देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

प्रचण्डको छटपटी

देशान्तर

काठमाडौं । शान्ति प्रक्रियामा आएदेखि गत असार ३० गतेसम्म करिब १८ वर्षको समय अवधिमा तीन वर्ष दुई महिना २३ दिनमात्र सत्ता बाहिर रहँदै निरन्तर झन्डै १५ वर्ष सत्तामा रहेको नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सत्ताका लागि जस्तोसुकै हथकण्डा अपनाउने र सत्ता बाहिर हुनुपर्दा छट्पटाउने राजनीतिक मूल्य मान्यता तोड्ने र कूटनीतिक मर्यादासमेत बिर्सने नेताका रूपमा स्थापित भएका छन् । प्रचण्डले आफू सत्तामा हुदा देशमा सबै ठीक देख्छन् तर सत्ता बाहिर हुँदा देशमा प्रतिगमन, भ्रष्टाचार, सरकारको अकर्मण्यता देख्छन् । त्यतिमात्र हैन त्यसका विरुद्ध आन्दोलन क्रान्ति सबै एकसाथ सुरु गर्ने धमास दिन थाल्छन् ।


कहिले कांग्रेस त कहिले एमालेको काँध चढेर प्रधानमन्त्रीको कुर्सीमा बसिरहने कच्चा खेल खेलेका प्रचण्डलाई कांग्रेस एमाले मिलेर सत्ता साझेदारी गरेपछि प्रतिपक्षमा पुग्दा दैनिक छटपटी बढ्दै गएको उनको अभिव्यक्तिमा प्रस्ट देखिन्छ । जसको बुइँ चढेर भए पनि जसलाई रिझाएर भए पनि नेपालको राजनीतिमा सत्तामा आफूलाई सधैं केन्द्रमा राख्न चाहने प्रचण्ड स्वभावबाट सबै परिचित भइसकेका छन् । प्रधानमन्त्री ओलीको चीन भ्रमण तय भएपछि केही समयअघि प्रचण्डले कूटनीतिक मान्यतासमेत भुलेर भारतीय सञ्चार माध्यममा आपत्तिजनक अभिव्यक्ति दिए । भारतबाट प्रकाशन हुने अंग्रेजी भाषाको अखबारमा ‘दि हिन्दू’मा पूर्वप्रधानमन्त्री प्रचण्डले कूटनीतिक मर्यादा र देशको स्वाभिमानलाई प्रश्न गर्नेगरी भारतभन्दा पहिले चीनको भ्रमण गर्न लागेर प्रधानमन्त्री केपी शर्मा ओलीले चाइना कार्ड खेलेको आरोप लगाएका थिए ।

पहिलोपटक प्रधानमन्त्री हुँदाको पहिलो विदेश भ्रमण चीनबाटै गरेका उनले ओलीको आसन्न चीन भ्रमणलाई भने चिनियाँ कार्ड खेलेको बताएर सत्तामा पुग्न भारतलाई रिझाउन बोलेको भनेर आलोचना भइरहेको छ । प्रधानमन्त्री औपचारिक भ्रमणका क्रममा एउटा छिमेकमा जान लागेका बेला जिम्मेवार नेताले अर्को छिमेकीलाई उक्साउने र आपसी सम्बन्धमा आशंका उत्पन्न गराउने ढंगले अभिव्यक्ति दिनु आपत्तिजनक र कूटनीतिक रूपमा राष्ट्रिय हितविपरीत हुने कूटनीतिक मामलाका जानकारहरू बताउँछन् । यस्तै, नेकपा माओवादी केन्द्रका उपाध्यक्ष अग्निप्रसाद सापकोटाले कांग्रेस एमाले मिलेर बनेको केपी शर्मा ओली नेतृत्वको सरकारप्रति दुवै छिमेकी खुसी नभएको टिप्पणी सार्वजनिक गरेका छन् ।

सत्ताबाट बिमुख हुनुपर्दा प्रचण्डले आफू र आफ्नो पार्टी अब सत्ताको खेलमा नलाग्ने जनतामा जाने बताए पनि फेरि सत्ताको च्याखे दाउमा लागेका छन् । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो पार्टीसँग ३२ सिटको अझै म्याजिक नम्बर नै रहेको दाबी गरेका छन् । माओवादी काभ्रे काठमाडौं सम्पर्क समितिको भेलालाई सम्बोधन गर्दै उनले म्याजिक सिटकै कारणले अहिले नै चिन्तित हुनुपर्ने कारण नरहेको बताए ।

उनले भनेका थिए, ‘हामीले भ्रष्टाचारविरुद्धको अभियान भनेर सुरु ग¥यौं, हामीसँग संख्या थिएन । यही हलमा हो, तामाङ राष्ट्रिय मुक्ति मोर्चाको सम्मेलन थियो । मैले ३२ को हाम्रो संख्यालाई जादुको संख्या भनेको थिएँ, मेरो यही भनाइले उनीहरू अझै बढी उद्वेलित र तरंगित पनि भए होलान् । मैले त्यो नभनेको भए पनि हुन्थ्यो होला, तर पनि अहिले पनि हाम्रो संख्या म्याजिक नै छ भन्छु । किनभने ३२ भएकाले प्रमुख विपक्षी दलको नेता छ हाम्रो पार्टी, विपक्षी दल भनेको गभमेन्ट इन् वेटिङ भन्छ पर्खिरहेको सरकार, यो सरकारलाई उल्ट्याएर बन्ने सरकार हाम्रै हो फेरि, त्यसकारण हामी चिन्तित हुनुपर्ने कारण छैन ।’