देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

बिद्यासँग ओली त्रसित

देशान्तर


काठमाडौं । पार्टीभित्र आफ्नो आलोचना, विरोध र आन्तरिक प्रतिस्पर्धा गर्ने नेताहरूलाई जसरी हुन्छ भित्तामा पु¥याएर पार्टीभित्र एकल शो चलाउँदै आएका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी महाधिवेशनमा पनि आफू नै निर्विकल्प अध्यक्षको रूपमा रहने सन्देश दिन थालेका छन् । औपचारिक रूपमा मुख खोली नसकेकी तर एमालेको नेतृत्व लिएर सक्रिय राजनीतिमा गर्ने तयारीमा रहेकी नेकपा एमालेकी पूर्वउपाध्यक्षसमेत रहेकी पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई सक्रिय राजनीतिमा ल्याउन हारगुहार नगर्न नेता–कार्यकर्तालाई निर्देशन नै दिने अवस्थामा पुगेका छन् ।

आगामी निर्वाचनमा ओलीको अध्यक्षमा आकांक्षा रहेको प्रस्ट भएको र अब भण्डारी राजनीतिमा आउने नै हो भने ओलीले नचाहँदासम्म सम्भव नभएको सन्देश दिएकाले ओली रहुन्जेल एमालेको नेतृत्व ओलीभन्दा बाहिर जान नसक्ने राजनीतिका जानकारहरू बताउँछन् । यसका लागि ओलीले उमेर हददेखि तेस्रो कार्यकालका लागि अध्यक्ष हुन मिल्ने गरी पार्टी विधान संशोधन गरिसकेका छन् ।

पूर्वराष्ट्रपति भण्डारीलाई सक्रिय राजनीतिमा ल्याउन र नेतृत्वमा पुराउन पहल गरिरहेका एमालेका दोश्रो तहका नेताहरूलाई ओलीले फर्मानकै रूपमा ३० मंसिरमा ललितपुरको च्यासलस्थित पार्टी कार्यालयमा भएको ‘स्थानीय तहमा पार्टीका समस्या र समाधान’ विषयक राष्ट्रिय कार्यशालामा भण्डारीबारे मुख खोल्दै दौडधुप नगर्न निर्देशन दिँदै भनेका थिए, ‘पूर्वराष्ट्रपतिकहाँ गएर (पार्टीमा) आइदिनुप¥यो भन्ने कुराको कुनै तुक छैन । उहाँ सर्वोच्च भइसकेको व्यक्ति हो, आवश्यक पर्दा हाम्रै सल्लाहमा आउनुहुन्छ । भेटेर गल लगाइरहनु पर्दैन ।’

ओलीले अगाडि थपेका थिए, ‘पूर्वराष्ट्रपति एमालेको राजनीतिमा फर्किने रे, महाधिवेशनमा नै पो उठ्ने रे, भन्ने हल्ला बाहिर चलेको छ । साथीहरूले के कुरा बुझ्नुप¥यो भने हिजो विद्या भण्डारीलाई एमाले पार्टीले नै राष्ट्रपति बनाएको हो । अब पार्टीको जिम्मेवारीमा फर्काउने काम पनि पार्टीकै हुन्छ । यस्ता कुरामा हल्ला गर्नुपर्दैन । उहाँले पार्टीमा फर्कने भए हामी नेतृत्वसँग छलफल गर्नुहोला नि । बाहिर हल्ला गर्नेहरूसँग गरेर त उहाँलाई पार्टी राजनीतिमा फर्कन गाह्रो होला ।’ यसअघि २९ साउन २०८० मा पार्टी कार्यालय, च्यासलमा बसेको सचिवालय बैठकमा पनि उनले भण्डारीलाई राजनीतिमा आउने रहर नगर्न आग्रह गरेका थिए ।

भण्डारीलाई राजनीतिमा फर्काउन एमालेकै एउटा पङ्क्तिसँगै, अन्य वाम दल र उत्तरी छिमेकी चीनको पनि रुचि देखिएको छ । तर ओली भने भण्डारी सक्रिय राजनीतिमा आएमा आफूलाई अप्ठ्यारो पर्न सक्ने र अर्काे गुट थपिने बुझाइमा रहेकाले सकेसम्म भण्डारीलाई राजनीतिमा फर्काउन चाहन्नन् । ओली भण्डारीलाई रोक्न चाहन्छन् किनकी ओलीलाई चुनौती दिने आँट र ल्याकत भण्डारीबाहेकका एमालेका वर्तमान पदाधिकारीमा छैन ।

एमाले सांगठनिक रूपमा बहुपदीय सामूहिक संरचना भएको पार्टी भए पनि अध्यक्ष ओलीको एकल फर्मान नै पार्टीको निर्णय हुने गरेको जगजाहेरै छ । ओलीका कोर टिमका विष्णु पौडेल र पृथ्वीसुब्बा गुरुङहरूले सार्वजनिक रूपमै अझै १० वर्ष ओलीले नै एमालेको नेतृत्व गर्ने भन्दै आइरहेका छन् । एमालेको ११औँ महाधिवेशन तोकिएकै समयमै भए २०८३ साल मंसिरमा हुनेछ । एमालेमा ओलीसँग रुष्टहरू पूर्वराष्ट्रपति भण्डारीलाई अध्यक्ष बनाउने गरी आन्तरिक रूपमा तयारीमा लागेको कुरा कतै लुकेको छैन । ओलीले एमाले मुख्यालयमा आयोजित कार्यशालामा भण्डारीबारे बोलेको कुराले एमालेभित्रको अन्तरविरोधलाई पनि सतहमा ल्याइदिएको छ ।