देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

दुबोमा झरेको फूल


बाँच्नको लागि साँघुरिएको मन
पछि कहिले फुक्नै नसकेजस्तो
रक्सीको लत जस्तो खुम्चिँदै गएको मान्छेको
बार्दली–चोक–संवादको त्यो लत
दब्बु–आक्रामक लयमा
झन्झन् प्रगाढ भएर बढिरहेको
त्यसले क्षत्विक्षत पारेको मानवीय संवेदनाहरू
बुख्याचा जस्तो हल्लिरहनु पर्दा पनि
किन पर्छ मान्छेलाई यस्तो लत ?
आत्मरतिको पागलपनको विभ्रममा कति रमाउने ?
यो चिलाइको आनन्द लिन–
कनाउँदा कनाउँदा घाउ परिसक्यो
अब त रगत नै आइसकेको छ
तर आफूले आफैँलाई कनाएर लिने यो आनन्दी लत
खै ! जाँदै गएन महाप्रस्थान नजिक हुँदा पनि
को ठूलो, को सानो, कसले कसलाई प्रमाणित गर्ने ?
दास बनेर पूर्णतः दासानुदास बनेकोले ?
दाम राख्न पाउँदा जमिनदार बनेका ठूला कि
आफ्नो माटोमा रगत पसिना चुहाउने
टीका लगाउन पाएर टुप्पोमा पुगेको झोले ठूलो कि
आफ्नो स्वाभिमानमा बाँचेको नचिनिएको मान्छे
भुइँमान्छे हुनु अपराध होइन
उसको पसिना चोरेर बनेका नव कुवेरहरू अपराधी हुन्
बजारमा किनिने पदको आकार
पारदर्शी, होइन, नांगो कर्मकाण्डले दिएको प्रज्ञाशील उचाइ
शेक्सपियरका पंक्तिहरू भट्ट्याउन सक्ने ठूलो कि
तोते बोलीमा आफ्नै माटोको बोल बोल्न सक्ने
पण्डितको घरको पिँजडामा बन्द पट्टुहरू
मान्छे देख्ने बित्तिकै वेदका ऋचाहरू बोल्न थाल्छन्
कसले कसलाई किन बिचार्नु ?
आफूलाई ज्ञान–पुञ्जको न्यायाधीश ठानेर
अरुले हालिदिएको भ¥याङ चढेर ठूलो हुने हो कि
या, आफ्नो माटोको धरातल ठम्याएर
स्वयम् हल्ला गरेर
या, आत्म–सदाचारिताको खास्टो ओढेर
प्रज्ञाको कसी कसले कसरी लगाउने यहाँ ?
जहाँ प्रज्ञा स्वयं लखेटिइरहेकीछे
शरीर नांगो देखिँदै गएको छ वस्त्र च्यातिँदै गएर
पग्लिएको हिमालबाट ङिच्च देखिएको ढुंगा जस्तो
यस्तै राप ताप बढ्दै गयो भने नदीको प्रवाह सुकेजस्तो
लखेटिएकी प्रज्ञा नै हराउन सक्छे ।

गाईबस्तुलाई हालिने झारपात म होइन
म कसरी घाँस बन्न सक्छु र ?
मलाई घाँस नै बनाएर आफूलाई कनाउन चाहन्छौं भने
म बरु दूबो बनेर पलाइरहने छु
जतिले कुल्चिउन् मलाई, जतिले हिँडुन् म माथि
म झरेको फूललाई समेत नदुखोस् भनेर
बिघ्नहर्ता–प्रिय दूबो बनेर बाँचिरहने छु ।