देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

साधना र ईश्वरीय उपहारको सम्मिश्रण सिडी विजय




काठमाडौं । नेपाली गीतसंगीतको क्षेत्रमा निकै नै ख्याति कमाएको नाम हो, सिडी विजय अधिकारी । हालसम्म करिव सात सयको संख्यामा गीत गाइसकेका उनको जन्म ३३ वर्ष अगाडि कास्की जिल्लाको माछापुच्छ«े गाउँपालिका वडा नं ४ (साविकको लाहचोक, ५) मा बुवा चन्द्रकान्त र आमा दुर्गादेवीका जेष्ठ सन्तानका रूपमा भएको थियो । उनी सानैदेखी गीतसंगीतमा रुचि राख्थे । माछापुच्छ«े हिमालको काखैमा जन्मिएका उनी खोलानाला, भिरपाखा, लहरा, पहरा र छहरासँगै खेल्दै हुर्किए । जंगलमा बाख्रा चराउने, खेतमा आली लगाउने, ठूला–ठूला रुखमा चढेर घाँस काट्नेदेखि लिएर कम्प्युटर र पियानोका बटमसँग खेल्नेसम्मको अनुभव उनीसँग छ ।

कक्षा ६ सम्मको अध्ययन गाउँकै ज्ञानज्योति इंग्लिस बोर्डिङ स्कुलमा गरेका अधिकारी पढाइमा पनि अब्बल थिए । उनी भन्छन्, ‘‘मैले कक्षा ६ मा पढ्दा नै गाउँकै विद्यालयमा भएको कार्यक्रममा रामकृष्ण ढकालको स्वरमा रहेको ‘मलाई यो जिन्दगीले कहाँ पु¥यायो’ गीत गाउँदा गाउँका आमाबुवाहरू रुनुभएको थियो ।’’ त्यतिबैलै गाउँलेहरूले उनलाई ‘यो बाबु ठूलो गायक बन्छ’ भनेर एक–आपसमा कुरा गर्थे । तीन कक्षामै पढ्दा उनी स्कुलकै कार्यक्रममा दोस्रो भएर पुरस्कृत पनि भएका थिए । जुन उनको जीवनको पहिलो प्रतियोगितात्मक अनुभव थियो । ‘हरियो बेलपत्र लाइदेऊ माया फुकाइदेऊ पिरती परियो अलपत्र’ बोलको गीत गाएका अधिकारीका लागि गीतका टुक्काहरू आमा दुर्गादेवीले जोडिदिएको, तर अहिले ती टुक्का भने स्मरणमा आउन नसकेको उनले बताए ।

आजका दिनमा सिडी विजय नेपालका बहुचर्चित गायकका रूपमा चिनिन्छन् । लो स्केलदेखि हाई स्केलसम्म र लोकशैलीका भाकादेखि सुगम संगीतका भाकासम्मका गीतमा उनको स्वर प्रशस्त सुन्न सकिन्छ । जस्तोसुकै संगीतमा पूर्ण रूपमा न्याय दिएर गाउन सक्ने हुनाले उनलाई ‘भर्सटायल’ गायक पनि भनिन्छ । तर पनि उनले गाउने मुख्य विधा भनेको सुगम संगीत नै हो । संघर्षका दिनका अनुभव सुनाउँदै उनी भन्छन्, “संघर्षका दिनमा कतिपय स्टुडियोहरूमा अन्य अग्रज गायकहरूका लागि तोकिएको ट्रयाकमा डमी भोकल राख्न मलाई बोलाइन्थ्यो, तर डमी गाइसकेपछि कतिपय गीतमा मेरो स्वर नै रोजाइमा पथ्र्यो । त्यतिबेला साँच्चै भन्दा मलाई करोडको करोडको चिठ्ठा परेजस्तो हुन्थ्यो ।”

पढाइमा र अतिरिक्त क्रियाकलापमा अब्बल भएकै कारण उनलाई पोखराको प्रतिष्ठित मदरल्याण्ड आवासीय विद्यालयले कक्षा ७ देखि कक्षा १२ सम्म निःशुुल्क पढ्ने व्यवस्था मिलाइदिएको थियो । गाउँमा समेत गीत गाएर सबैको मन जितेका अधिकारी एकपटक गाउँदागाउँदै स्कुल नै जान बिर्संदा आमाले पछाडि आएर गीत मात्रै गाएर हुन्छ, स्कुल जान पर्दैन ? भन्दै ढाडमा हिर्काएको स्मरण गर्छन् । उनी भन्छन्, “आमाको थप्पड खाँदा, बुवाको थर्कावट सहँदा र हिलोमा लड्दा लाज मान्न पर्दैन रे !”
मदरल्याण्ड स्कुलमा आइसकेपछि वल्र्ड भिजन इन्टरनेसनल, नेपालको आयोजनामा विद्यालयस्तरीय बालगीत प्रतियोगिताका लागि भाग लिने अवसर सिडी विजयलाई मिल्यो । प्रतियोगिताकै लागि शिक्षिका केशू शर्माले लेखेको ‘उस्तै आँखा उस्तै भाका’ बोलको गीतमा आफैँ भाका बनाएर गाउने जिम्मेवारी उनलाई दिइयो । यो जिम्मेवारी उनका लागि एउटा सुनौलो अवसर र चुनौती दुवै थियो । उक्त प्रतियोगितामा उनी दोस्रो भए । पछि सोही संगीत यथावत् राखी पद्मराज ढकालको संयोजनमा वल्र्ड भिजनले तयार पारेको एल्बम ‘आभास’मा सो गीत पनि समावेश गरियो । सिडी विजयले त्यो एल्बममा रहेका गीतमा एकल र सामूहिक गरी ६ वटामा स्वर दिने अवसर पनि पाए ।


