देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

महासंघमा गठबन्धनको शानदार जित

देशान्तर


काठमाडौं । केन्द्रको हस्तक्षेपका कारण सदस्यता विवाद देखाएर निर्धारित मितिमा अधिवेशन गराउन नसकेपछि अध्यक्ष र त्यसपछि तोकिएका कार्यवाहक अध्यक्षले पनि राजिनामा दिएपछि उपाध्यक्ष बाला अधिकारीले कार्यवाहक अध्यक्षता सम्हाल्दै सम्पन्न गराएको नेपाल पत्रकार पत्रकार महासंघको २७औँ अधिवेशनबाट नेपाल प्रेस युनियनका बहुमत पदाधिकारी निर्वाचित भएका छन् । त्यति मात्र होइन, नेपाल प्रेस युनियन र प्रेस चौतारीबीच भएको गठबन्धनबाट युनियनको सहयोगमा झन्डै सात दशक लामो इतिहासमा महासंघले पहिलो पटक महिला नेतृत्व पनि पाएको छ ।

मंसिर २८ गते भएको महासंघको २७औँ अधिवेशनबाट निर्मला शर्मा अध्यक्षमा निर्वाचित भएकी छिन् । यसपालि पनि नेपाली कांग्रेस निकट नेपाल प्रेस युनियन र नेकपा (एमाले) निकट प्रेस चौतारीबीच गठबन्धन भएको थियो । प्रेस यूनियन पत्रकारहरूको संख्याको हिसाबले ठूलो संगठन भए पनि पटकपटक विवादका कारण स्थगित हुँदै आएको महाधिवेशन गराउन र महासंघलाई गतिशिलता दिनका लागि युनियनले वरिष्ठ उपाध्यक्षसहित ६० प्रतिशत पदाधिकारी तथा सदस्य लिएर प्रेस चौतारीसँग समीकरण गरेको थियो । प्रेस चौतारीकी शर्मा अध्यक्ष उम्मेदवार भई युनियनको सहयोगमा निर्वाचित भएकी हुन् । यो गठबन्धनले १३ सदस्यीय पदाधिकारीमा कोषाध्यक्षबाहेक अरू पदमा सानदार जित हासिल गरेको छ । कोषाध्यक्ष भने नेकपा (माओवादी केन्द्र) निकट प्रेस सेन्टरका रामकृष्ण अधिकारी विजयी भए ।

प्रेस सेन्टरले पनि स्वतन्त्रसहित विभिन्न ६ संगठनसँग गठबन्धन गरी उम्मेदवार खडा गरेको थियो । अधिकांश जिल्लामा प्रेस युनियन र प्रेस चौतारीको संयुक्त प्यानलबाट उम्मेदवार बनेकाहरू बिजयी भएका छन् । शर्माले चार हजार दुई सय ८२ मत प्राप्त गरी निर्वाचित भएकी हुन ्। उनका निकटतम प्रतिद्वन्द्वी रमेश विष्टले तीन हजार दुई सय तीन मत प्राप्त गरे ।
वरिष्ठ उपाध्यक्षमा दीपक आचार्यले चार हजार दुई सय ३० मत प्राप्त गरी निर्वाचित भएका छन् । उनका निकटतम प्रतिस्पर्धी रोशन पुरीले दुई हजार आठ सय ८६ मत प्राप्त गरेका थिए । उपाध्यक्ष महिलामा नितु पण्डितले चार हजार सात सय पाँच मत प्राप्त गरी विजयी भइन् । उनका निकटतम प्रतिस्पर्धी गंगा पौडेल बरालले दुई हजार छ सय ४४ मत पाएकी थिइन् । समावेशी उपाध्यक्षमा उमिद बागचन्दले चार हजार दुई सय ९२ मत प्राप्त गरी विजयी भए । उनका निकतम प्रतिद्वन्द्वी सुभाषप्रसाद साहले दुई हजार ८० मत प्राप्त गरेका थिए ।
महासचिवमा रामप्रसाद दाहालले चार हजार ८४ मत प्राप्त गरी विजयी भए । उनका निकतम प्रतिद्वन्द्वी लेखनाथ न्यौपानेले एक हजार नौ सय २९ मत प्राप्त गरे । सचिव खुलामा रमेश खतिवडाले तीन हजार चार सय मत प्राप्त गरी विजयी भए भने सचिव महिलामा सोनी शर्माले चार हजार तीन सय ४७ मत प्राप्त गरी विजयी भइन् ।
त्यस्तै, सचिव आदिवासी जनजातिमा सविन प्रियासनले तीन हजार पाँच सय ३५, सचिव मधेशीमा अशोककुमार तिवारीले तीन हजार आठ सय ५८ र सचिव दलिततर्फ प्रकाश धौलाकोटीले चार हजार एक सय १०, सचिव एशोसिएटतर्फ बैकुण्ठराज पराजुलीले तीन हजार छ सय ४५ मत प्राप्त गरी विजयी भएका थिए ।