देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

रविविरुद्ध आज मुद्दा दर्ता

देशान्तर


काठमाडौं । सहकारी ठगी, संगठित अपराध, सम्पत्ति शुद्धीकरणका मुद्दामा रवि लामिछानेविरुद्ध पर्याप्त प्रमाण भेटिएको भन्दै प्रहरीले दाबी गरिरहेका बेला राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) रक्षात्मक अवस्थामा पुगेको छ । लामिछाने २ कात्तिकमा संसदीय छानबिन विशेष समितिको सिफारिसपछि पक्राउ परेका थिए । गोरखा मिडियामा गैरकानुनी रूपमा विभिन्न सहकारीबाट आएको करोडौं रूपैयाँ अपचलन र सूर्यदर्शन सहकारीको ठगी प्रकरणमा उनीमाथि अनुसन्धान भएको थियो । सुरुवातमा कास्कीमा मात्र चलेको अनुसन्धान क्रमशः रुपन्देही, काठमाडौं, पर्सा, र चितवनसम्म फैलिएको छ । विभिन्न जिल्लाबाट परेका जाहेरीहरूका आधारमा प्रहरीले लामिछानेमाथि व्यापक अनुसन्धान जारी राखेको छ ।
सन् २०१६ यता लामिछाने र उनकी श्रीमती निकिताको नाममा १७ वटा बैंकमार्फत २९ करोड रूपैयाँको कारोबार भएको विवरण बाहिरिएको छ । लामिछानेको गोरखा मिडियाबाहेक अन्य व्यवसायमा प्रत्यक्ष संलग्नता नभए पनि यो कारोबारले थप शंका उब्जाएको छ ।


सुरुवातमा विरोध प्रदर्शन गर्दै लामिछानेको बचाउमा उत्रिएको रास्वपा अहिले रक्षात्मक बनेको छ । पार्टीका सह–महामन्त्री कबीन्द्र बुर्लाकोटीले लामिछाने निर्दोष रहेको दाबी गर्दै आएका छन् । उनका अनुसार मुद्दामा दोष देखिने प्रमाण नभएकाले अदालतले खारेज गर्ने सम्भावना छ । ‘खातामा देखिएको २९ करोड रूपैयाँ कुनै ठूलो विषय होइन,’ बुर्लाकोटीले भने । उनका अनुसार लामिछानेको परिवारको व्यवसायिक पृष्ठभूमिका कारण यस्तो कारोबार भएको हो । रवि लामिछानेको गिरफ्तारीपछि उपसभापतिद्वय डोलप्रसाद अर्याल र डा. स्वर्णिम वाग्लेबीच नेतृत्वको दाबीले पार्टीभित्र थप विवाद निम्त्याएको छ । कार्यवाहक तोक्ने विषयमा निर्णय नभएका कारण पार्टीका बैठक र कार्यक्रमहरू प्रभावित भएका छन् ।

कास्की प्रहरीको हिरासतमा सुतेका लामिछानेको तस्बिर सामाजिक सञ्जालमा सार्वजनिक भएपछि प्रहरी र रास्वपाबीच थप तनाव देखिएको छ । तस्बिर खिच्ने डा. निकोलस भुसालले गल्ती स्वीकारे पनि रास्वपाले यसलाई प्रहरीको लापरवाहीको रूपमा चित्रण गरिरहेको छ । ‘हिरासतभित्र सीसीटीभी राखेर गोपनीयता हनन गरिएको छ,’ बुर्लाकोटीले भने, ‘यो मानव अधिकारविरोधी कार्य हो । हामी यो विषय अन्तर्राष्ट्रिय मञ्चमा उठाउने तयारीमा छौँ ।’
विरोध प्रदर्शन र दबाब कार्यक्रम छाडेर रास्वपाले मुद्दा कानुनी प्रक्रियामा प्रवेश गरेपछि रणनीति परिवर्तन गरेको जनाएको छ । ‘हामी रणनीतिक रूपमा जिल्लास्तरका भेलामा केन्द्रित भएका छौँ,’ बुर्लाकोटीले भने । यसैबीच सूर्यदर्शन सहकारी ठगीमा संलग्न १९ जनाविरुद्ध थप अभियोग दर्ता भएको छ ।

यसअघि अदालतबाट मुद्दा चलेका जीबी राईसहित १९ जनाविरुद्ध थप अभियोग दर्ता भएको हो । थप ४० करोड २० लाख ७६ हजार १४९ रूपैयाँ बिगोसहित अभियोग दर्ता भएको हो । थप अभियोग दर्ता भएका सहकारीका पूर्वअध्यक्ष गितेन्द्रबाबु राई (जीबी), उनका दाजु भूपेन्द्र राई, वर्तमान अध्यक्ष थानबहादुर बुढा, सञ्चालक समितिका उपाध्यक्ष कैलाशकुमार दर्लामी, सचिव धीरजकुमार दास, कोषाध्यक्ष कुमार रम्तेल, सदस्यहरू हेमन्त अधिकारी, कविता तामाङ र प्रमोद भट्टराई हुन् । यस्तै पूर्वसचिव अनुज नकर्मी र सुरज श्रेष्ठ, सञ्चालक सदस्यहरू शिवबहादुर गुरुङ, भविश्वर अर्याल र आइस्मा गुरुङ, लेखा समितिका संयोजक सागर केसी, सदस्य दिनेश रोका र ललिता तामाङ, लेखा अधिकृत सृष्टि मानन्धर, कर्जा अधिकृत बुद्धि गुरुङविरुद्ध पनि थप अभियोग दर्ता भएको छ । रास्वपा सभापति रवि लामिछाने विरुद्ध भने आज आइतवार अभियोग दर्ता हुने भएको छ ।