काठमाडौं । नेपाली खेलकुदको अन्तर्राष्ट्रियकरण र बजार विस्तारका लागि ‘ड्रिम प्रोजेक्ट’ को रूपमा अघि बढी रहेको नेपाल प्रिमियर लिग एनपीएल आउन अब एक साताको मात्रै समय बाँकी छ । अर्को शनिबार त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा उद्घाटन हुने प्रतियोगिताको तयारी अन्तिम अन्तिम चरणमा पुगेको छ । एनपीएल खेल्ने फ्रेन्चाइज ८ वटै टोलीले विदेशी खेलाडी र आवश्यक प्रशिक्षकहरू अनुबन्ध गरिसकेका छन् । प्रतियोगिता नजिक आउँदै गर्दा त्रिवि क्रिकेट मैदान पनि अहिले सिंगारिएको छ । प्रतियोगिताको उद्घाटन खेलमा जनपुर र विराटनगर आमनेसामने हुने छन् ।
तर, प्रतियोगिता नजिक आइपुग्दै गर्दा नेपाल क्रिकेट संघ क्यानले कानुनी प्रक्रियाहरू भने अझै पूरा गर्न सकेको छैन । एनपीएलका लागि छुट्टै गभर्निङ बडी बनाएको क्यानले त्यसमार्फत प्रक्रियाहरू अघि बढाए पनि कति फाइल राष्ट्रिय खेलकुद परिषद् राखेपमा अड्किाएका छन् भने कति फाइल अहिले पनि बाटैमा रहेको बुझिएको छ ।
विदेशी खेलाडी ल्याएर प्रतियोगिता खेल्दा अनिवार्य श्रम स्वीकृतिको काम अहिलेसम्म भएको छैन । जसले गर्दा मंसिर १५ गतेदेखि विदेशी खेलाडीहरू एनपीएलमा खेल्न पाउने कि नपाउने भन्ने बहस पनि सुरु भएको छ । यसैगरी क्यानले एनपीएलको प्रसारण भारतीय कम्पनी स्टारस्पोर्टस्लाई दिँदा प्रक्रिया पूरा नगरेको भन्दै नेपालमा सञ्चारसम्बन्ध तीनवटा संस्थाले विज्ञप्ति नै प्रकाशित गरेर विरोध जनाएका छन् ।
उनीहरूले अपारदर्शी ढंगले एनपीएलको ब्रोडकास्टिङ राइट्स दिएको विषयमा आपत्ति जनाउँदै अदालत गुहार्ने चेतावनी पनि दिएका हुन् । सञ्चार तथा विज्ञापन क्षेत्रका तीन संस्थाले साझा विज्ञप्ति जारी गर्दै उक्त सम्झौताप्रति आपत्ति जनाएका हुन् ।
नेपाल विज्ञापन संघ, राष्ट्रिय विज्ञापन संघ नेपाल र मिडिया अलाइन्सले विज्ञप्ति जारी गर्दै क्यानको यो कदम राष्ट्रिय हितविपरीत तथा अवैधानिक रहेको दाबी गरेका हुन् । एनपीएल आयोजना हुनु सुखद भएको र यसले देशको अर्थतन्त्रमा समेत सकारात्मक प्रभाव पार्ने विज्ञप्तिमा बताइएको छ, तर यो प्रतियोगिताले नेपाल र नेपालीको हित एवं अधिकारको अवमूल्यन हुन नहुनेमा विज्ञप्तिमा जोड दिइएको छ । नेपाल प्रिमियर लिगको आयोजनामा नेपाल क्रिकेट संघबाट केही अवैधानिक, गैरकानुनी र गैरव्यावसायिक तथा अनैतिक क्रियाकलापहरू जानाजान वा भूलवश हुन गएको विज्ञप्तिमा उल्लेख छ । बिनाप्रतिस्पर्धा स्टार स्पोर्ट्स छनोट गरिनु गैरकानुनी भएको आरोप लगाइएको छ ।
प्रतिक्रिया