देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

लैंगिक विभेद र हिंसा हाम्रा निम्ति कलंक हुन् : प्रधानमन्त्री ओली

देशान्तर

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान सुरु भएको अवसरमा सभ्य र हिंसारहित समाज निर्माण गर्न महत्वपूूर्ण योगदान पुगोस् भन्ने शुभकामना व्यक्त गरेका छन् । प्रधानमन्त्री ओलीले आज जारी गरेको शुभकामना सन्देशमा ‘हामी सबैको प्रतिबद्धता : लैङ्गिक हिंसा अन्त्यको लागि ऐक्यबद्धता’ भन्ने नाराका साथ सुरु भएको उक्त अभियानमा सो शुभकामना व्यक्त गरेका हुन् ।

‘म सबैलाई आग्रह गर्न चाहन्छु, हरेक संघसंस्था वा समाज सबै ठाउँबाट संकल्प गरौँ कि अब हामी लैंगिक हिंसा, भेदभाव हुन दिने छैनौँ,’ सन्देशमा भनिएको छ, ‘यस अभियानले हामी सबैलाई त्यही प्रेरणा प्रदान गरोस्, यस अभियानको भव्य सफलताका निम्ति म हार्दिक शुुभकामना व्यक्त गर्दछुु ।’

प्रधानमन्त्री ओलीले हाम्रा प्रयासहरुलाई समृद्धिको बाटोमा, समानताको बाटोमा, सभ्यताको बाटोमा, न्यायको बाटोमा अगाडि बढाउन साझा प्रयासहरु गर्नुपर्ने र एकअर्कामा साथ सहयोग, पारस्परिक सम्मानको बाटोबाट शान्तिपूर्ण समाज, सभ्य समाज, मानवोचित समाजको निर्माण गर्न सक्छौँ भनी सन्देशमा लेखेका छन् । साथ, यस अभियानले मानवोचित समाज निर्माण गर्न सबैलाई प्रेरणा प्रदान गरोस भन्ने कामना समेत उनले गरेका छन् ।

‘आजका निम्ति लै‌गिक हिंसाले आँसु बगाउनुपर्ने स्थिति रहनु हाम्रो चेतना, हाम्रो सभ्यता, हाम्रो व्यवहारप्रति एउटा ठूलो प्रश्न चिह्न हो, लैंगिक विभेद र हिंसा हाम्रा निम्ति कलंक हुन्,’ सन्देशमा भनिएको छ, ‘हामीले चाहेको समाज एउटा न्यायपूर्ण समाज होस्, सभ्य समाज होस्, उन्नत समाज होस्, सुसंस्कृत समाज होस् । हाम्रा शास्त्रहरुमा पनि उल्लेख छ-‘यत्र नार्यस्तु पूज्यन्ते रमन्ते तत्र देवताः । यत्रैतास्तु न पूज्यन्ते सर्वास्तत्राफलाः क्रियाः’ तर बीचमा सामन्ती युगले हाम्रो त्यो उत्कृष्ट मान्यतालाई लत्यायो र महिलाहरुलाई प्रताडीत गर्ने, अपहेलित गर्ने, विभेद गर्ने र हिंसाको शिकार हुने अवस्था बन्यो, यी कुराहरुलाई हामीले हटाउँदै गएका छौँ ।’

प्रधानमन्त्री ओलीले कसैले पनि पीडा भोग्न नपरोस्, हिंसाको सिकार हुन नपरोस्, अपमानित, अपहेलित र विभेद गरिएको स्थिति महसुस गर्न नपरोस्, यस अभियानका अवसरमा शुुभकामना व्यक्त गरे । ‘यो हामी सबैको साझा अभियान हो, यो साझा अभियानलाई हामी सबैको संयुक्त प्रयासहरुबाट, हाम्रा एकताबद्ध प्रयासहरुबाट अगाडि बढाउन जरुरी छ’ सन्देशमा भनिएको छ, ‘एउटा मानिसलाई यन्त्र ठान्ने दासयुग, महिलालाई वस्तु ठान्ने सामन्ति युगबाट हामी अहिले चेतनागत, मान्यतागत, संवैधानिक, कानुुनी हिसाबले र व्यवहारिक हिसाबले आधुनिक, समतामूलक, शान्तिपूर्ण युगमा प्रवेश गरेका छौँ र यसलाई अझ उन्नत बनाउने हाम्रा प्रयास जारी छन् ।’

प्रधानमन्त्री समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकांक्षा पहिल्याएको र देशमा सुशासन र विकासको बाटोबाट समृद्धि हासिल गर्न चाहेको कुरा सन्देशमा लेखेका छन् । ‘न्यायोचित समाज, सामाजिक न्याय र समानतासहितको समाज निर्माण गर्ने बाटोमा अगाडि बढिरहेका छौँ, यिनै कुराहरुलाई प्रतिविम्बित गरेर हामीले हाम्रा नीति कार्यक्रम तद्अनुसारका ल्याएका छौँ,’ सन्देशमा भनिएको छ, ‘सरकारका नीति कार्यक्रममा यी कुराहरु प्रतिविम्बित भएका छन् । यिनलाई कार्यान्वयन गर्नका लागि योजनाबद्ध कार्ययोजना तयार गरेका छौँ ।’

सन्देशमा विभेद र अपराध एउटै कुरा नभएको र विभेद केही सामाजिक मान्यताका कारणले भएका उल्लेख छ । ‘जसलाई शिक्षा, चेतना, कानुुनको प्रभावकारी कार्यान्वयनबाट हटाउन सकिन्छ, अपराध कानुुनविरुद्धको कुरा हो, अपराध मानवताविरुद्धको कुरा हो,’ प्रधानमन्त्री सन्देशमा भनेका छन्, ‘अपराध हिंसाको कुरा हो, यसका निम्ति हाम्रो संविधानको धारा १८ मा धर्म, वर्ण, जात, जाति, लिङ्ग, शारीरिक अवस्था, अपांगता, स्वास्थ्य स्थिति, वैवाहिक स्थिति, गर्भावस्था, आर्थिक अवस्था, भाषा वा क्षेत्र, वैचारिक आस्था वा यस्तै अन्य कुनै आधारमा भेदभाव गरिने छैन भन्ने कुराको स्पष्ट व्यवस्था छ ।’