काठमाडौँ । झन्डै दुई साताअघि पुस १६ मा नेपाली कांग्रेसका पूर्वमहामन्त्री डा. शशांक कोइरालाले चितवन पुगेर नेपाली कांग्रेसको महाधिवेशन ०८४ सालमा गर्न उपयुक्त हुने आशयको अभिव्यक्ति दिएपछि कांग्रेसको १५औँ महाधिवेशन समयमै (०८२ साल)मै गर्नुपर्ने भन्दै देशव्यापी दौडाहामा लागिरहेका डा. शेखर कोइराला पक्षलाई नातामा आफ्नै भाइ पर्ने शशांकको उक्त अभिव्यक्तिले झस्काएको आभास हुन्छ । पदीय हैसियतले पूर्वमहामन्त्री र आगामी महाधिवेशनमा सभापतिका प्रत्याशीका रूपमा हेरिएका र वर्तमान पार्टी सभापति शेरबहादुर देउवासँग निकट सम्बन्धमा रहेका कारण पनि डा. शशांकको भनाइसँग बेलैमा महाधिवेशन हुनुपर्छ भनेर वकालत गरिरहेको पक्ष झस्किनु स्वाभाविक हो ।
चितवनमा पत्रकारहरूसँग कुराकानी गर्दै उनले भनेका थिए, ‘विसं २०८४ मा आम निर्वाचन हुनेछ । त्यसको दुई वर्षपहिले नै महाधिवेशन हुनुपर्ने हो । होइन भने निर्वाचनपछि गराउँदा उत्तम हुन्छ ।’
आमनिर्वाचनको मुखमा महाधिवेशन गर्न उपयुक्त नहुने तर्क गर्दै नेता कोइरालाले सके तोकिएकै समयमा होइन भने आमनिर्वाचनपछि मात्रै गर्नु उपयुक्त हुने बताएका हुन् । यस भनाइबाट उनी महाधिवेशन गर्न हतारो गर्नु नपर्ने पक्षमा देखिएका छन् । यो बोली शशांकको मात्रै होइन, संस्थापन पक्षको बोली शशांकमार्फत बोलाइएको हो भनेर चर्चा भइरहेको छ ।
आमनिर्वाचनको मुखमा महाधिवेशन गराउँदा पार्टीभित्रको तिक्तता आमनिर्वाचनमा पर्ने २०८४ पछि मात्रै गर्नुपर्ने सुझाब उनले राखेका हुन् । हुन पनि कांग्रेसका यसअघिका आमनिर्वाचनका मुखमा भएका निर्वाचनमा कांग्रेसले अपेक्षित लाभ लिन सकेको छैन । टिकट वितरणदेखि निर्वाचनको मैदानसम्म पुग्दा कांग्रेसभित्रको आन्तरिक कलहका कारण कांग्रेसले धक्का महसुस गर्दै आएको छ ।
‘येनकेन प्रकारेण’ पार्टीभित्रको निर्वाचन जित्ने र आमनिर्वाचनमा आफूभन्दा फरक पक्षलाई पेलेर टिकट वितरण गर्ने खेल कांग्रेस पार्टीमा परम्पराजस्तै बन्दै आएको कुरा कसैबाट छिपेको छैन । त्यसैको परिणामस्वरूप कांग्रेसभित्र अन्तर्घातका ठूला दुर्घटनाहरू घटिरहेका छन् । निर्वाचनमा जित्नेले आफ्नै लोकप्रियताले जितेको भन्ने तर हार्ने नेताले भने अन्तर्घातका कारण हारियो भन्दै अर्को पक्षका नेताको सत्तोसराप गर्ने गर्दै आएका छन् । अझ पार्टीभित्र बलियो पकड हुनेले अर्को पक्षलाई अन्तर्घातको बहानामा कारबाहीको शृंखला नै चलाउँदै आएका छन् ।
यस दृष्टिले डा. शशांकको भनाइ ठीक पनि लाग्न सक्छ । तर, शशांकले यो भनाइ कांग्रेसको एक शुभचिन्तक वा अभिभावकका रूपमा मात्रै भनेका होइनन्, उनी स्वयं १५औँ महाधिवेशनका लागि सभापतिका उमेदवार हुन् । १३औँ महाधिवेशनदेखि नै पार्टी सभापति शेरबहादुर देउवासँग ‘विशेष’ सम्बन्ध बनाएका शशांक देउवाको उत्तराधिकारी बनेर पार्टी हाँक्न पाइन्छ कि भन्ने अभिलाषामा छन् । त्यसैले देउवालाई रिझाएर उनको उत्तराधिकारी बन्न सकिन्छ कि भन्ने झिनो आशाले उनले यस्तो अभिव्यक्ति दिएको आकलन शेखर पक्षले गरेको छ ।
