देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

भारतका स्थल सेना प्रमुख द्विवेदी नेपाल आउँदै

देशान्तर


काठमाडौं । उच्च राजनीतिक तहमा नेपाल–भारत सम्बन्ध चिसिएको भनिएको अवस्थामा भारतका दुई सुरक्षा निकायका प्रमुखहरूले नेपाल भ्रमण गर्ने भएका छन् । यस क्रममा भारतीय सशस्त्र सीमा बल (एसएसबी) का प्रमुख अमृतमोहनप्रसाद अहिले नेपालमै छन् भने भारतका स्थल सेना प्रमुख जनरल उपेन्द्र द्विवेदी चारदिने औपचारिक भ्रमणका लागि नेपाल आउँदै छन् । यो भ्रमणले नेपाल र भारतको सम्बन्ध भित्री रूपमा राम्रै रहेको सन्देश दिने विश्वास कूटनीतिक क्षेत्रका जानकारहरूको छ ।
शनिबारदेखि नेपालमा सुरु भएको सशस्त्र प्रहरी बल नेपाल र भारतीय सशस्त्र सीमा बलबीच हरेक वर्ष हुने सीमा सुरक्षासँग सम्बन्धित रहेको दुईदिने समन्वयात्मक बैठकका लागि भारतीय सशस्त्र सीमा बल (एसएसबी) का महानिर्देशक प्रसाद नेतृत्वको टोली शुक्रवार नेपाल आएको हो । सशस्त्र प्रहरी बल मुख्यालय हल्चोकमा आइतबारसम्म चल्ने बैठकमा सीमा अपराध न्यूनीकरण र रोकथाम, अवैध क्रियाकलाप निगरानी र रोकथाम, सूचना आदानप्रदान तथा संयुक्त रूपमा सीमास्तम्भ रेखदेखलगायत विषयमा छलफल हुने छ ।
बैठकमा सशस्त्र प्रहरी बलका तर्फबाट सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल र भारतको सशस्त्र सीमा बलका तर्फबाट महानिर्देशक प्रसादले प्रतिनिधिमण्डलको नेतृत्व गरेका छन् ।
यसैगरी, प्रधानसेनापति अशोकराज सिग्देलको औपचारिक निमन्त्रणामा द्विवेदी मंसिर ५ मा नेपाल आउन लागेका हुन् । द्विवेदीको नेपाल भ्रमण नियमितमध्येको हो । सेना प्रमुख नियुक्त हुनासाथ एकअर्काको मुलुकमा पुगेर सम्बन्धित मुलुकका राष्ट्राध्यक्षबाट त्यहाँको सेनाको मानार्थ महारथी दर्जा लिने दुवै मुलुकको परम्पराको निरन्तरतास्वरूप द्विवेदी नेपाल आउन लागेका हुन् । नेपाली सेना र भारतीय सेनाबीचको परम्पराअनुसार भारतीय सेना प्रमुख जनरल द्विवेदीलाई काठमाडौँ ओर्लेको भोलिपल्ट अर्थात् मंसिर ६ मा राष्ट्रपति रामचन्द्र पौडेलले एक विशेष समारोहका बीच नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान गर्ने कार्यक्रम रहेकोे छ ।
उनी फर्केको केही समयलगत्तै नेपाली सेनाका प्रधासेनापति सिग्देल पनि मनार्थ महारथीको दर्जा लिन दिल्ली जानेछन् । द्विवेदी नेपाली सेनाका प्रधानसेनापति सिग्देलभन्दा अगाडि सेनापति भएका थिए । त्यसैले महारथीको दर्जा पनि द्विवेदीले नै पहिला लिन लागेका हुन् ।
भ्रमणका क्रममा जनरल द्विवेदी सैनिक मञ्च टुँडिखेलस्थित वीर स्मारकमा श्रद्धाञ्जली अर्पण र जंगीअड्डामा सम्मान गारत निरीक्षणमा सहभागी हुनेछन् । उनले प्रधानसेनापति सिग्देलसँग दुईपक्षीय भेटघाट एवं वार्ता गर्ने कार्यक्रम तय भएको नेपाली सेनाले जनाएको छ । सेना प्रमुख द्विवेदीले सबै कमान्ड तथा स्टाफ कलेजका शिक्षार्थीहरूसँग अन्तरक्रिया र पश्चिम पृतनाको भ्रमण गर्ने कार्यक्रम छ । साथै उनले प्रधानमन्त्री केपी शर्मा ओली, सत्तारूढ दलका नेता तथा प्रमुख प्रतिपक्ष दलका नेता, रक्षामन्त्रीलगायतसँग भेटवार्ता गर्ने जनाइएको छ ।