देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

मदभट्टीका बाफहरू


मदभट्टीको उत्पादन नै गजबको
तीन पानी काटेको चढेपछि
स्थलीय उचाइ बढेर जाने
चिलिम धपक्क बल्ने गरी
गाँजा तानेर रेलले धुवाँ छोडेजस्तो
फुरुरु लामो धुवाँ छोडेर रंगमञ्चमा छिरेपछि
माइक्रोफोन समातेको त्यो गायकले
स्वर फालेपछि कता पुग्ने कता ?
यति उम्दो गीत निस्किने
तालीको गडगडाहट बीच
‘वान्स मोर’ को गुञ्जन गुञ्जिरहने
त्योभन्दा धेरै लट्ठिने र लट्ठ्याउन सक्ने
राजनीतिक भट्टाको उत्पादन हुँदो रहेछ
मदहोस बनाएर रजस्थलमा पु¥याइदिने
छाँगो बनेर झरेको जलप्रवाह जस्तो
आकाश पातल जोडेर फुटेको वाकप्रवाहले
दशकौंको भगीरथ संघर्षबाट
स्वर्गबाट गंगा अवतरण गराए सरहको
वाक्चातुर्यको धुवाँको मुस्लो फाल्दा
रंगमंगिएको धुवाँको अँध्यारोमा
‘रूपान्तरण’ गरिएको आफ्नै मुलुक नदेखिने भएको छ ।

मृत्युसँग संघर्ष गर्नु पर्ने बाध्यात्मक परिस्थिति
बहिर्गमनको नटुंगिने ताँती
बाँझो हुँदै गएको मुलुक
धुवाँमा आँखा मिचिरहेका केही अझै लट्ठिरहेका
केही झर्ला र खाउँला भनेर ।

भट्टाको राजनीति गजबको हुँदो रहेछ
त्यहाँबाट निकालेपछि अपराधी नै चोखो हुने
जगजाहेर ठगले नै अब त ललकार्न थाले
कसैले प्रमाण ल्याउन सक्छ भने
राजनीति नै छोडिदिन्छु
जबकि प्रमाण भित्ता भित्तामा छन्
कोही प्रमाण हराएका मान्छे
कोही अनुहारभरि प्रमाण भएका मान्छे
शासन टिकाउने लहडी खटनपटन
त्यसमा निमोठिएको विधिको शासन
एउटै किसिमको ठगीमा
कोही ठग नवाब बनेर हिँडिरहेका
कोही ठग धरौटीमा छुटेका
कोही ठग सूक्ष्म अनुसन्धानमा जेलमा कोचिएका
प्रश्न ठगीको छैन
जहाँ हरेक हाँगामा उल्लू छन्
तपका तपकामा ठग
श्रेष्ठतम ठग हुने प्रतिस्पर्धामा
नयाँ नयाँ कानुनी उपचारको आविष्कारमा
माथिल्लो कक्षाको हरेक ठग प्रमाण देखाऊ भनिरहेका
प्रमाण चपाएर निलेका यी निर्धक्क छन्
नयाँ आएका प्रमाण जाली घोषित
तर विदेशी बैंकमा अर्बौं अर्बौं बढ्दै गएको
माड चाट्नेहरूको हरिबिजोग
प्रमाण देखाए कोही सबै रकम दिन तयार
कोही टुँडिखेलमा झुन्डिन तयार,
कोही राजनीति नै छोड्न ।

आहत जनतालाई राहत दिने यात्रा होइन यो
केवल टिक्ने टिकाउने तीर्थयात्रासम्मको जोगाड
यस्तै यस्तै मान्छेले निकालेको धुवाँभित्र
अपराधीले संयन्त्र चलाएपछि
पलपलको लागि बेहोसी लेनदेनको खेलमा
‘भिजिविलिटी’ झन कम हुँदै जाने
अनुहार हेरेर कारबाही हुने नहुने हुँदा
अपराधको ढाकछोप, अपराधीलाई संरक्षण
कसैलाई दोषी, कसैलाई निर्दोष
कानुन कसलाई लाग्ने कसलाई नलाग्ने
त्यो त शासकको लहडले निर्धारण गर्छ
अपराधीको बफादारीको आधारमा
सरकार टिकाउने आवश्यकताले तय गर्छ
फरारले पनि चुनावी टिकट पाउँछ
प्रकट हुन्छ आशीर्वाद प्रदत्त अभ्युदयको लागि
कसैले कराएर हुन्छ ?
साउने खोलाको जस्तो निर्देशनको भेल
जसरी खेले पनि हुने अनौठो यो खेल
हुकुमले मात्र क्रियाशील हुने कानुन
लेगहार्नका बतासे चल्लाहरूको रजाइँमा

मदभट्टीका बाफहरू राजभट्टाका ताज
ताज पहिरिएर नांगै दौडिरहेका
चरम लाज सरम हराएका
बजिरहेका यी वाकपटुताका साजहरू
अन्तले बजाएको हार्मोनियमको नोटमा
कहिले सुरुमा कहिले बेसुरमा
नशा प्रदत्त अँध्यारो धुवाँ फालेर ।

वाष्पकृत कुहिएका राप तापहरू
जता हावा त्यता धुवाँ बनेर उडिरहेका
अन्तको जवाफमा हामीलाई रवाफ देखाउँछन्
कठपुतली फुइँ–नाच कति देखाऊँ छौ ?
यो कस्तो तन्त्र हो टिक्ने नटिक्ने निधो नै नभएको ?
टिकाउनको लागि गरिब जनताको पसिना
कर लगाएर चुसेको खर्बौँ खर्बको रकम
जनताको थाप्लोमा द्रुत भारीको खर्बौँ खर्बको ऋण
शून्यतामा परिणत हुँदै गएको
केहीको आमोद प्रमोदको लागि गुल्छर्रा उडिरहेको
अन्तले भरेको हावामा ध्वाध्वा हार्मोनियम बजाई
अन्तले छानेर जति मेवा चाह्यो त्यति लिन मिल्ने
लिइसकेपछि जब चाह्यो टेवा झिक्न मिल्ने
झिकेपछि –
तासको घरजस्तो गल्र्यामगुर्लुम हुने
टिकाउनको लागि उत्तर दक्षिण मौसम हेरिरहनु पर्ने ?
कस्तो मन्त्र यो उच्चारण गर्न पुरोहित खोजिरहनु पर्ने ?
राजभट्टाको ताज लगाएका
त्रिमूर्तिको आलोपालो ढेवा–खेलमा
उडिरहेका यी मदभट्टीका बाफहरू