देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

कीर्तिपुर नगरपालिकामा उपनिर्वाचनकाे सरगर्मी

देशान्तर

कीर्तिपुर नगरपालिकामा उपनिर्वाचनकाे सरगर्मी बढेकाे छ । याे नगरपालिकाकाे प्रमुखसहित वडा नम्बर १ र ४ काे अध्यक्षमा यही मंसिर १६ गते उपनिर्वाचन हुँदै छ ।

नगरप्रमुखका लागि प्रमुख राजनीतिक दलसहित २० उम्मेदवार उपनिर्वाचनमा भिड्दै छन्। राजनीतिक दल मात्र हाेइन, यहाँ स्वतन्त्र उम्मेदवारको पनि लर्को छ।

स्वतन्त्र उम्मेदवार धेरै भए पनि मुख्य प्रतिस्पर्धा भने प्रमुख राजनीतिक दलबीच नै हुने स्थानीयको अनुमान छ। चुनावी प्रचारप्रसार पनि राजनीतिक दलको भन्दा स्वतन्त्र उम्मेदवारकै बढी देखिएको छ।

यसअघि कीर्तिपुरमा एमाले र माओवादी केन्द्रलगायत कम्युनिस्ट उम्मेदवारहरू पराजित गर्दै कांग्रेसका राजकुमार नकर्मीले बाजी मारेका थिए। मिर्गौला रोगका कारण नकर्मीको निधन भएपछि त्यहाँ निर्वाचन हुन लागेकाे हाे ।

२०७९ सालको निर्वाचनमा पहिलो पटक कांग्रेसले कीर्तिपुरको ‘लालकिल्ला’ भत्काएको थियो । कांग्रेसले नगर सभापति कृष्णमान डंगोललाई उम्मेदवार बनाएको छ।

एमालेले भने डा. सुरेन्द्र मानन्धरलाई उम्मेदवार बनाएको छ। उनी साे पार्टीका केन्द्रीय सदस्यसमेत हुन् । माओवादी केन्द्रबाट डा. शिव शरण महर्जन उम्मेदवार छन् । उनी त्रिभुवन विश्वविद्यालयका अवकाश प्राप्त प्राध्यापक हुन् ।

एकीकृत समाजवादीका तर्फबाट भानु रिजालले उम्मेदवारी दिएका छन् भने जनता समाजवादी पार्टी नेपालले दीपक महर्जन ‘हनी’लाई नगर प्रमुख उम्मेदवार बनाएको छ ।