काठमाडौँ । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रदेश र संघको निर्वाचन मंसिरमै सम्पन्न हुने बताएका छन् । नेपाल प्रेस युनियन कञ्चनपुरले शुक्रबार महेन्द्रनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा प्रधानमन्त्री देउवाले मुलुक संविधान कार्यान्वयनतर्फ उन्मुख भइसकेको बताए ।
उनले स्थानीय तह अन्तर्गत दुई चरणको निर्वाचन सम्पन्न भईसकेको र तेस्रो चरणमा पनि सम्पन्न हुने तयारी भइरहेको उल्लेख गर्दै संविधान कार्यान्वयन गर्न मंसिरमै प्रदेश र संघको निर्वाचन हुने बताए ।
प्रधानमन्त्री देउवाले आफ्नो भारत भ्रमण सफल र उपलब्धिमुलुक भएकोसमेत दाबी गरे । भारत भ्रमणमा आफूले कञ्चनपुरको महाकाली नगरपालिकामा सुख्खा बन्दरगाह निर्माण, ७ नम्बर प्रदेशमा प्राविधिक शिक्षालय विस्तार, दार्चुला र डडेल्धुरा जिल्लामा महाकाली नदीमा भारतका तर्फबाट पक्की पुल निर्माण र कैलाली जोड्ने भारतको गौरीफन्टा नाका खोल्ने विषयमा सम्झौता भएकोसमेत उनले बताए ।
पञ्चेश्वर परियोजनाको एक महिनाभित्र डिपिआर तयार गरेर योजना अघि बढाउनुका साथै मेची पुलसमेत भारतले बनाउने सम्झौता भएको प्रधानमन्त्री देउवाको भनाइ थियो । आफ्नो भारत भ्रमण पूर्ण रुपमा नेपालको हितमा भएको बताउँदै उनले ७ नम्बर प्रदेशमा पुल, पञ्चेश्वर परियोजनासँगै यहाँको विकासका कायापलट हुने बताए ।
बिहीबार महाकाली नदीमा बन्ने पक्की चार लेनको पुल शिलान्यास गर्न आएका प्रधानमन्त्री देउवा शुक्रबार बिहान राजधानी फर्केका छन् ।
प्रतिक्रिया