देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

वीरगञ्ज नाकाबाट चारपांग्रे सवारीको आयात घट्यो

देशान्तर

वीरगञ्ज । वीरगञ्ज भन्सार नाका हुँदै चालू आर्थिक वर्षको पाँच महिनामा चारपांग्रे सवारीसाधनको आयात घटेको छ । वीरगञ्ज भन्सार कार्यालयका अनुसार चालू आवको पाँच महिनामा ९२ करोड तीन लाख ३६ हजार मूल्य पर्ने चार सय ८२ जीप, कार र भ्यान आयात भएका छन् ।

गत आवको पाँच महिनाका तुलनामा चालू आवको सोही अवधिमा संख्याको आधारमा ३८ दशमलव १३ प्रतिशत र राजस्वको आधारमा १६ दशमलव ४३ प्रतिशतले सवारीसाधनको आयात घटेको हो । जबकि गत आवको सोही अवधिमा भने रु एक अर्ब २० करोड १४ लाख दुई हजार मूल्य पर्ने सात सय ७९ वटा जीप, कार र भ्यानको आयात भएको थियो । ती सवारीसाधन आयात हुँदा कार्यालयले रु दुई अर्ब ८० करोड ९१ लाख राजस्व संकलन गरेको थियो ।

इन्धनबाट चल्ने जीप, कार र भ्यानको मात्रै नभएर वीरगञ्ज नाका हुँदै भित्रिने चारपांग्रे विद्युतीय सवारीसाधनको पनि आयात घटेको भन्सारको तथ्यांकले देखाएको छ । चालू आवको पाँच महिनामा यो नाका हुँदै रु १४ करोड ७८ लाख छ हजार मूल्य पर्ने ९७ विद्युतीय जीप, कार र भ्यानको आयात भएको छ ।

गत आवको पाँच महिनाको तुलनामा चालू आवको सोही अवधिमा विद्युतीय सवारीसाधनको संख्याका आधारमा आयात ५९ दशमलव ०७ प्रतिशत र राजस्व संकलनका आधारमा भने ५८ दशमलव ६३ प्रतिशतले गिरावट आएको छ ।

गत आवको सोही अवधिमा भने ४६ करोड ५८ लाख ५३ हजार मूल्य पर्ने दुई सय ३७ वटा विद्युतीय जीप, कार र भ्यानको आयात भएको थियो । ती सवारीसाधन आयात हुँदा कार्यालयले २० करोड ३५ लाख ५८ हजार राजस्व संकलन गरेको थियो ।