देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

मोहभंग किन हुन्छ र त्यसको परिणति के हो ?



यो एक यस्तो संयोगको प्रसंग हो, जसले नेपाल आमाका दुई महान् सपूतले दिएका युगान्तकारी चेतावनीलाई प्रतिविम्बित मात्र गर्दैनन्, प्रतिनिधित्व पनि गर्दछन् । ती दुईमध्ये एक हुन्– प्रजातान्त्रिक आन्दोलनका प्रणेता गणेशमान सिंह र अर्का हुन् विख्यात् बुद्धिजीवी तथा कूटनीतिज्ञ यदुनाथ खनाल । दुवैले प्रजातन्त्र पुनस्र्थापनापछिका जननिर्वाचित सरकारको नेतृत्व गरेका नेताहरूले जब विधिको शासनको अवज्ञा गर्न थाले, तब उनीहरूकै कारण देशमा अव्यवस्था र अराजता उत्पन्न भएको र त्यसैको परिणामस्वरप अव्यवस्था र अराजकताको विस्फोट हुन पुगेको ठोकुवा गरेका थिए ।


ऐतिहासिक जनआन्दोलनका सर्वोच्च कमान्डर गणेशमान सिंहलाई त्यो आन्दोलन सफल भएर संसदीय व्यवस्था पुनस्र्थापित भएपछि प्रधानमन्त्री भएर नयाँ व्यवस्थाको संस्थागत विकासमा योगदान पु¥याउन राजा बीरेन्द्रबाट आग्रह गर्दा त्यस्तो अनुग्रहका निम्ति हार्दिक धन्यवाद ज्ञापन गर्दै आफूभन्दा योग्य र सक्षम व्यक्ति कांग्रेसका सभापति कृष्णप्रसाद भट्टराईलाई उक्त पदमा नियुक्त गर्न विनम्रतापूर्वक अनुरोध गरेका थिए । त्यसो गरेर उनले त्याग र बलिदानको अद्भुत उदाहरण मात्र प्रस्तुत गरेका थिएनन्, भट्टराई नेतृत्वको अन्तरिम सरकारलाई नयाँ संविधान निर्माण र निर्वाचन सम्पन्न गराउने काममा अर्जुनदृष्टि टिकाउन आग्रह पनि गरेका थिए ।


ती दुवै काम सम्पन्न गर्ने क्रममा भट्टराईले आफू चुनाव हारे पनि आफ्नो पार्टीलाई सहज बहुमत दिलाएर पुनस्र्थापित संसदीय राज्यव्यवस्थाको संस्थागत विकास गर्ने अवसर उपलब्ध गराइदिएका थिए । त्यसपछि गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा गठन भएको निर्वाचित सरकारलाई बधाई ज्ञापन गर्दै सिंहले राजनीतिक क्रान्तिको पहिलो चरण सम्पन्न भएकाले अब देशलाई आर्थिक क्रान्तिको दिशामा डो¥याउने पालो आएको छ, जनताको विश्वासमा खरो उत्रने गरी काम गर्ने जिम्मेदारी कांग्रेसको काँधमा आएको स्मरण गराउँदै उनले गरिब र निमुखा जनताले पनि प्रजातन्त्र हाम्रा लागि पनि आएको हो भन्ने अनुभव गरेर यसलाई आफ्नो व्यवस्थाका रूपमा अपनाउन सक्ने तुल्याउने चुनौती निर्वाचित जनप्रतिनिधिसमक्ष आएकाले परिवर्तनलाई त्यो दिशामा कसरी हाँक्ने काम हुन्छ, त्यसैका आधारमा सबैको मूल्यांकन हुने वास्तविकताप्रति ध्यानाकर्षित गराएको यथार्थ, अरुले बिर्से पनि जनताले बिर्सेका छैनन् । अहिलेको समस्याको जड नै त्यही हो ।


