पुस्तक ज्ञानको भण्डार हो भनिन्छ । ज्ञानभित्रै सूचना र जानकारी छन्, सन्देश छन् । विगतमा लिपिको विकास नहुँदा मौखिक रूपमै ज्ञान प्रवाह हुन्थ्यो । लिपिको विकाससँगै हस्तलिखित सामग्रीहरूमार्फत सूचना, जानकारी र सन्देश प्रवाह हुन थाल्यो ।
आजको सञ्चार र प्रविधिको सुखद् समयमा पुस्तक प्रकाशनको स्तर, गुणस्तर र बजार पनि व्यापक बनेको छ । अझ प्रविधिको विकासले डिजिटल पुस्तकहरूको समेत व्यापकता छ । हातहातमा ट्याब्लेट र मोबाइलले पाठकलाई पढ्नबाट वञ्चित हुन दिएको छैन ।
तर, हामीकहाँ भने प्रविधिको भरपूर उपयोग हुन सकिरहेको देखिँदैन । हामी अझै पुरातन शैलीमै कागजमा छापिएका पुस्तक खोज्छौँ । खैर, यो आ–आफ्नो रुचिको विषय भयो ।
पठन संस्कृतिका नाममा पुस्तक मेला, किताब जात्रा, साहित्य उत्सवहरू चलिरहन्छन् । व्यापारिक नियत र उद्देश्यका यस्ता कार्यक्रमले केही अतिरिक्त आमदानी गर्नेबाहेक खासै उपलब्धि गरेका पाइँदैन । यद्यपि, केही लेखकहरूलाई धुरीमा राख्ने र केहीलाई पातालतिर पठाउने काममा भने यी कार्यक्रम सफल नै हुन्छन् ।
यता नछिरौँ ।
पुस्तक र पाठकबीचको सम्बन्ध जटिल होइन, सहज र सरल हुनुपर्छ । यसको मतलब, पुस्तक पाठकका लागि हो । पाठकसम्म पुस्तक पुग्नु पहिलो सर्त हो । तर, यसमा केही जटिलता छन् । ती जटिलताको केन्द्रमा लेखक, पाठक र प्रकाशक तीनै पक्ष जोडिन्छन् ।
अहिलेका लेखक चर्चा र बजारमुखी छन् । उनीहरूलाई आफ्ना पुस्तक तत्काल चर्चित भएर रातारात लखपति, सके करोडपति बनिहाल्नु छ । सेलिब्रेटी बनिहाल्नु छ । यही समस्या प्रकाशकमा पनि छ । प्रकाशकलाई बजारमा भव्य र मारामार बिक्री हुने किताब छापेर राम्रै दाम कमाउनु छ ।
यसले गर्दा पुस्तकको गुदी वा गुणस्तर स्वाभाविक रूपमै खस्किन्छ । पुस्तक ज्ञानको भण्डार नभएर कागज र मसीको थुप्रोमा परिणत हुन्छ ।
पुस्तकको महत्ता, गुण, शक्तिसँग हामी अझै परिचित हुन सकेका छैनौँ । पढिदिन वा पढन्ते देखिन पुस्तक किन्ने र सामाजिक सञ्जालमा फोटो टाँस्ने हाम्रो परम्परा बनिसकेको छ । तर, पढिएका पुस्तकको स्तर, त्यसबाट प्राप्त ज्ञानबारे खासै चासो हुँदैन । बजारले राम्रो र गतिलो भनिदिएपछि त्यसकै पछि दौडिने हाम्रो प्रवृत्ति बनेको छ । यसो गर्नाले पुस्तक नामका चिज त पढिएलान् तर ज्ञान भन्ने तत्व कति प्राप्त हुन सक्ला ? सोचनीय विषय हो ।
प्रतिक्रिया