देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

काँग्रेसमा १५ औं महाधिवेशनको जोडघटाऊ शुरु

देशान्तर


काठमाडौं । महाधिवेशन सम्पन्न गर्न आवश्यक क्रियाशील सदस्यता वितरणमा सुस्तता रहिरहेको नेपाली राजनीतिको सबैभन्दा पुरानो र ठूलो लोकतान्त्रिक दल नेपाली काँग्रेसमा एक बर्षपछि हुने १५ औं महाधिवेशनमा नेतृत्वका लागि भने जोडघटाऊ र दौडधूप शुरु भईसकेको छ । वर्तमान विधानमा रहेको प्रावधान अनुसार महाधिवेशन हुने वर्षमा सदस्यता वितरण नगर्ने भनिए पनि हालसम्म ७७ वटै जिल्लामा क्रियाशील सदस्यता नवीकरण र नयाँ वितरणमा ढिलासुस्ती भईरहेको पार्टीको केन्द्रीय कार्यालयसूत्रले देशान्तरलाई जानकारी दिएको छ । त्यसैले अस्ति सम्पन्न महामन्त्री गगन थापा संयोजक रहेको सदस्यता टुङ्गो लगाउने समितिले ‘तोकिएको समयमा सदस्यता नवीकरण र वितरण नसक्ने जिल्ला समितिहरुमाथि हस्तक्षेप गरेर भए पनि टुङ्ग्याउने निर्णय भएको एक सदस्यले देशान्तरलाई जानकारी दिए । केन्द्रबाट यसरी तदारुकता देखाउँदा पनि जिल्ला, क्षेत्र, नगर÷गाउँ र वडा समितिहरुले उदासिनता देखाएकाले १५ औं महाधिवेशन विधानले तोकिएकै मितिमा हुनेमा आशंका बढेको नेतृत्वका आकांक्षीहरुले बताएका छन् ।

देउवाको किल्ला नै छाने शेखरले
नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीको १५औँ महाधिवेशनमा सभापति पदमा उम्मेदवारी दिने घोषणा गर्दै महाधिवेशनको तयारी औपचारिक रूपमा थालेका छन् । उनले आफ्नो अभियानको पहिलो सन्देश सुदूरपश्चिम प्रदेशबाट दिन खोजेका छन् । शुक्रबार तीन दिने कार्यतालिका बनाएर कोइराला सुदूरपश्चिम प्रदेशको धनगढी पुगे, जहाँ उनलाई १५ किलोको मालाले स्वागत गरियो । कोइरालासँगै सुदूरपश्चिम पुगेका नेताहरूका अनुसार यो भ्रमण दुई प्रमुख सन्देश दिन लक्षित थियो— महाधिवेशन केन्द्रित अभियान र राजनीतिक सन्देश ।
डा. कोइराला र उनको समूहले सभापति शेरबहादुर देउवाबाट अपेक्षित ‘स्पेस’ नपाएको गुनासो गर्दै आएका छन् । सत्ता साझेदारी, सरकार गठन, र भागबन्डामा समेत आफूहरूलाई उपेक्षा गरिएको उनीहरूको भनाइ छ । सभापति देउवाले महामन्त्री गगन थापालाई प्राथमिकता दिएको र कोइरालाको गृहप्रदेश कोशीमा सरकार गठनको क्रममा पनि उपेक्षा गरिएको उनीहरूको गुनासो छ ।
कोइरालाले धनगढीमा आयोजित विभिन्न कार्यक्रममा सहभागी हुँदै पार्टीका कार्यकर्ताहरूसँग छलफल गरे । सुदूरका नौ वटै जिल्लाका नेता, कार्यकर्तासँग भेटघाट गर्दै उनले महाधिवेशनको तयारीका सन्देश प्रवाह गरे । उनका अनुसार महाधिवेशन आउन एक वर्ष मात्र बाँकी रहेकोले यस समयावधिमा कार्यकर्ताको विश्वास जित्नु आवश्यक छ ।
कोइरालाले सभापति देउवासँग कुनै विवाद नभएको र पार्टीभित्र एकताबद्ध रूपमा अघि बढ्ने प्रतिबद्धता जनाए । महामन्त्री गगन थापासँग पनि कुनै असमझदारी नरहेको र आगामी महाधिवेशनसम्म सहकार्य जारी रहने सन्देश दिए ।
कोइरालाले वर्तमान कांग्रेस–एमाले गठबन्धन सरकारलाई असफल हुने छुट नभएको भन्दै राम्रा काम गरेर जनताको अपेक्षा पूरा गर्नुपर्ने बताए । सरकारप्रति खबरदारी गर्नुपर्ने भूमिका कांग्रेसको रहेको उनले स्पष्ट पारे ।