गोपाल अश्क
(प्रिय पाठक गोपाल अश्क भोजपुरी मात्र होइन, नेपाली र हिन्दीमा पनि कलम चलाउन सक्षम छन् । विधामा पनि उनले प्रायः प्रचलित सबै विधामा कलम चलाएका छन् । उनी नेपाली साहित्यका एक सफल लेखक हुन् ।)
केही समयअघि उनको एक नेपाली कथासंग्रह प्रकाशित भएको छ, ‘कालो गुलाफ’ । त्यसैले एक कथा ‘एउटा लेखकको आत्मकथाका केही पंक्ति स्वतन्त्र रूपमा प्रस्तुत गरिन्छ, पाठकको आस्वादका लागि ।
आम उसको मन खिन्न छ । कतै लागिरहेको छ्रैन । नैराश्यताको तुवाँलोभित्र हराएजस्तो देखिन्छ । ऊ कहिले उठ्छ, कहिले बस्छ । कहिले कोठाभित्र फर्कन्छ । ऊ कहिले कोठामै यताउता घुम्न थाल्छ त कहिले ओछ्यानमा थपक्क बस्न पुग्छ । ऊ एकपटक अचानक उठ्छ र ऐनाअगाडि गएर उभिन पुग्छ ।
ऐनामा आफूलाई गहिरिएर नियाल्छ, मानौँ ऊ आफूलाई खोजिरहेको होस् । ऐनामा आफूलाई हेरिरहँदा अचानक उसको मनमा एउटा विचार उत्पन्न हुन्छ, ठीकै त छु । आफूमा कुनै परिवर्तन भएको त देखिन मैले । मेरो कदकाखीमा पनि कुनै परिवर्तन भएको छैन । उही पाँच फिट उचाइ र डेढ फिट जतिको चौडाइको आयतनमा फैलिएको मेरो शरीर उस्तै देखिन्छ । हो, अलिक मोटोचाहिँ अवश्य भएको छु । भुँडी पनि सोहीअनुसार बाहिर निस्केको छ । लुगाफाटा अब त्यतिको सुहाउँदैनन् । महँगो–सस्तोले गर्दा होइनन् । तिनीहरू नसुहाएका बिग्रिएको जिउडालले गर्दा हुन् । जुनसुकै खानेकुरा पनि निकै रुच्थ्यो । घरमा केही नहुँदा आमाले भातमा नुन–तेल नै मिसाएर खान दिनुहुन्थ्यो । त्यो पनि आहा ! कति मीठो लाग्थ्यो, कि त अमृतझैँ लाग्थ्यो । अब त थालमा पस्किएका परिकारहरूमध्ये पनि छानीछानी खानुपर्दछ । हुँदैन यो, कोलोस्ट्रोल बढिहाल्छ । यो त नुनिलो धेरै छ नखानू, यसले ब्लडप्रेसर ह्वात्तै बढाइदिन्छ । आदिआदि भनाइ खानुपर्दछ । आफ्नो इच्छाअनुसार केही खानुहुन्न अचेल । जहिले पनि डाक्टरको सल्लाहअनुसार हिँड्नुपर्छ । कथमकदाचित कुनै दिन आफ्नो इच्छाअनुसार खानपिन गरेको रहेछ भने, हुनसक्छ, त्यसको भोलिपल्ट नै डाक्टरअगाडि उभिनु परोस् । त्यसपछि त आफ्नो कुनै सीप लाग्दैन । डाक्टरले अतिरिक्त लेखिदिएका औषधिका साथमा उनको हप्काइ पनि खानुपर्दछ बेस्सरी ।
ऊ मान्दछ, नेपाली साहित्यजगत्मा उसलाई एउटा बहुआयामिक प्रतिभाको रूपमा चिनिने गरिन्छ । उसले आफूले पाएको पदको बहुभाषिक साहित्यकार तथा बहुआयामिक प्रतिभाको समीक्षा गर्दा ठीकै हो भन्ने ठहरमा पुग्ने गर्दछ । जबजब आफूसित यसबारे प्रश्न गर्दछ, ऊ आफ्नो मनको कुनै कुनाबाट जवाफ पाउने गर्दछ, हो त ! तिमी एउटा बहुआयामिक प्रतिभा नै हो । यहाँ प्रायः साहित्यकारहरूको जीवन कुनै एक भाषा र विधामै लेख्दालेख्दै बितेको हुन्छ । तिमी त चार–पाँच भाषा तथा साहित्यका अनेक विधा, जस्तोः कविता, गीत, गजल तथा उपन्यास, नाटक, महाकाव्य, खण्डकाव्य, हाइकू, निबन्ध, समालोचना, शोधअनुसन्धान आदिमा लेख्छौ । गज्जबको कुरो के छ भने तिमीले यी सारा विधाका कृति पनि प्रकाशित गराइसकेका छौ । त्यसैले तिमी एउटा बहुआयामिक प्रतिभा हौ, बहुभाषिक प्रतिभा हौ । यसमा कुनै दुईमत छैन, कुनै शंका छैन ।
