देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

नबिल बैंकद्वारा जाजरकोट र रुकुम पश्चिमका भूकम्प प्रभावितलाई अस्थायी आवास हस्तान्तरण

देशान्तर

काठमाडौं । नबिल बैंकले जाजरकोट र रुकुम पश्चिमका भूकम्पपीडितलाई ९६ वटा अस्थायी आवास हस्तान्तरण गरेको छ । बैंकका अध्यक्ष उपेन्द्रप्रसाद पौडेलले नलगाड नगरपालिकाका प्रमुख डम्बरबहादुर रावत र चौरजहारी नगरपालिकाका प्रमुख पुष्प वादीलाई आइतबार आयोजित एक कार्यक्रमबीच अस्थायी आवास निर्माण सम्पन्न भएको जानकारी दिँदै त्यससम्बन्धी कागजपत्र हस्तान्तरण गरे । बैंकले स्थानीय सरकारसँगको साझेदारीमा जाजरकोटको नलगाड नगरपालिका १ मा ४७ र रुकुम पश्चिमको चौरजहारी नगरपालिका १ मा ४९ अस्थायी आवास निर्माण गरेको थियो ।

बैंकले जारी गरेको प्रेस विज्ञप्तिअनुसार आवास हस्तान्तरण कार्यक्रममा अध्यक्ष पौडेलले बैंक समाजमा सकारात्मक प्रभाव पार्न सधैं प्रतिबद्ध रहेको बताउँदै प्राकृतिक प्रकोपबाट प्रभावितलाई सहयोग पुर्‍याउने उद्देश्यले सामाजिक उत्तरदायित्वअन्तर्गत बैंकले अस्थायी आवास निर्माण परियोजना कार्यान्वयन गरेको जानकारी दिए । नलगाड नगरपालिकाका प्रमुख रावत र चौरजहारी नगरपालिकाका प्रमुख वादीले भूकम्प प्रभावितलाई ओत लाग्ने ठाउँ उपलब्ध गराएकामा बैंकप्रति आभार व्यक्त गरे । आवास हस्तान्तरण कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुङ्गाना, बैंकका सञ्चालक निर्वाण चौधरीलगायत बैंकका उच्च पदाधिकारीहरुको उपस्थिति थियो ।

अघिल्लो वर्षको कात्तिक १७ गते जाजरकोटको बारेकोट गाउँपालिका–१, रामीडाँडा केन्द्रविन्दु भएर गएको ६.४ रेक्टर स्केलको भूकम्पबाट जाजरकोट र रुकुम पश्चिममा ठूलो जनधनको क्षति भएको थियो । हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै नबिल बैङ्कका अध्यक्ष पौडेलले बैङ्क समाजमा सकारात्मक प्रभाव पार्न सधैँ प्रतिबद्ध रहेको बताए। उनले प्राकृतिक प्रकोपबाट प्रभावितहरूलाई सहयोग पुर्‍याउने उद्देश्यले नबिल बैङ्कले सामाजिक उत्तरदायित्व अन्तर्गत यो परियोजना अघि बढाएको बताए।

नबिलले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत अस्थायी आवास निर्माण गरेको हो। बैङ्कले स्थानीय सरकारसँगको साझेदारीमा जाजरकोटको नलगाड नगरपालिकाको वडा १ मा ४७ र रुकुम पश्चिमको चौरजहारी नगरपालिकाको वडा १ मा ४९ अस्थायी आवास निर्माण गरेको थियो। बैङ्कले अस्थायी आवास बनाउन आवश्यक जस्तापाता, बाँस, सिमेन्ट, रंगरोगन, किल्लाकाँटीजस्ता निर्माण सामग्री उपलब्ध गराएको थियो।

कार्यक्रममा नलगाड नगरपालिकाका मेयर डम्बरबहादुर रावत र चौरजहारी नगरपालिकाका मेयर पुष्प वादीले भूकम्प प्रभावितलाई सुरक्षित ओत लाग्ने ठाउँ उपलब्ध गराएकोमा नबिल बैङ्कलाई धन्यवाद दिएका छन्। उनीहरूले निजी क्षेत्रले राज्यको दायित्वमा साथ दिएर सामाजिक उत्तरदायित्व पूरा गरेको कार्य प्रशंसनीय रहेको बताए।

नबिल बैङ्कले प्रभावित क्षेत्रको जनताको सहयोगका लागि एक करोड रुपैयाँको बराबरको सहयोगको घोषणा गरेको थियो। सोही अनुरूप तत्काल राहत सामाग्री वितरण साथै पराकम्पको त्रास, चिसो मौसमको कष्ट तथा घर सम्पत्ति र परिवारका सदस्य गुमाउनु पर्दाको पीडासँगै त्रिपालमा बस्न बाध्य भएका भूकम्प प्रभावितहरूका लागि नबिल बैङ्कले राहत प्रदान गर्न अस्थायी आवास निर्माण गरिदिने प्रतिबद्धता जनाएको थियो। नबिल बैङ्कले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न समयमा विपद् प्रभावितहरूलाई राहत उपलब्ध गराउँदै आएको छ। बैङ्कले भविष्यमा पनि समाजमा सकारात्मक परिवर्तन ल्याउने कार्यक्रमहरू सञ्चालन गर्दै जाने प्रतिबद्धता जनाएको छ।