नारायणदत्त प्रकाश चटौत– यो धेरै चर्चामा आएको नाम होइन । कैयौं मानिसले यो नाम पहिलोपल्ट सुनेको हुनुपर्छ । आजका युवा र नयाँ पुस्ता त यो नामसँग पूरै अपरिचित होला । किनभने हाम्रो समाजमा कि सत्तामा पुगेका तथाकथित “ठूला” मानिसको चर्चा हुन्छ, कि कुख्यात अपराधी र भ्रष्टाचारीहरूको । सुपठित व्यक्ति र समुदायले प्रचारमा आएका र सहरमा बस्ने केही विद्वान, लेखक, साहित्यकार, पत्रकार, व्यवसायी र समाजसेवीहरूबारे धेरथोर ज्ञान अवश्य राख्छन्, तर दूरदराजमा बसेर राष्ट्र र समाजको लागि महत्वपूर्ण योगदान दिने, नागरिकलाई सही बाटो देखाउने, इमान्दार, क्षमतावान् र प्रतिभाशाली अनगिन्ती व्यक्तित्वहरू गुमनाम छन् । १९८७ साल मंसिर ७ गते जन्मिएर २७ वर्षको युवावंस्थामै कठोर कालको सिकार भएका डँडेलधुराको विकट स्थानका यी चतौटका धेरै साथीसंगी र सहकर्मीहरू यतिखेर पृथ्वीमा छैनन्, जे जति छन् तिनको पनि स्मृति धमिलो भइसकेको होला ।
उनले आफ्नो जीवन अर्पित गरेको राजनीतिक दलले उनलाई सम्झिँदैन । नेता र कार्यकर्ताहरू आफ्ना पिता–माता तथा बकस–संरक्षण दाताको गायन, भजन कीर्तन एवं पद, सत्ता र निजी स्वार्थका काममा व्यस्त छन् । उनका प्यारा केही भाइहरूले आफ्नो पूजनीय अभिभावकप्रति श्रद्धाञ्जलीको रूपमा आआफ्ना संस्मरण र उनका रचनाहरू– कविता, डायरी, चिठीपत्र र अभिव्यक्तिहरू– खोजीखोजी संकलन गरेर प्रकाशित गरेका कृतिहरूबाट नारायणीका व्यक्तित्व, विशेषता, विचार, सिद्धान्त, प्रतिभा, परिकल्पना र योगदानको झलक पाइन्छ । यसो गरेर उनीहरूले आफ्नो प्रेरणादायी अग्रजप्रतिको कर्तव्य मात्र पूरा गरेका छैनन्, राष्ट्रलाई एउटा महान् र उत्प्रेरक सपूतसँग परिचित गराएका छन् । हो, स्वर्गीय नारायणदत्त चटौत देश र समाजले अत्यन्त सम्मान र कदर गर्नु पर्ने उत्प्रेरक विभूति थिए ।
नारायण विलक्षण प्रतिभा भएका युवा थिए । (दुर्भाग्य, युवावस्थाभन्दा माथि उक्लिने अवसर नै उनले पाएनन् ।) आधुनिक चेत र प्रगतिशील सोच भएका उनी राष्ट्र र समाजमा ब्यापक परिबर्तनका पक्षधर थिए । राजनीतिमा लागेको छोटो समयमै एनडी प्रकाश विलक्षण प्रतिभाशाली नेताको रूपमा स्थापित भए । भविष्यको आशाको केन्द्र बने । उनले नेतालाई भन्दा नेताले उनलाई खोज्नुपर्ने स्थिति बनाए । एनडी राजधानीमा नेताहरूको वरिपरि नबसेर जनताबीच गएर संगठन निर्माणको काममा लागे । सुरुमा उनले पाल्ही– माझखण्ड (नवलपरासी, रूपन्देही, कपिलवस्तु) क्षेत्रमा कांग्रेसको संगठन विस्तार गर्दै क्रान्तिको पक्षमा जनमत निर्माण गर्न सक्रिय भए । उनले चमत्कारिक संगठन कौशल प्रदर्शन गरे । पार्टीले उनलाई त्यो क्षेत्रको सभापति बनायो । त्यसपछि उनी सुदूरपश्चिममा केन्द्रित भए । त्यस समय कांग्रेसलाई धनी र सामन्तहरूको पार्टी भनेर प्रचारित गरिथ्यो । आम नागरिकहरू धनी, जिम्दार र सामन्तहरूबाट पीडित थिए । जनता उनीहरूको विरुद्ध थिए ।
