काठमाडौं । नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले धनगढी विमानस्थलको नामकरण कांग्रेसका दिवंगत नेता एन.डी. प्रकाश चटौतको नाममा गर्न पहल गर्ने बताएका छन् । एन.डी. प्रकाश (नारायणदत्त चटौत)को ९५औं जन्मजयन्तीको अवसरमा प्रकाशित ‘एन.डी. प्रकाश र उहाँका डायरी’ नामक पुस्तको विमोचन कार्यक्रममा सभापति देउवाले सो प्रतिबद्धता जनाएका हुन् । एन.डी.को नाममा धनगढी विमानस्थलको नामकरण गर्न वरिष्ठ पत्रकार हरिहर विरहीद्वारा राखिएको प्रस्तावप्रति सहमति जनाउँदै सभापति देउवाले भने– ‘यसका लागि सरकारसँग पहल गर्नेछु, तत्काल भएन भने पनि म प्रधानमन्त्री भएको बेला यो निर्णय गर्नेछु ।’
प्रजातन्त्रका लागि जीवन समर्पण गरेका एन.डी. प्रकाश चटौत (वि.सं. १९८७–२०१४) १८/१९ वर्षको उमेरमै आफ्नो पढाइ, भविष्य, र परिवारको वास्ता नगरी २००६/०७ सालमा प्रजातान्त्रिक आन्दोलनमा होमिनु भएको थियो
२००७ सालको क्रान्तिताका प्रहरी दमन तथा धरपकडबाट बच्दै उहाँले जनतालाई संगठित गरेर परासीमा क्रान्तिको नेतृत्व गर्नुभएको थियो । भर्खर स्थापना भएको नेपाली कांग्रेसलाई औंला समातेर डोर¥याउनुपर्ने त्यस समयमा एनडी चटौतले पार्टीको संगठन विकासका लागि निर्वाह गरेको भूमिका उच्च कोटीको थियो । बीपी कोइरालाले उनलाई पार्टीका लागि अपरिहार्य पात्र ठानेर नै केन्द्रीय सदस्यको जिम्मेवारी दिएका थिए ।
नेपालका तत्कालीन राजा त्रिभुवनदेखि भारतका प्रधानमन्त्री जवाहरलाल नेहरूसम्मको दृष्टिमा समेत ‘महत्वपूर्ण व्यक्ति’को रूपमा उचाइ बनाएका युवा एनडीको २६ वर्षकै उमेरमा निधन भएको थियो । यस्ता ऐतिहासिक व्यक्तित्वद्वारा दैनन्दिन आफ्नै हस्तलिपिमा टिपिएका दैनिकीलाई डा. भुवनेश्वरदत्त चटौतले संकलन गरी श्रीमती मञ्जुदेवी चटौतले प्रकाशन गरेको पुस्तक ‘एन.डी. प्रकाश र उहाँका डायरी’ मंगलबार राजधानीमा विमोचन गरिएको हो । सात सय पृष्ठको अति नै गहकिलो र स्तरीय पुस्तक प्रकाशनमा ल्याउन वरिष्ठ पत्रकार हरिहर विरही, भरत कोइराला, श्याम अधिकारी, हरि मञ्जुश्रीको अहम् भूमिका रहेको विमोचनका क्रममा जानकारी गराइएको थियो ।
ऐतिहासिक महत्वको दस्तावेज बन्न सक्ने सो पुस्तकको विमोचन समारोहमा प्रमुख अतिथि रहेका देउवाका अलावा वरिष्ठ पत्रकार हरिहर विरही, इतिहासकारद्वय रमेश ढुंगेल र राजेश गौतम, पूर्वमन्त्री एवम् नेपाली कांग्रेसका नेताद्वय तारिणीदत्त चटौत र एनपी साउदले स्वर्गीय एनडी चटौतको ऐतिहासिक कर्म र जीवनीबारे प्रकाश पारेका थिए ।
प्रतिक्रिया