काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज बस्नेगरी बोलाएको परामर्श बैठकमा पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराई सहभागी नहुने भएका छन् । प्रधानमन्त्री ओलीले अहिले बिहान ११ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा पूर्वप्रधानमन्त्री, पूर्वपरराष्ट्रमन्त्री र मन्त्रीहरु र परराष्ट्र मन्त्रालयसँग परामर्श बैठक राखेका छन् ।
नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)का संयोजक भट्टराईले आफू गृहजिल्ला गोरखा जाने कार्यक्रम रहेकाले प्रधानमन्त्रीले बोलाएको बैठकमा सहभागी हुन नसक्ने जानकारी दिएका छन् ।
डा.भट्टराईले सामाजिक सञ्जाल एक्समार्फत प्रधानमन्त्रीलाई नेपाल दक्षिण एसियाको सबैभन्दा पुरानो स्वतन्त्र र सार्वभौमसत्ता सम्पन्न राष्ट्र भएकाले आफ्नो सार्वभौमसत्तालाई ख्याल राख्न सुझाव दिएका छन् ।
बीआरआईबाट फाइदा उठाउन चुक्न नहुनेमा जोड
त्यस्तै, दुई उदीयमान शक्तिहरू चीन र भारतबीचको नेपालको विशिष्ट भूरणनीतिक, भूराजनीतिक र भूआर्थिक स्थितिलाई ध्यानमा राख्दै सबैसँग मैत्रीपूर्ण सम्बन्ध कायम गर्नेतर्फ ख्याल गर्न आग्रह गर्दै डा.भट्टराईले चीनको बीआरआईबाट फाइदा उठाउन चुक्न नहुनेमा जोड दिएका छन् ।
उनले नेपालकाे कमजोर अर्थतन्त्रलाई विकसित चरणमा पुर्याउन वैदेशिक व्यापार, पूँजी, प्रविधि, ज्ञान र सद्भाव चाहिने जनाएका छन् ।
प्रतिक्रिया