(लेखक विरही लोकतान्त्रिक आन्दोलनको पुरानो योद्धा वरिष्ठ पत्रकार हुनुहुन्छ ।)
एनडी प्रकाश झन् विद्यार्थीकालदेखि नै शोसक – सामन्तहरूको कट्टर विरोधी र गरिबहरूको पक्षधर थिए । उनी आफ्नो परिचय “शोषकहरूको शत्रु र शोषितहरूको सखा” भनी दिन्थे र सामन्तहरूको सातो जाने गरी भाषण गर्थे । किसानहरूलाई उनी अत्यधिक स्नेह र सम्मान गर्दथे । किसानहरू माथि भइरहेको शोषण र अन्याय, जातीय भेदभाब, छुवाछूत, असमानता, अन्धविश्वास र कुरीतिहरूविरुद्ध जनता जगाउन युद्धस्तरमा लागे । समतामूलक समाज र समाजवादप्रति उनको दृढ आस्था थियो । केही वर्षमै एनडी प्रकाश आफ्नो क्षेत्रमा लोकप्रियताको शिखरमा पुगे । सुदूर पश्चिममा अहिलेसम्म पनि उनको प्रभाव तथा उनीप्रति स्नेह र सम्मान प्रशस्त देखिन्छ । हरेक लोकतन्त्रवादीहरू गर्वसाथ आफूलाई एनडी प्रकाशको अनुयायी भन्छन् ।
१९८७ साल मंसिर ७ गते एनडी प्रकाश नेपाली कांग्रेसको २००९ सालदेखिका हरेक भेला, केन्द्रीय महाधिवेशन र महासमिति बैठकहरूमा सक्रिय सहभागी भए ।
करिब २१ वर्षको कलिलो उमेरमा उनी महासमितिको सदस्य भए । त्यसको ४–५ वर्षपछि केन्द्रीय सदस्य बने । २००८ सालमा विशालनगरमा भएको महासमिति बैठकमा उनले औपचारिक रूपमा राखेको भूमि व्यवस्था सुधार समिति गठनको प्रस्ताव सर्वसम्मतिले पास भयो । हरेक अवसरमा उनी नेताहरूलाई गरिब, किसान र श्रमजीवीहरूको पक्षमा प्रभावकारी नीति बनाउन र आफ्नो प्रतिबद्धता पूरा गर्न दबाब दिने गर्दथे । २०१४ साल मंसिरमा भएको नेकाको छैटौं महाधिवेशनमा समाजवादसम्बन्धी प्रस्ताव पास गराउन सक्रिय रहेको युवा जमातमा उनको अग्रणी भूमिका रहेको त्यहाँ सहभागी हुनेहरू बताउँछन् । संविधानसभा वा संसद्को चुनाव गराउन राजालाई दबाब दिन भएको भएको “भद्र–अबज्ञा आन्दोलन” को वातावरण निर्माण गर्न उनी वीरगन्जसहित तराई क्षेत्रमा सुवर्णशमशेरको नेतृत्वमा खटेका थिए । २०१५ सालको पहिलो आम निर्वाचन हुँदा एनडी यो धर्तीमा थिएनन् । त्यो स्थानमा कांग्रेसले द्वारिकादेवी ठकुरानीलाई टिकट दियो, जसलाई एनडी प्रकाशले राजनीतिमा लाग्न प्रेरित गर्दै पार्टीको सदस्य बनाएका थिए ।
