम धर्मावलम्बीको दोस्रो महान् पर्व बकर ईद (इदुल जोहा) आज देशभरका मस्जिदमा हर्षोल्लास पूर्वक मनाइँदैछ ।
इदुल फित्र अर्थात् रमजान पर्वको ७० औँ दिनमा बकर इद मनाउने धार्मिक विधि रहिआएको छ । यसदिन मुस्लिम धर्मावलम्बीहरू बिहानै स्नान गरी नजिकैको मस्जिद वा इदगाहमा गई सामूहिक नमाज पढ्छन् । नमाज पढिसकेपछि एक आपसमा अङ्कमाल गर्दै शुभकामना आदान प्रदान गरिन्छ ।
यस अवसरमा काठमाडौं स्थित दरबारमार्गमा नेपाली जामे मस्जिद, काश्मीरी मस्जिद लगायत देशभरका मस्जिद र इदगाहमा मुस्लिम धर्मावलम्बीको आनको दिन भीड लाग्नेगर्दछ बकर ईदको अवशर पारेर आज सरकारले सार्वजनिक बिदा समेत दिएको छ ।
यसैबिच राष्ट्रपति विद्यादेवी भण्डारीले इस्लाम धर्मावलम्बीको महान पर्व बकर–ईद (इदुल जोहा) का अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण इस्लाम धर्मावलम्बी नेपाली दाजुभाई तथा दिदीबहिनीमा सुख, शान्ति, समृद्धि तथा सुस्वास्थ्यका लागि शुभकामना व्यक्त गरेका छन् ।
यता उपराष्ट्रपति नन्दबहादुर पुनले पनि इस्लाम धर्मावलम्बीहरूको दोस्रो ठूलो पर्व बकर इद (इद–उल–जोहा) का अवसरमा सम्पूर्ण मुस्लिम समुदाय प्रति शुभकामना व्यक्त गरे ।
त्यसैगरी प्रधानमन्त्री एवम नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले इस्लाम धर्मावलम्बीहरूको दोस्रो ठूलो पर्व बकर इद (इद–उल–जोहा) का अवसरमा सम्पूर्ण मुस्लिम समुदायप्रति शुभकामना व्यक्त गरेका छन् । प्रधानमन्त्री देउवाले आज एक शुभकामना सन्देश दिँदै मुलुकभित्रको बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक तथा बहुधार्मिक विविधता नै नेपालको विशेष पहिचान हो भन्दै यसले समाजलाई पारस्परिक सम्मान सहित अघि बढ्न अभिप्रेरित गर्ने विश्वास व्यक्त गरे ।
यस्तै उपप्रधानमन्त्री तथा नेपाल लोकतान्त्रिक फोरमका अध्यक्ष विजयकुमार गच्छदारले इस्लाम धर्मावलम्बीहरूको दोस्रो ठूलो पर्व बकर इद (इद–उल–जोहा) का अवसरमा सम्पूर्ण मुस्लिम समुदायप्रति शुभकामना व्यक्त गरे ।
प्रतिक्रिया