कक्षा नौमा पढ्दै गर्दा पनि मदरल्याण्डले ‘मात्रृभूमिका फूलहरू’ नामक गीति एल्बम बजारमा ल्यायो । सो एल्बमका ६ वटै गीतमा सिडी विजयले सामूहिक र एकल स्वर दिने अवसर पाए । मात्रृभूमिका फूल एल्बमबाटै २०६१ मा सिडीले ढुकढुकी अवार्डमा वर्षको सर्वोत्कृष्ट बाल प्रतिभा अवार्ड हात पारेका थिए । एसएलसीपश्चात् त्रिवेणी संगीतालयबाट गुरु नवराज बरालसँग दुई वर्षजति संगीतको अध्ययन गरेका सिडी विजयले गण्डकी तारा २०६५ मा तृतीय स्थान प्राप्त गरे । त्यसपछि गण्डकीको सेरेफेरोमा उनलाई गायकका रूपमा चिन्न थालियो । त्यतिबेलैको समयमा हुनुपर्छ सिडी विजयले आफ्नै शब्द संगीत र स्वरमा ‘हाँसु भन्दा’ पनि बोलको गीत रेकर्ड गराए र सोही गीतबाट सन् २०१० मा अन्नपूर्ण म्युजिक अवार्डबाट ‘द मस्ट प्रोमिसिङ पोखरेली आर्टिस्ट अफ द इयर’को उपाधि पनि जिते । स्नातक तह अध्ययनका पृथ्वीनारायण क्याम्पसमा भर्ना भएपछि उनको गायनको दायरा झनै फराकिलो भयो । विसं २०६६ सालमा क्याम्पसको स्वर्ण जयन्तीका अवसरमा आयोजित पिएनसी आइडलमा उनले आइडलको प्रथम उपाधि जिते भने त्यसैवर्ष बिग आइकल रियालिटी सोका उपविजेता बने । १२ वर्ष अगाडि नेपाल टेलिभिजनले आयोजना गरेको राष्ट्रव्यापी गायन प्रतियोगिता ‘खोजी प्रतिभाको सिजन २ मा पनि उनी उपविजेता बने । विसं २०७४ चैत्र २० गते रेडियो नेपालले आयोजना गरेको ‘राष्ट्रव्यापी खुल्ला आधुनिक संगीत प्रतियोगीता’मा उनी प्रथम भएका थिए । उनी प्रथम भ्वाइस अफ नेपालका विजेता समेत हुन् । हालसम्म नेपालमा जति पनि रियलिटी सो जितेका विजेता छन्, तिनीहरूमध्ये तुलनात्मक रूपमा सिडी विजय नै धेरै व्यस्त देखिन्छन् । उनले ‘साधना म्युजिक अवार्ड’, ‘वल्र्ड नेपाली म्युजिक अवार्ड’, ‘न्युवर्क, सिल्भर इन्टरनेसनल म्युजिक अवार्ड’लगायत दर्जनभन्दा बढी राष्ट्रिय स्तरका अवार्ड हात पारेका छन् ।


आफ्नो खर्च आफैँले जुटाउनुपर्छ भन्ने सोच बनाएर तीन वर्षजति दोहोरी रेष्टुरेन्टमा समेत गायककै रूपमा काम गरेका सिडी विजय गायककै रूपमा जागिर गर्न दुबई पनि पुगे । घर छोडेर परदेश पुगेका विजयले सहकर्मी मनीषा राईसँग परदेशमै घरजम गरे । दुई वर्षको दुबईको बसाइपश्चात् अब गीतसंगीतमै केही गर्नुपर्छ भनेर उनी पुनः परदेशबाट घरदेश फर्किए र उनले ‘प्रीति’ नामक एल्बम बजारमा ल्याए जुन एल्बममा ‘कसैलाई हसाउने कसैलाई रुवाउने’, ‘नसोच भो मलाई’लगायतका गीतहरू समावेश छन् । त्यसपछि राकेश काफ्लेको एकल शब्दमा ‘तुलसी मञ्जरी,’ कुमार पौडेलको एकल शब्दमा ‘मायाको फूल’ एल्बमसँगै दर्जनौँ फुटकर गीतहरूमा स्वर र संगीत दिएपछि उनले पछाडि फर्केर हेर्नु परेन । ‘समीश्रण’, ‘प्रयास’, ‘प्रतीक्षा’, ‘स्वर्ग’लगायत एल्बममा उनले एकल संगीत भरेका छन् । ‘छाडी हिँड्यौ मोडी पाइला’, ‘नसा पिउने बानी भयो’, ‘मेरो लासको मलामी’, ‘आऊ न सानू मीठा मीठा प्रितको बात गरम’, ‘आफ्नै गाईले आफैँलाई’, ‘दिन्न म दोष’, ‘मन माग्यौ मन दिएँ’लगायत गीतहरू सिडी विजयका ७० को दशकका सुरुआतका चर्चित गीत हुन् ।