सत्तामा पुगेकाहरूले त्यही प्रतिज्ञा र चेतावनी बिर्सेर विलासितालाई जीवनशैलीमा रूपान्तरित गर्न थालेपछि आफूलाई “वाचडग”को भूमिकामा सीमित तुल्याएका गणेशमान सिंहले फेरि गर्जन गर्न थाल्नु परेको थियो– सरकारले राज्यका तर्फबाट उपलब्ध गराउने अवसरमा समानताको सिद्धान्त किन अपनाएन भन्ने प्रश्न उठाएर ! त्यसपछि गणेशमान सिंहमाथि बाहुनवाद विरोधीमात्र होइन, नेवारवाद समर्थकको आरोपसमेत लागेको पनि कसैले भुलेका छैनन् । त्यसको खण्डन गरेका थिए, प्रकाण्ड विद्वान यदुनाथ खनालले । २०५४ साल असोज २ गते गणेशमान सिंहको निधन भएको थियो । त्यसको ठीक दुई महिना ६ दिनपछि, अर्थात् २०५४ साल मंसिर ८ गते त्रिभुवन विश्वविद्यालयले प्रदान गरेको महाविद्यावारिधिको उपाधि ग्रहण गरिसकेपछि दिएको भाषणमा उनले भनेका थिए– “म यस अवसरलाई नेपालको वर्तमान अवस्थाबारे अलिकति विचार गर्ने अवसरका रूपमा उपयोग गर्ने अनुमति चाहन्छु ।

यो मेरो सोझै संलग्नताको क्षेत्र होइन र यसमा प्रवेश गर्न मलाई उति रमाइलो पनि लाग्दैन । यस्ता कुरामा चर्चा गर्नका लागि मभन्दा बढी योग्य र उपयुक्त व्यक्तिहरू छन् भन्ने मलाई राम्रो बोध छ । तर अराजकताको स्थितिमा पुगेको आजको नेपाल सबैको चासो र चिन्ताको विषय भएको छ, किनकि यहाँ अहिले सिद्धान्त र व्यवहार दुवैमा राष्ट्रिय विचलन आएको छ । जुन मूल्य र मान्यताहरूलाई अरू मानव समाजसँगसँगै हामीले पनि इतिहासको लामो संघर्षमार्फत क्रमशः व्यक्त गर्दै आएका थियौं, ती अब अस्वीकृत नभए पनि अपहेलित भएका छन् । म अहिले तिनको जुन विश्लेषण गर्न जाँदैछु, त्यही नै एक मात्र विश्लेषण हुन सक्छ भन्ने मेरो दावी छैन, किनकि यसको विश्लेषण गर्नेहरू कसैले यहाँ कुनै विचलन नै भएको छैन भन्ने विश्लेषण पनि गरेका छन् र कसैले चाहिँ अब हामीहरू सधैंका लागि समाप्तै भयौं भन्ने खालको विश्लेषण पनि गरेका छन् । दुवै चरम दृष्टिकोण हुन् ।


मेरो विचारमा राष्ट्रिय र अन्तर्राष्ट्रिय दृष्टिकोणबाट हेर्दा हामीले हाम्रो परिवर्तनको चुनौती र त्यसको प्रकृतिलाई पर्याप्त रूपमा बुझ्न सकेका छैनौं । त्यस परिवर्तनको चुनौतीलाई नबुझीकन हामी हाम्रो परिवर्तनलाई व्यवस्थित गर्न सक्तैनौं र त्यही नै हाम्रो मुख्य समस्या पनि हो ।”(जयराज आचार्यको, यदुनाथ खनाल : जीवनी र विचारबाट ) एक व्यापक आन्दोलनबाट आएको परिवर्तनका आयामलाई राम्रो अध्ययनका अभावमा लागू गर्न खोज्दा उत्पन्न समस्याको सामना त गरिरहेछौं तर समाधानको सूत्र खोज्न सकिरहेका छैनौं । त्यही खोजको प्रयास तबसम्म निरन्तर जारी रहनेछ, जबसम्म समाधान फेला पर्ने छैन ।