उनले ठकुरानीलाई काठमाडौं ल्याएर बीपी, सुवर्णसहित नेताहरूसँग परिचय गराएका थिए । नेताहरूले एनडीको बारेसको रूपमा उनैलाई टिकट दिए र जितेर आएपछि मन्त्री नै बनाए, नेपालको पहिलो महिला मन्त्री । यदि त्यो दुर्घटना टरेको भए एनडीले के के जिम्मेदारी प्राप्त गर्ने थिए होलान्– हामी अहिले कल्पना मात्र गर्न सक्छौं । एनडी प्रकाश अहिलेका कार्यकर्ताहरू जस्तो नेताले जे कर्म कुकर्म गरे पनि चुपचाप हेरेर÷सहेर बस्ने प्रकारका व्यक्ति थिएनन् । आफ्नो स्वार्थको निम्ति विवेक, नैतिकता र स्वाभिमान छोडेर नेतासामु लम्पसार पर्ने चरित्रको विपरीत थिए उनी । उनी स्वाभिमानी, निर्भीक र प्रस्ट वक्ता थिए । त्यसबेला देशमा भ्रष्टाचारको यस्तो बिगबिगी थिएन । राजनीति गर्ने मानिसले भ्रष्टाचार गर्ला भन्ने कोही सोच्दैन थिए । देशलाई ठग्नु, कर छल्नु, घुस–कमिसन खानु “आमाको रगत खाए सरह हो” र कदाचित अहिले जोगिए अर्को जन्ममा सजाय पाइन्छ भन्ने मानसिकता थियो । तथापि नेताहरूमा कतिपय मानवीय कमजोरी थिए ।
एनडी प्रकाश नेताहरूका सानासाना कमजोरी पनि सहन सक्दैनथिए । यहाँसम्म कि एकपल्ट बीपी कोइराला सुवर्णशमशेरको निवास, ललिता निवासमा गएको बेला उनी उहाँलाई भेट्न त्यहीं गएछन्, तर बीपी खाना खाएर विश्राम गरेको बेला परेछ । केहीबेर बैठकमा कुर्दा पनि कुनै जवाफ नआएपछि उनले ‘समाजवादी नेता दिउँसै सुतेर कार्यकर्ता कुराउँदा रहेछन्’ भन्ने लेखेर माथि पठाइदिए र आफू फर्किए । एनडी राजनीतिकर्मीहरूको जीवनशैली सदा, सरल र मितव्ययी हुनुपर्ने कुरामा जोड दिन्थे । मद्यपान र विलासिताको उनी कट्टर विरोधी थिए । नेता र कार्यकर्ताको जीवन र व्यवहार पार्टीको सिद्धान्त अनुरूप हुनुपर्छ भन्ने उनको अडान हुन्थ्यो । नेपाली कांग्रेस सुरुदेखि नै अन्तर्राष्ट्रिय समाजवादी आन्दोलनसँग जोडिएको थियो । कांग्रेसलाई समाजवादी बनाउन बीपी कोइरालाको ठूलो भूमिका थियो । उहाँ नेपालमा समाजवादको जग बलियो पार्न चाहनुहुन्थ्यो । त्यसैले उहाँले १९५३ मा बर्मामा भएको एसियाका समाजवादीहरूको सम्मेलनमा भाग लिनुभयो भने “एसियन सोसलिस्ट कन्फरेन्स” स्थापनामा महत्वपूर्ण भूमिका निभाउनु भयो ।
१९५४ मा टोकियो र १९५६ मा मुम्बैमा भएको उक्त संस्थाको पहलो र दोस्रो ब्युरो बैठकमा नेपालको नेतृत्व गर्दै सहभागी हुनु भएको कोइरालाले राखेको प्रस्तावअनुसार तेस्रो बैठक १९५८ काठमाडौंमा हुने तय भएको थियो । यो बैठकले अन्तर्राष्ट्रिय क्षेत्रमा नेपालको पहिचान र प्रतिष्ठा बढाउनुका साथै नेपाली जनमानसमा समाजवादको महत्ता स्थापित गर्ने अपेक्षा बीपीको थियो । त्यसैले उहाँले त्यो बैठकमा उज्ज्वल भविष्य भएका, पार्टीको बिचार र सिद्धान्त जनतालाई बुझाउन सक्ने तथा