हालसम्म सिडी विजयले राजकुमार बगर, लोकराज अधिकारी, प्रकाश सुवेदी, राकेश काफ्ले, दीपेन्द्र अधिकारी, प्रकाश घिमिरे, सुमन कार्की, डीआर अटु, अरुण काफ्ले, कल्पना प्रसाईं पाठक, पुनम मोथे, सृजू शाही, पद्मा लिंखा मगर, दयाराम पाण्डे, भरत सुवेदी, प्रकट पगेनी शिव, सीता शेरचन, कोपिला घिमिरे, मणि भट्टराई, हरिहर खनियाँ, अनुराग अधिकारी, प्रेमसागर पौडेल, नारद रिजाल, केदार उप्रेती, रवि खनाल, प्रमोद भण्डारी, अञ्जान रेग्मी, नीता आचार्य, नवराज बराल, होम बहादुर घले, नवराज भुमरी आचार्य, डीआर उपाध्याय, खगेन्द्रराज खरेल, बालिका गिरी, प्रेम कटवाल, हरि उप्रेतीलगायत ५० भन्दा बढी गीतकार र सुरेश अधिकारी, महेश खड्का, वसन्त सापकोटा, सन्तोष श्रेष्ठ, राजेश थापा, श्रीकृष्ण बम मल्ल, नवराज बराल, राजु कार्की, शंकर थापा स्माइल, राजकुमार बगर, सागर सरद अधिकारी, डीआर अटु, स्व. श्रीमान थुलुङ, अनुज कुलुङ लगायत २० भन्दा बढी संगीतकारसँग सहकार्य गरेका छन् ।


उनले गाएका गीतमध्ये ‘दूरी मजवुरी’ सर्वाधिक चर्चित गीत हो । पछिल्लो समय गीतकार दीपेन्द्र अधिकारीको शब्दमा उनको आफ्नै संगीत र स्वर रहेको ‘जीवनको रेल’ गीत पनि निकै चर्चामा छ भने यही शुक्रबार सार्वजनिक भएको प्रसिद्ध गीतकार लोकराज अधिकारीले लेखेको ‘जिन्दगानी के छ र’ बोलको जन्म र मृत्युको शाश्वत सत्य बोल्ने गीतलाई दर्शक र श्रोताले रुचाएका छन् । गीतले छोटो समयमा चर्चा बटुल्न सफल भएको छ । उनले ‘पनौती सुन्दर पनौती’, ‘संस्कृतिले भरिपूर्ण सम्पदाकी खानी’ र ‘हाम्रो प्यारो रूपा’ बोलका नगर र गाउँपालिकाका परिचयात्मक गीत पनि गाएका छन् ।

गायन यात्रालाई सफल बनाउन बुवाआमा, भाइहरू र श्रीमतीको ठूलो हात रहेको उनी बताउँछन् । हुन त उनका भाइहरू पनि अक्कलझुक्कल गीत गाउँछन् । तर श्रीमती मनीषा राई भने स्थापित गायिका नै हुन् । उनले पनि हालसम्म एक सयभन्दा बढी गीतमा मुख्य गायिकाकै रूपमा र पाँच सयभन्दा बढी गीतमा सामूहिक स्वर दिएकी छन् । दुईजनाले गीत गाएरै कमाएको कमाईबाटै काठमाडौंको मध्येभाग अनामनगरमा सिडी र मनीषाले घर जोडेका छन् । सिडी विजयकी छोरी पनि बालगायिका हुन् । नौ वर्षकै उमेरमा उनले पनि एक दर्जनको संख्यामा गीत गाइसकेकी छन् । पछिल्लो समय सिडी विजय निकै व्यस्त छन् । हरेक दिनजसो नै उनको एउटा न एउटा गीत रेकर्डिङ भइरहेको हुन्छ । यस्तै देश भित्र र बाहिरका कार्यक्रम भ्याएकै हुन्छन् भने अहिले ‘कमेडी दरबार’मा समेत जोडिएका सिडीले हरेक साता सुटिङमा पनि समय दिइरहेका छन् । प्रस्तुतिका लागि उनी दक्षिण एसियाका अधिकांश देशसहित, बेलायत, अस्ट्रेलिया, कोरिया, इजरायललगायत विभिन्न देशमा पुगेका छन् ।