चितवन । सहकारीको रकम हिनामिना गरेको आरोपमा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई आज चितवन लगिएको छ।
सहारा चितवन सहकारी लिमिटेडको रकम हिनामिना गरेको आरोपमा चितवन प्रहरीमा मंसिर ५ गते पूरक निवेदन दर्ता भएपछि तत्कालीन गाेर्खा मिडिया प्रालिका सञ्चालक, सेयर होल्डर तथा प्रबन्ध निर्देशक रहेका लामिछानेलाई बयानको लागि काठमाडौंबाट चितवन लगिएको हो।
लामिछानेको जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंमा हिजो बयान सकिएको थियो। जिल्ला प्रहरी कार्यालय पोखराले पक्राउ गरेको लामिछानेलाई चितवन प्रहरीले बयानका लागि चितवन पठाउन पत्र पनि पठाइसकेको थियो । उनलाई चितवनमा बयानको लागि जिल्ला अदालतले स्वीकृति समेत दिइसकेको छ।
लामिछानेलाई आजै बिहानको उडानबाट चितवन लगिएको हाे । साहरा चितवन सहकारीकै रकम हिनामिना अभियोगमा पूर्व डिआइजी छविलाल जोशी र रामबहादुर खनाललाई दुई दिन लगाएर बयान लिइएको थियो। उनीहरूलाई आइतबार चितवन लगेर हिजो बयान सकिएको थियो।
प्रतिक्रिया