समजवादमा आस्था राख्ने युवा नेताहरूलाई विशेष रूपमा सहभागी गराउन चाहनु भयो । यस क्रममा उहाँको छनोटमा परेका एक युवा नेता थिए– एनडी प्रकाश । उनी त्यसबेला जिल्लातिर पार्टी संगठनमा व्यस्त थिए । बीपीको निम्ता पाउनासाथ उनी यता हान्निए । समय धेरै बाँकी थिएन । राजमार्गहरू बनेका थिएनन् । भएमध्ये छोटो बाटोबाट सिमरा पुगेर उनी बैठक सुरु हुने दुई दिनअघि २०१४ साल चैत ११ गते विमान चढे । भारतीय वायुसेवाको त्यो विमान उडेको केही मिनेटमै ललितपुरको लेले डाँडामा दुर्घटनामा प¥यो । एनडी तथा कांग्रेसका अर्का नेता राजदास बादेश्रेष्ठ (बनेपा ) र चालकहरूसहित सबै २० जनाको जीवन स्वाहा भयो ।
यस्तो लाग्छ, एनडी प्रकाश कदाचित राजनीतिक क्षेत्रमा प्रवेश नगर्नु भएको भए मूर्धन्य साहित्यकार वा लोकप्रिय सामाजिक अभियन्ता वा पत्रकार बन्ने सम्भावना थियो । उहाँको सामाजिक सुधारसम्बन्धी स्पष्ट दृष्टिकोण थियो । त्यो दृष्टिकोण आधुनिक थियो, अगग्रामी थियो, प्रगतिशील थियो । उनको सपनालाई पछ्याइरहेका उनका भाइ–भतिजाहरू एनडीका नीति, व्यवहार, योजना, कीर्ति र परिकल्पनाहरूलाई जनता माझ पु¥याउन लामो समयदेखि क्रियाशील छन् । आर.डी प्रभास चटौत र भुवनेश्वरीदत्त चटौतले प्रकाशित गरेको “रचना–प्रकाश”, आर,डी. प्रभासको “प्रकाशका कालजयी कविता” तथा बागीश्वरीदत्त चटौत “बागीश” द्वारा संयोजित सम्पादित “जागरणका सारथि” र हालै डा. बीडी चटौतले सार्वजनिक गरेको “एन डी प्रकाशका डायरी’’ ले उनको जीवनी, व्यक्तित्व, व्यवहार, नीति, योजना, कृति र सपनाहरूको विस्तृत परिचय दिएका छन् । प्रकाशमा आएका विवरणहरूले के पुष्टि गर्दछ भने एनडीको लेखनमा गहिरो रुचि थियो ।
उनी लेखिरहनथे, जे पनि लेख्थे । देखेको, पढेको, सोचेको कुरा टिपीहाल्थे । गीत, कविता, संस्मरण, डायरी, चिठीपत्र, जे पनि लेख्ने । डायरी हरेक दिन अटुट रूपमा लेख्थे । चिठी लेख्ने त नशा नै थियो । भनिन्छ, उनी एउटै आसनमा एक दर्जन जति चिठी लेख्थे । उनको लेखाइ प्रायः छोटो र अक्षर कलात्मक देखिन्छ । उनी नेपाली, हिन्दी र डोटेली भाषामा लेख्थे । उनका रचनाहरूमध्ये कैयौं कविता कालजयी छन् । साहित्यमा उनी हाम्रो लक्ष्मीप्रसाद देवकोटा र भारतका पन्त–प्रसाद–निरालाबाट बढी प्रभावित रहेको संकेत पाइन्छ । कवितामा यिनले आफ्नो भावना दिल खोलेर व्यक्त गरेका छन् । अल्पआयुमै स्वर्गीय भएका एनडीले त्यही बेला लेखेका थिएः
चाहन्न दीर्घतम् जीवन होस् भनेर
चाहन्न भीम र चिरायु बनूँ भनेर
सानो बनूँ दुई दिनै बरु बाँच्न पाउँ
संसारमा सकलका शुभ काम पाउँ ।
प्रतिक्रिया