देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

भ्रष्टहरूको मुख हेरेर होइन, अपराध हेरेर कारबाही हुन्छ प्रधानमन्त्री ओली

देशान्तर

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले जनप्रतिनिधि वा कर्मचारी जो भए पनि जनताको सेवामा तल्लिन हुनुपर्ने बताएका छन् ।

मंगलबार ललितपुर महानगरको स्थापना दिवसको अवसरमा आयोजित सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भने, ‘हामी जनताका सेवक हौं, हामीभित्र घमण्ड पलाउन हुँदैन ।’

‘उनले भ्रष्टहरूको मुख हेरेर नभई अपराध हेरेर कारबाही हुने दाबी गरेका छन् । उनले भने, ‘देशको अवस्था सच्याउनु छ । सुधार गर्नु छ । देशलाई गरिबीबाट माथि उठाउनु छ । सुशासन दिनु छ । भ्रष्टाचार नियन्त्रण गर्नु छ ।’

प्रधानमन्त्री ओलीले भने, ‘भ्रष्टहरूको मुख हेरेर होइन, अपराध हेरेर कारबाही हुन्छ । देशमा सुशासन हुन्छ । जनतालाई दुःख दिन कर्मचारीले पनि पाउँदैनन् । दिन हुँदैन ।’

प्रधानमन्त्री ओलीले सबै तहका सरकार शासक नभई जनताकेन्द्रित एवं सेवामैत्री हुनुपर्नेमा जोड दिए । गरिबी घटाउन अधिक प्रयास भएको, सडक, पुलजस्ता भौतिक पूर्वाधार निर्माण गरिएका, जनताको जीवनस्तर उकास्न राज्यले हदैसम्म प्रयास गरेको, मुलुकको अर्थतन्त्रको आकार बढेको, वैदेशिक मुद्रा सञ्चितिमा वृद्धि हुनाका साथै आम नेपालीको सरदर आयु ४२ वर्षबाट ७२ वर्ष पुगेकोलगायत विगतको तुलनामा मुलुकमा क्रमशः विकास–निर्माणका गतिविधिले गति लिएको प्रधानमन्त्रीले बताऐ । निरपेक्ष गरिबीको रेखामुनि २० प्रतिशत जनसङ्ख्या मात्र रहनु मुलुकका निम्ति उपलब्धि भएको उनकने भनाई थियो ।
प्रधानमन्त्रीले अनेकतामा एकता कायम गर्दै सामाजिक सद्भावका साथ समृद्धितर्फको यात्रामा लाग्नु समयको माग भएको बताए ।
कार्यक्रममा भाषासाहित्यको क्षेत्रमा योगदान गरेबापत प्राध्यापक शिवगोपाल रिसाल, २०७२ सालको भूकम्पका बेला उद्धारमा खटिएका ा नारायण महर्जन, व्यङ्ग्य चित्रकार मोहनश्याम महर्जन र पत्रकार शिवहरि घिमिरेलाई सम्मान गरिएको थियो ।
त्यस अवसरमा सांसद प्रेमबहादुर महर्जनले सरसफाइ अड्डाका रुपमा स्थापना भएको कार्यालय हाल ललितपुर महानगरका रुपमा समृद्धितर्फको यात्रामा लागेको बताए । बागमती प्रदेशका श्रम रोजगार तथा यातायातमन्त्री प्रेमभक्त महर्जनले ‘डिजिटल’ माध्यमबाट सेवा प्रवाह गर्न सुझाव दिए । महानगरप्रमुख चिरीबाबु महर्जनले उपभोक्ता समितिमार्फत सम्पदा संरक्षण भइरहेको जानकारी दिए । उनले ठेक्का प्रणालीमार्फत बुङ्गमतीमा रातो मच्छिन्द्रनाथको रथ व्यवस्थापन एवं मन्दिर निर्माणसम्बन्धी काम पुनर्निर्माण प्राधिकरणको विघटनसँगै अन्योलमा परेको गुनासो गरे ।