काठमाडौं । गृहमन्त्री रमेश लेखकले वर्तमान सरकार संविधान संशोधन, राजनीतिक स्थायित्व, संविधानको रक्षा र दिगो आर्थिक विकासका लागि गठन भएको भन्दै सबै दलको सहकार्यमा संविधान संशोधनको काम अगाडि बढाइने बताएका छन् ।
नेपाल प्रेस युनियन रुपन्देहीले आज तिलोत्तमामा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै गृहमन्त्री लेखकले संविधान संशोधनका लागि नेपाली कांग्रेस र नेकपा एमालेले कार्यदल बनाएर काम अगाडि बढाएको उल्लेख गर्दै यसमा सबै दललाई ल्याउने प्रयत्न भएको पनि बताए ।
उनले १० वर्षको अवधिमा संविधानका सबल र दुर्बल पक्षलाई केलाएर संशोधनको प्रक्रियामा लाग्ने बताए । त्यस अबसरमा गृहमन्त्री लेखकले सहकारीको रकम ठगी, अपचलन र हिनामिना गर्ने सयौँ मान्छे जेल गएको बताउँदै गलत गरेका कसैले पनि उन्मुक्ति नपाउने पनि स्पष्ट पारे । उनले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि कुनै अमर्यादित व्यवहार नभएको दाबी गरे । गृहमन्त्री लेखकले सहकारीको रकम ठगी गर्ने अपचलन गर्ने हिनामिना गर्ने सयौँ मान्छे जेल गएको बताउँदै अब पनि कसैले उन्मुक्ति नपाउने बताए।
प्रतिक्रिया