काठमाडौं । नेपाल क्रिकेट संघ क्यानको नेतृत्वमा चतुर–पारसको जोडीले नयाँनयाँ कामलाई अघि बढाएको छ । कुनै समय आईसीसीको प्रतिबन्धका कारण रसातलमा पुगेको नेपाली क्रिकेटले पछिल्लो समय भने निकै हाइप लिइरहेको छ । आईसीसीको निलम्बन फुकुवासँगै अन्तर्राष्ट्रिय गतिविधिहरूमा अझ बढी सक्रिय भएको नेपाली क्रिकेटले एक दिवसीय मान्यता जोगाउनु, टी २० विश्वकप खेल्नु र कुनै समय महिलाको टिम त्यो पनि उमेर समूह भनेर मुन्टो बटार्नुपर्ने स्थितिबाट अहिले नेपालको यू १९ महिला टिमले एसिया कप र टी २० विश्वकप खेल्दैछ भन्दा आम क्रिकेट समर्थक नेपालीको छाती गर्वले फुलेको छ ।
यस्तैमा, नेपाल क्रिकेट संघले अर्को ड्रिम प्रोजेक्टको रूपमा नेपाल प्रिमियर लिग ‘एनपीएल’लाई अघि बढाएको छ । प्रतियोगिता आउन अब दुई साताभन्दा कम समय बाँकी रहे पनि प्रचारप्रसार काम भने युद्धस्तरमा भइरहेको छ । आठ टिमले पहिलो संस्करणमा एनपीएलमा प्रतिस्पर्धा गर्नेछन् । पूर्वाधार अभावका कारण अन्तर्राष्ट्रिय फ्रेन्चाइज लिगहरू (आईपीएल, बीबीएल, पीएसएल) जस्तै रातिमा खेलहरू नभए पनि नेपाली क्रिकेटको विकासका लागि यो प्रोजेक्ट महत्वपूर्ण कोशेढुंगा हुने क्रिकेट विश्लेषकहरू बताउँछन् ।
एनपीएलका लागि अहिले आठ वटै टिमले जर्सी सार्वजनिक गर्नेदेखि विदेशी खेलाडी र प्रशिक्षकहरूको नाम सार्वजनिक गरेर आइकोनिक र ट्यालेन्ट हन्ट गर्दै छन् । प्रतियोगिताको तालिका सार्वजनिक ढिलोमा सोमबार हुने नेपाल क्रिकेट संघ क्यानका सचिव पारस खड्काले देशान्तरलाई जानकारी दिए । एनपीएललाई भव्य र सभ्य बनाउनका लागि क्यानले मात्रै होइन, नेपाली खेलकुदको सर्वोच्च निकाय राष्ट्रिय खेलकुद परिषद् राखेपले पनि विशेष तयारी गरेको छ । त्यसका लागि राखेप परिसरमै एनपीएलका लागि ‘हेल्प डेक्स’ बनाएको छ ।
यसैगरी क्यानले एनपीएलको मुख्य प्रायोजकको रूपमा सिद्धार्थ बैंकसँग अहिलेसम्मकै सर्वाधिक धेरै रकममा सम्झौता गरेको जनाएको छ । नेपाली खेलकुदमा फुटबलतर्फ कतार एयरवेजले १ लाख ५० हजार डलरमा मुख्य प्रायोजन सम्झौता गरेकाले योभन्दा धेरै पक्कै पुगेको अनुमान गरिएको छ । यसैगरी प्रतियोगिताका खेलहरू विश्वस्तरको च्यानल स्टार स्पोर्टस्ले प्रत्यक्ष प्रसारण गर्ने भएकाले नेपालको क्रिकेटलाई विश्वस्तरमा पनि पु¥याउन र आउँदा दिनमा नेपाली खेलाडीहरूलाई पनि यसले फाइदा गर्ने सचिव खड्काले बताए ।
एनपीएल खेल्नका लागि इंग्ल्यान्डबाट ६ जना, अमेरिकाबाट ४ जना, न्युजिल्यान्ड, स्कटल्यान्ड र पाकिस्तानबाट ३–३ जना, वेस्टइन्डिज, नामिबिया, नेदरल्यान्ड्स र अफगानिस्तानबाट २–२ जना आउने अहिलेसम्म पक्का भइसकेको छ । यसैगरी भारत, हङकङ, यूएई, अस्ट्रेलिया, ओमान, क्यानडा, दक्षिण अफ्रिकाबाट १–१ जना खेलाडी आउने छन् । पोखरा एभेन्जर्समा अमेरिकाका आन्द्रेस गौस, नेदरल्यान्ड्सका बास डि लिडे, इङ्ल्यान्डका म्याट क्रिचली, वेस्ट इन्डिजका रेमन राइफर र स्कटल्यान्डका माइकल लिस्क छन् भने कर्णाली याक्समा पाकिस्तानका हुसेन तलात, हङकङका बाबर हायात, वेस्ट इन्डिजका चालडिक वाल्टन र भारतका शिखर धवन छन् । सुदूरपश्चिम रोयल्समा स्कटल्यान्डका ब्रान्डन मक्मलेन, इङ्ल्यान्डका सेफ जेब, न्युजिल्यान्डका स्कट कुगेलेइन र यूएईका रोहन मुस्ताफा रहेका छन् । लुम्बिनी लायन्स इङ्ल्यान्डका टोम मुर्स, अस्ट्रेलियाका बेन कटिङ, अमेरिकाका उन्मुक्त चन्द छन् । काठमाडौं गुर्खाजमा नेदरल्यान्ड्सका माइकल लेभिट, इङ्ल्यान्डका सन एस्किनान्जी, नामिबियाका जेहार्ड एरास्मस र इङ्ल्यान्डका ड्यान डौथेवेट रहँदा विराटनगर किंग्सबाट ओमानका अकिब इल्यास, क्यानडाका निकोलस कीर्तन, स्कटल्यान्डका क्रिस सोल, न्युजिल्यान्डका मार्टिन गप्टिल र अफगानिस्तानका इस्मत आलमले एनपीएल खेल्नेछन् ।
जनकपुर बोल्ट्सबाट न्युजिल्यान्डका जिमी निसम, अमेरिकाका जोसुवा ट्रम्प, पाकिस्तानका मोहम्मद मोहसिन, अमेरिकाका लाहिरु मिलन्था र पाकिस्तानका सोयब मक्सुदले खेल्दा चितवन राइनोजबाट दक्षिण अफ्रिकाका मार्चन्ट डे लांग, इङ्ल्यान्डका ल्युक मार्टिन बेनकेन्स्टाइन, नामिबियाका जान लिफ्टी इटन र अफगानिस्तानका हसन इसाखिलले खेल्ने पक्का भइसकेको छ । यसैगरी टिमहरूले विश्वस्तरका प्रशिक्षकहरू पनि अनुबन्धित गरेका छन् । क्यानले बोलकबोलमा टिमहरूका मालिक तय गर्दा राम्रो आम्दानी पनि गरेको छ । क्यानका अनुसार यो प्रतियोगितामा कम्तीमा ३० करोड बढीको कारोबार हुने र ८ करोड जति बचाउने योजना छ ।
प्रतिक्रिया