१३औँ महाधिवेशनमा रामचन्द्र पौडेल (वर्तमान राष्ट्रपति)को पक्षबाट कोइराला महामन्त्री लडेका थिए । देउवाको तर्फबाट अर्जुननरसिंह केसी र कृष्ण सिटौलाको पक्षबाट केसीका ज्वाइँ गगन थापा महामन्त्रीमा लडेका थिए । ज्वाइँ–ससुरालाई हराएर त्यतिबेला शशांक महामन्त्री बन्नुमा उनी बीपीपुत्र भएर मात्रै होइन, देउवाको विशेष आशीर्वाद पाएर हो भनेर कांग्रेसवृत्तमा अहिले पनि चर्चा सुनिन्छ । त्यही आशंकाका कारण केसी महाधिवेशन नसकिँदै देउवा क्याम्प छाडेर पुुरानै क्याम्पमा फर्किएका थिए । अहिले उनी देउवाका कटु आलोचकका रूपमा चिनिन्छन् । त्यतिबेलाका महामन्त्रीका अर्का उमेदवार गगन थापा पनि १४औँ महाधिवेशनसम्म आइपुग्दा सिटौला क्याम्प छाडेर कोइराला (शेखर) क्याम्पमा सरिसकेका थिए ।
१५औँ महाधिवेशनमा देउवाले भरपर्दो उत्तराधिकारी नपाइरहेको चर्चाका बीच शशांकको नाम अग्रपंक्तिमा आइरहेको छ । यस सन्दर्भमा शशांकले मंगलबार चितवनमा बोलेको अर्को वाक्य पनि अर्थपूर्ण छ । कोइराला परिवार एक हुनुपर्ने आशयको पत्रकारको प्रश्नमा उनको जवाफ थियो, ‘कोइराला परिवार एक होइन, विचार एक हुनुप¥यो । विचार एक भए हुन्छ ।’ शशांक उक्त भनाइलाई मनन गर्दा कोइराला परिवार १५औँ महाधिवेशनमा पनि एक ठाउँमा नउभिने छनक देखिएको छ । अघिल्लो महाधिवेशनमा प्रकाशमान सिंहको समूहबाट उपसभापति लडेकी सुजाता कोइरालाले भने यसपटक ‘शेखर दा’लाई सघाउने सार्वजनिक रूपमै बताए पनि सुजाता मात्रैको सहयोगले शेखरका निर्वाचन जित्ने बल पुग्दैन । आफ्नै समूहबाट अघिल्लो महाधिवेशनमा महामन्त्री बनेका गगन थापा आफैँ सभापतिमा कस्सिएपछि शेखरका लागि पार्टीभित्रको निर्वाचन सोचेजस्तो सजिलो पक्कै छैन ।
महाधिवेशन आउन अझै लामै समय बाँकी रहेकाले त्यसवेलासम्म देउवाले कसैलाई उत्तराधिकारी तोक्लान् या नतोक्लान् त्यो कि उनैलाई थाहा होला नत्र भविष्यले मात्रै बताउला । तर, देउवा रिझाएर सभापति बन्ने दाउमा शशांकदेखि विमलेन्द्र निधि, प्रकाशमान सिंह र कृष्णप्रसाद सिटौला पनि रहेको चर्चा छ । पार्टीको विधानको व्यवस्थाका कारण देउवा अब तेस्रोपटक सभापति बन्ने सम्भावना कम छ । देउवा स्वयंले पनि आफू उम्मेदवार नबन्ने बताइसकेका छन् । तर, केही वर्षपहिले इतरपक्षले धेरै विरोध गरेपछि देउवाले विधान संशेधन गरेर फेरि आफैँ सभापति बन्ने बताएका थिए । आफ्नै समूहमा विश्वासिलो र भरपर्दो उम्मेदवार नपाएका कारण कतै देउवा त्यो बाटोमा त लाग्दैनन् ? भन्ने पनि कतिपयको आशंका छ । देउवा पक्षधर केही नेता त यो विकल्पका लागि पनि सभापतिलाई उक्साइरहेको चर्चा छ । जे होस् अहिलेसम्म फुटेको घोषणा गरिनसकेको शेखर–गगन समूह भने यथा समयमै अर्थात् २०८२ सालमै अधिवेशन गर्नुपर्नेमा एकमत छ ।
जो जसले जहाँ जे बोले पनि अहिले बल देउवाकै कोर्टमा छ । उनले चाहे भने कार्यकाल एक वर्ष बढाउन सक्ने सम्भावना छ । किनभने पार्टीको लामो राजनीतिक जीवनबाट र एक कार्यकाल प्रधानमन्त्री बनेर मुलुककै राजनीतिबाट विश्राम लिन लागेका देउवा पार्टीभित्र अझै मजबुत छन् । उनकै आशीर्वादका लागि लाम लागेका नेताहरू उनैलाई चिढ्याएर जान सक्ने स्थितिमा छैनन् । तर, शशांकले भनेझैँ ०८४ को निर्वाचनपछि कांग्रेसको महाधिवेशन लम्ब्याउन सम्भव देखिँदैन । निर्वाचन आयोगको व्यवस्थाअनुसार कुनै पनि पार्टीको कार्यकाल बढीमा एक वर्ष लम्ब्याउन सकिए पनि दुई वर्ष पर धकेल्न पाइँदैन । कांग्रेसजस्तो ऐतिहासिक बिरासत बोकेको पार्टी अवैधानिक बाटोमा पक्कै जाने छैन भन्ने विश्वास गर्न सकिन्छ । तर, भिरमा जाने गोरुलाई रामराम मात्र भन्न सकिन्छ, काँधै हालेर ज्यानको जोखिम मोल्न को पो तयार होला र !
प्रतिक्रिया