तिमी को हौ त ? तिम्रो पहिचान के हो ? तिम्रो हुलिया कस्तो छ ? आज त भन्नुप¥यो । सधैँ मलाई केरकार गरिरहन्छौ । ऊ प्रश्न तेस्र्याउँछ ।
म भनेको तिमी नै हुँ । तिम्रो पहिचान नै मेरो पहिचान हो । मेरो रंग गहुँगोरो छ । मेरो उचाइ र लम्बाइ तथा शरीरको तौल आदि ठ्याक्कै तिम्रो । भन्नुपर्दा म पनि एउटा बहुआयामिक साहित्यकार तथा बहुभाषिक प्रतिभा हुँ ।’
उसको मनबाट एउटा सरल जवाफ आउँछ । तर ऊ यस जवाफबाट सन्तुष्ट हुँदैन र झन् आक्रोशित हुँदै प्रतिप्रश्न गर्दछ, ‘के भन्छौ तिमी ? तिमी कसरी म बन्न सक्छौ ? तिमीले कसरी मेरो पहिचान ग्रहण गर्न सक्छौ ? तिमी कसरी बहुभाषिक साहित्यका र बहुआयामिक प्रतिभा हुन सक्छौ ? तिमी त फगत मेरो मन हौ । मनको संसार त बेग्लै हुन्छ । त्यसको हुलिया अन्तरनीहित हुन्छ । बाह्यजगत्को उज्यालो अँध्यारोबाट टाढा । होइन र ? हो । यसमा कहाँ कुनै सन्देह ? कहाँ कुनै विवाद छ ? ऊभित्र रहेको एक अर्काे पात्रले जवाफ दिन्छ । अनि ! के नि ? उसको अर्काे पात्रले भन्न सुरु गर्दछ । साँच्चिकै भन्ने हो भने तिम्रा कुनै पनि चिज तिम्रा होइनन् । तिमीले आफूलाई चिनकै छैनौ । तिम्रो शरीरका अंगले तिम्रो प्रतिनिधित्व गर्दछन् । तिमीलाई म हुँ भन्ने बोध गराउँदछन् । तर वास्तवमा ती तिमी होइनन्, तिम्रा हुन् । यसको बाबजुद तिमीहरू ‘म र मेरो’ भन्ने गर्दछौ । त्यसैगरी म तिम्रो अन्तरजगत्को अंग हुँ, जसलाई तिमी मन भन्ने गर्दछौ ।
म पनि तिमी नै हुँ । यसैले गर्दा म तिमी हुँ र तिम्रो पहिचान नै मेरो पहिचान हो ।’
गाह्रो भो है अलिक बुझ्न मलाई । कहाँ म साहित्यक्षेत्रको मान्छे, कहाँ तिमी अध्यात्मदर्शनको कुरा गर्न थाल्यौ । ऊ अन्योलमा पर्दछ । तिमी भन्छौ, आज मसँग मेरो म रोइरहेको छ । आज त मेरो मन चराजस्तो चिरबिर–चिरबिर गर्दै उड्न खोजिरहेको छ । आज आकाशमा उडूँउडूँजस्तो लागिरहेको छ । यसमा धेरै सोच्नुपर्ने नै छैन, म तिमी नै हुँ र तिमी मेरो हो ।
ल, एकछिनका लागि मानौँ कि तिमी म हौ र म तिमी हुँ तर के ममाथि लाग्ने गरेका आरोपहरू तिमीमाथि पनि लाग्ने गरेका हुन् ? ऊ सोध्छ । ऊ अलिक हाँसेर भन्छ, त्यै आरोप होइन…कि तिमी बेच्ने गर्दछौ । सरस्वतीलाई बलात्कार गर्दछौ । अरूका निम्ति लेखिदिन्छौ । यी र यस्ता आरोप…होइन ? उसको अर्काे पात्रले सोध्छ, पैसाको निम्ति आफ्नो सन्तान बेचिदिन्छौ… आफ्नो आत्मा बेचिदिन्छौ । यी र यस्ता आरोप होइन ? हो, यिनै आरोपबारे म तिमीसित कुरा गरिरहेको हुँ । उसले भन्छ । (बाँकी पछि)
प्रतिक्रिया