देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

उपनिर्वाचनका लागि धमाधम मनोनयन दर्ता

देशान्तर

काठमाडौँ । मंसिर १६ गते हुने उपनिर्वाचनका लागि आज मनोनयन दर्ता भइरहेको छ । काठमाडौंको कीर्तिपुर नगरपालिकाको मेयरका लागि नेपाल समाजवादी नयाँ शक्ति पार्टीका दिल कुमार महर्जनले पहिलो उम्मेदवारी दर्ता गराएका छन् । मेयर पदका निम्ति नेकपा (एमाले)का तर्फबाट सुरेन्द्र मानन्धरले उमेदवारी दर्ता गराएका छन् । नवरथ कुमार बानियाँ र राजमान मानवले स्वतन्त्र उमेदवारी दिएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले भने कीर्तिपुर नगरपालिका प्रमुखमा उमेदवारी नदिने भएको छ । काठमाडौं महागरपालिका–१६ को अध्यक्षमा भने रोजिना श्रेष्ठलाई उमेदवार बनाउने भएको छ । कीर्तिपुर नगरपालिकाको मेयरका लागि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का तर्फबाट इन्जिनियर ध्रुव महर्जनले उमेदवारी दर्ता गराएका छन् । नयाँ शक्तिका तर्फबाट दिलकुमार महर्जनले उमेदवारी दर्ता गराएका छन् । नेपाली कांग्रेसबाट कृष्णमान डंगोल उम्मेदवार बनेका छन् । 

नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीबीच स्थानीय तह उपनिर्वाचनमा काठमाडौँको दुई सिटमा तालमेलको सहमति बनेको छ । सहमतिअनुसार काठमाडौँ –१६ मा एकीकृत समाजवादीलाई माओवादीले र कीर्तिपुर नगरपालिकामा माओवादीलाई एकीकृत समाजवादीले सहयोग गर्ने सहमति भएको हो । शनिबार बसेको दुई पार्टीबिचको संयुक्त बैठकले सो निर्णय गरेको हो । बैठकले कीर्तिपुर नगरपालिकाको प्रमुख पदमा नेकपा माओवादी केन्द्रका उम्मेदवार शिवशरण महर्जनलाई नेकपा (एकीकृत समाजवादी) ले समर्थन गर्ने र काठमाडौँ महानगरपालिका वडा नं. १६ को वडाअध्यक्ष पदका उम्मेदवार मिनबहादुर मानन्धरलाई नेकपा माओवादी केन्द्रले समर्थन गर्ने निर्णय गरेको छ ।

कीर्तिपुरमा माओवादीले वडा नम्बर १ अध्यक्षमा अष्टमान महर्जन र वडा नम्बर ४ अध्यक्षमा इन्जिनियर नारायण विष्टलाई उम्मेदवार बनाउँदा एकीकृत समाजवादीले वडा नम्बर ४ मा रीता खड्कालाई उम्मेदवार घोषणा गरेको छ । कीर्तिपुर–१ को वडाध्यक्ष पदका निम्ति राप्रपाका तर्फबाट सुरेन्द्र उप्रेतीले उमेदवारी दर्ता गराएका छन् । कीर्तिपुर–४ को वडाध्यक्ष पदका निम्ति राप्रपाका तर्फबाट विजेश बस्नेतले उमेदवारी दिएका छन् । यस्तै, कीर्तिपुर–१ को वडाध्यक्ष पदका निम्ति एमालेका तर्फबाट हर्ष महर्जनले उमेदवारी दर्ता गराएका छन् । कीर्तिपुर–४ को वडाध्यक्ष पदका निम्ति एमालेका तर्फबाट बद्री बुढाथोकीले उमेदवारी दिएका छन् । आजै साँझ ५ देखि ६ बजेसम्म उमेदवारको सूची प्रकाशन गरिने निर्वाचन आयोगले जनाएको छ ।