काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति कार्यालयमा रोकिएको भूमि सम्बन्धी अध्यादेश आज आउने बताएका छन् । बालुवाटारमा उद्योगी व्यवसायीको कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले भूमिसम्बन्धी नसुल्झिएका समस्याहरू सुल्झाउन अध्यादेश ल्याइएको बताए ।
उनले अस्तव्यस्त बनाउने नीतिहरूलाई करेक्सन गर्न सरकारले काम गरिरहेको पनि बताए । प्रधानमन्त्री ओलीले सरकार ढल्दै छ भनेर बजार हल्ला चलाइएपनि सत्ता गठबन्धनमा रहेका दलहरू आपसमा बसेर देश बनाउने नीति निर्माणमा प्रभावकारी ढङ्कले कदम चालिरहेको बताए । यसैबीच नेपाल उद्योग वाणिज्य महासङ्घसहित निजी क्षेत्रका सङ्घ–संस्थाले हालै जारी भएका अध्यादेशले मुलुकमा लगानी र व्यवसायको वातावरण अभिवृद्धि हुने जनाउँदै नेपाल सरकारलाई धन्यवाद दिएका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओली, उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल, गृहमन्त्री रमेश लेखकसहित अन्य मन्त्रीको उपस्थितिमा महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकाल, नेपाल उद्योग परिसङ्घका अध्यक्ष राजेशकुमार अग्रवाल, नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष कमलेश अग्रवाल, नेपाल उद्योग तथा व्यवसायी महासङ्घका अध्यक्ष भगीरथ सापकोटाले अध्यादेशमा भएका लगानी र व्यवसायसम्बन्धी विषयहरू स्वागतयोग्य भएको अवगत गराए । उनीहरुले अर्थतन्त्रलाई माथि उकास्न यी अध्यादेश प्रभावकारी हुने भएकाले यसको कार्यान्वयनमा छिटै उपयुक्त नियमावली र कार्यविधि ल्याउन पनि माग गरेका छन् ।
प्रतिक्रिया