काठमाडौं । सहकारी ठगीका आरोपित रवि लामिछानेविरुद्धको मुद्दामा सरकारी वकिलले जवाफी बहस सकाएपछि अहिले आदेश लेखन कार्य सुरु भएको छ । अदालतले साधारण तारेख, धरौटीमा रिहा वा पुर्पक्षका निम्ति थुनामा पठाउनेमध्ये एक आदेश गर्नेछ । न्यायाधीश माधवकुमार अधिकारीको इजलासमा थुनछेक बहस भएको थियो ।
लामिछानेतर्फबाट वरिष्ठ अधिवक्ता तथा पूर्वमहान्यायाधिवक्ता रमन श्रेष्ठ, वरिष्ठ अधिवक्ता एवं पूर्वमहान्यायाधिवक्ता सुशीलकुमार पन्त, सुरज बस्नेत र सुरेन्द्र काफ्लेले बहस गरेका थिए । अधिवक्ता राजेन्द्र सेढाइँले भने बहस नोट मात्र बुझाएका थिए । त्यसपछि सरकारी वकिलले जवाफी बहस गरेका थिए ।
उक्त मुद्दामा सोमबार सरकारी वकिल कार्यालयका तर्फबाट नौजनाले बहस गरेका थिए । सोही दिन जाहेरवालाका तर्फबाट डा. सुरेन्द्र भण्डारी र दिनेश त्रिपाठीले बहस गरेका थिए । इजलासमा लामिछानेले आफूविरुद्धको मुद्दा खारेज गर्न माग गरेका थिए । जवाफी बहस सकिएपछि उनले न्यायाधीशसँग अनुमति मागेर मुद्दामा प्रक्रिया नपुगेको र प्रक्रियामा नै त्रुटि भएको भन्दै खारेज गर्न माग गरेका थिए ।
प्रतिक्रिया