काठमाडौं । पञ्चायतकालमा पञ्चहरूले एउटा भाष्य सिर्जना गरेका थिए– ‘सबै पञ्च नेपाली, सबै नेपाली पञ्च’, हो, अहिले सरकारको नेतृत्व गरेको नेकपा एमालेले पनि यस्तै भाष्य सिर्जना गर्न खोज्दैछ– ‘सबै नेपाली एमाले । एमालेले जे चाहन्छ, त्यही हुन्छ, एमालेले जे गर्छ ठीक गर्छ, एमालेको आलोचना गर्ने सबै गलत हुन् ।’ यसको सबैभन्दा बलियो उदाहरण हो– शुक्रबार दरबारमार्गमा एमालेले गरेको आमसभा । जागरणसभाको नाम दिए पनि एमालेले आफ्नाविरुद्ध लाग्ने सबैलाई चेतावनी दिन त्यो आमसभा गरेको देखियो । जुन पञ्चायती व्यवस्थाको पक्षमा पञ्चायतवादीले ¥याली गर्दै कांग्रेस, कम्युनिस्टलाई अराष्ट्रिय तत्व भन्दै भाषण गर्थे । सरकारको कार्यशैली, पार्टी र नेतृत्वको काम कारबाही, भाटभटेनीको जग्गा दान प्रकरण तथा कम्बोडियाको दूरसञ्चारमा ओलीको लगानीलगायत विषयमा ओली, सरकार र एमालेको आलोचना बढिरहेका बेला एमालेले आमसभा गरेर आफ्नो गल्ती छिपाउने र अरूको आलोचना गर्ने रणनीति अपनाएको हो ।
आमसभामा नै प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष ओलीले घुमाउरो पारामा एमालेको विरोध गर्नेलाई नछाडिने चेतावनी दिन भ्याए । सरकार र एमालेका विरोधमा कसैले केही भने नछाडिने धम्की पनि उनले दिए । रवि लामिछानेको सहकारी ठगी, चिनियाँ कार्ड प्रयोग गर्न खोजेको प्रचण्डको दाबीलगायत विषयमा ओलीले सभाबाटै जवाफ दिए र अनर्गल विषयमा कुरा गर्न कसैलाई छुट नहुने चेतावनी दिए । लोकतन्त्रमा बहुमतले सरकार सञ्चालन गर्ने हो, सरकारबाटै नागरिकलाई सेवासुविधा प्रदान गर्ने हो । सरकारमा बस्नेले बोलेर होइन, काम गरेर जवाफ दिने हो । सदन र सडक त विपक्षीको हो । सरकारको काम कारबाहीमा चित्त बुझेन भने विपक्षीले सदन र सडकमा आवाज उठाउने हो । तर, एमालेले भने सडक र सदन दुवै कब्जाको रणनीति लियो । सरकारमै भए पनि सडक आफूहरूको पनि भएको दम्भ प्रस्तुत ग¥यो ।
लोकतन्त्रका नाममा केही साना दलहरूले बारम्बार भागबन्डा खोजेको, सरकार सञ्चालनदेखि संविधान कार्यान्वयनमा भाँजो हालेको, सुशासन कायम गर्न व्यवधान खडा गरेको लगायत आरोप पनि एमालेले लगायो ।
पार्टी र नेताहरू एकपछि अर्को गर्दै विवाद र आलोचनामा फसिरहेका बेला कम्तीमा एक लाख मान्छे राजधानीमा उतारेर शक्ति प्रदर्शन गर्ने घोषणा गरिए पनि सभामा केही हजार मान्छे मात्रै सहभागी थिए र एमालेको सभाका कारण शुक्रबार दिनभरजसो राजधानीको ट्राफिक अस्तव्यस्त भयो । सरकारकै नेतृत्व गरेको दलले जनतालाई सहज रूपमा सेवा सुविधा दिनुपर्नेमा उल्टै सास्ती दिएको भनेर पनि एमालेमाथि अर्को आलोचना थपिएको छ ।
महानगरले एक लाख तिराउने
नेकपा एमालेको जागरणसभाका क्रममा सडकमा फोहोरमैला गरेको भन्दै काठमाडौं महानगरपालिकाले एमालेलाई एक लाख रुपैयाँ जरिबाना तोकेको छ ।
एमालेले शुक्रबार काठमाडौं उपत्यकास्तरीय प्रदर्शन तथा दरबारमार्गमा जागरणसभा सकेलगत्तै वातावरण प्रदूषण गरेको भन्दै महानगरले जरिबाना रकम तोकेर पत्राचार गरेको हो ।
महानगर प्रहरीका निरीक्षक लीलाराज गाछाले हस्ताक्षर गरेर एमाले केन्द्रीय कार्यालयलाई पठाइएको पत्रमा भनिएको छ, ‘मंसिर ७ गते काठमाडौं महानगरपालिका–१, दरबारमार्गस्थित खुला सडकमा जागरणसभा गर्ने क्रममा सडक तथा सडकपेटीमा जथाभावी फोहोरमैला गरी वातावरण प्रदूषण गरेकाले फोहोरमैला व्यवस्थापन ऐन, २०६८ र काठमाडौं महानगरपालिकाको आर्थिक ऐन २०८१ बमोजिम एक लाख रुपैयाँ जरिबाना गरिएको व्यहोरा निर्देशानुसार अनुरोध गर्दछु ।’
महानगरपालिकाले फोहोरमैला व्यवस्थापनसम्बन्धी ऐनविपरीत कार्य गर्नेहरूलाई यसअघि पनि जरिबाना गर्दै आएको छ । ‘महानगरपालिकाले कानुनबमोजिम सर्वसाधारणलाई पनि यसअघि नै यही रकम बराबर कारबाही गरेको छ । अस्पताल र अन्य व्यापारिक प्रतिष्ठानहरूलाई पनि कारबाही गरेको छ । त्यहीअनुसार कानुनको कार्यान्वयन गर्ने हेतुले एमालेलाई पनि जरिबाना गरिएको हो,’ महानगरका एक कर्मचारीले भने । फोहोरमैला व्यवस्थापन ऐन २०६८ अनुसार आफ्नो क्षेत्रभित्रको फोहोरमैला व्यवस्थापन र प्रदूषण नियन्त्रण गर्ने अधिकार स्थानीय तहलाई उक्त ऐनको दफा ३९ ले सार्वजनिक स्थानमा फोहोरमैला गर्नेलाई ५ हजारदेखि १ लाख रुपैयाँसम्म जरिबाना हुने व्यवस्था गरेको छ ।
प्रतिक्रिया