नेपालबाट विदेश जाने र जान चाहने नेपालीहरूकाे संख्या दिनानसदिन बढ्दाे छ । काेही अध्ययनका नाममा त काेही वैदेशिक राेजगारीका नाममा दैनिक रूपमा नेपालबाट बाहिरिइरहेका छन् । अध्ययनकै लागि भनेर विदेश जानेहरूमा पनि अधिकांशकाे लक्ष्य पैसा कमाउनु नै हुने गरेकाे छ । अध्ययन तथा वैदेशिक राेजगारीमा विदेश गएकाहरूले पठाएकाे रेमिटेन्सले मुलुकको अर्थतन्त्रमा ठूलाे टेवा पुगेकाे छ ।
देशकाे अर्थतन्त्रमा वैदेशिक राेजगारीले महत्त्वपूर्ण भूमिका खेलेकाे त छ, तर विदेशमा नेपाली श्रमिककाे सुरक्षाका विषयमा कमै चासाे हुने गरेकाे छ । वैदेशिक राेजगारीका लागि विभिन्न मुलुकमा गएकाहरू कतिपय काठकाे बाकसमा फर्किन बाध्य छन् भने कतिपय अंगभंग भएर र दीर्घराेगी बनेर नेपाल फर्किन बाध्य छन् । वर्सेनि सयाैँ नेपालीले विदेशी भूमिमा ज्यान गुमाइरहेका छन् ।
गत आर्थिक वर्ष २०८०/८१ को पुस मसान्तसम्म वैदेशिक रोजगारीका क्रममा पाँच सय ३९ जनाको मृत्यु भएको थियो। बोर्डको तथ्यांकअनुसार आर्थिक वर्ष २०८०/८१ मा वैदेशिक रोजगारीका क्रममा एक हजार ३७८ जनाले ज्यान गुमाएका थिए। बोर्डको तथ्यांकअनुसार वैदेशिक रोजगारीका क्रममा आर्थिक वर्ष २०६५/६६ देखि २०८१/८२ को मंसिर ११ गतेसम्म १४ हजार १४४ जनाको मृत्यु भएको देखिएको छ।
चालु आर्थिक वर्षको मंसिर दाेस्राे सातासम्म वैदेशिक रोजगारीमा गएका चार सय ७७ जनाले ज्यान गुमाएकाे वैदेशिक रोजगार बोर्डको तथ्यांक छ । यो तथ्यांक वैध रूपमा विदेश गएर ज्यान गुमाएकाहरूकाे तथ्यांक हाे । श्रमिकले श्रम स्वीकृति लिएको वा श्रम स्वीकृति नवीकरण गरेको छ भने र बिरामी वा मृत्यु भएको वर्ष दिनभित्रै बोर्डमा निवेदन दिएमा बिरामीले वा मृतकका परिवारले बोर्डबाट आर्थिक सहायता पाउँछन् । अवैध रूपमा वैदेशिक राेजगारीमा गएर ज्यान गुमाउनेकाे संख्या पनि जाेड्ने हाे भने वैदेशिक रोजगारीका क्रममा मृत्यु हुनेहरूकाे ग्राफ झनै भयावह देखिने पक्का छ । यसको यकिन तथ्यांक सरकारसँग पनि छैन।
बोर्डले सार्वजनिक गरेको साउनदेखि मंसिर ११ गतेसम्मको तथ्यांकअनुसार चालु आर्थिक वर्षकाे पछिल्लाे चार महिनामा वैदेशिक रोजगारीका क्रममा बिरामी तथा अंगभंग भएर १ सय ७४ जना नेपाली स्वदेश फर्किएका छन् । वैदेशिक राेजगारीमा गएकामध्ये दैनिक सरदर तीन नेपालीको शव आउने गरेको बोर्डको तथ्यांक छ। वैदेशिक रोजगारीमा जानेको संख्या बढेसँगै मृत्यु हुने, बिरामी तथा अंगभंग भई फर्किनेको संख्या बढ्नुले वैदेशिक रोजगार सुरक्षित हुन नसकेकाे पुष्टि हुन्छ ।
तालिम र सिप केही नलिईकन विदेश जाने प्रवृत्तिका कारण पनि जोखिम बढेको छ । कानुनी प्रक्रिया पूरा गरेर कामका लागि विदेश जानेको तथ्यांक मात्रै बाेर्डसँग हुने तर अवैध रूपमा विदेश गई मृत्यु र बिरामी तथा अंगभंग हुनेको संख्या नहुने बोर्डका सूचना अधिकारी टीकाराम ढकालकाे भनाइ छ । सिप नसिकीकन बिदेसिने नेपाली कामदारको संख्या बढ्नुले पनि जोखिम बढाएको र विदेश जाँदा नेपाली नागरिक नै सचेत हुन जरुरी रहेकाे उनकाे भनाइ छ ।
आफूले गर्ने कामबारे तालिम तथा सिप लिएर र मौसम तथा अन्य जोखिमबारे राम्ररी बुझेर मात्रै विदेश जान उनी सुझाउँछन्। बिचौलियाको प्रभाव र व्यक्तिगत तवरले जोखिमपूर्ण मानिएका देशहरूमा तेस्रो मुलुक हुँदै जाने प्रवृत्तिले यस्तो समस्या बढाएको उनकाे ठहर छ ।
संस्थागत रूपमा वैदेशिक रोजगारीमा जानका लागि १११ वटा देश खुला गरिएको छ। व्यक्तिगत रूपमा वैदेशिक रोजगारीमा जान भने १७८ मुलुक खुला गरिएको छ। वैदेशिक रोजगार विभागको तथ्यांकअनुसार वैदेशिक रोजगारमा गएकामध्ये दक्ष कामदार ५ लाख ३२ हजार १२३ जना र अदक्ष एक लाख ४५ हजार ५ सय ४७ जना छन्।
श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएका कामदारको मृत्यु भएमा बोर्डले हकवालालाई सात लाख रूपैयाँ दिने गरेकोमा गत कात्तिकबाट १० लाख रूपैयाँ दिन थालेको छ। साे रकम वैदेशिक रोजगारीमा जाने श्रमिकले वैदेशिक रोजगार कल्याणकारी कोषमा जम्मा गरेको रकमबाट प्रदान गरिन्छ। वैदेशिक रोजगारीमा जाने श्रमिकले श्रम स्वीकृति लिँदा दुई वर्षसम्मको एक हजार पाँच सय र तीन वर्षभन्दा बढीको श्रम स्वीकृतिका लागि तीन हजार रूपैयाँभन्दा बढी रकम कोषमा जम्मा गर्नुपर्छ ।
प्रतिक्रिया