देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

बाकुमा कोप-२९ सम्मेलन शुरू, नेपालबाट राष्ट्रपति पौडेल सहभागी

देशान्तर

काठमाडौं । आजदेखि अजरबैजानको राजधानी बाकुमा संयुक्त राष्ट्र संघीय संरचना महासन्धि (युएनएफसीसीसी) अन्तर्गतको २९औँ सम्मेलन (कोप–२९) सुरु भएको छ। यो सम्मेलन नोभेम्बर २२ तारिख (मंसिर ७) सम्म चल्नेछ। नेपालका राष्ट्रपति रामचन्द्र पौडेल यो सम्मेलनमा नेपालको प्रतिनिधित्व गर्दै हिजो बाकु प्रस्थान गरि सकेका छन्।

राष्ट्रपति पौडेलले यो वर्षको सम्मेलनमा हिमाल र पृथ्वीको सुरक्षाको मुद्दालाई प्राथमिकताका साथ प्रस्तुत गर्ने कार्यक्रम रहेको छ। १९२ भन्दा बढी राष्ट्रका प्रतिनिधिहरू, राष्ट्रप्रमुख र उच्च अधिकारीहरूका सामु उनले जलवायु परिवर्तनले हिमाली क्षेत्रमा पार्ने असर र यसको सुरक्षा विषयलाई उठाउने योजना रहेको राष्ट्रपतिको सचिवालयले जनाएको छ।

नेपालको हिमाली क्षेत्रले जलवायु परिवर्तनका कारण सामना गरिरहेको जोखिमको उदाहरणहरू प्रस्तुत गर्दै उनले विपद्जन्य घटनाहरूलाई मध्यनजर राख्दै वित्तीय सहयोगका लागि विशेष पहल गर्ने बताइएको छ। जलवायु परिवर्तन व्यवस्थापन महाशाखाका प्रमुख डा. सिन्धुप्रसाद ढुङ्गानाले जलवायु परिवर्तनका कारण सिर्जित बेमौसमी विपद्, हिमपहिरो र अन्य प्राकृतिक आपदाका घटनाहरूलाई विश्वसमक्ष राख्ने योजना रहेको बताए।

राष्ट्रपति पौडेलले जलवायु परिवर्तनको असरबाट जोगिन वित्तीय स्रोत, क्षमता विकास र प्रविधिको पहुँचमा नेपालले आवश्यक सहायताको माग गर्नेछ। नेपालले सरकारको दोस्रो राष्ट्रिय निर्धारित योगदान (एनडीसी) तथा राष्ट्रिय अनुकूलन योजना (न्याप) कार्यान्वयनका लागि अन्तर्राष्ट्रिय जलवायु वित्तमा जोड दिन लागेको छ।

नेपालको प्राथमिकता यसपटकको कोप–२९ मा जलवायु वित्तलाई केन्द्रमा राखेर अन्तर्राष्ट्रिय सहयोगको सुनिश्चितता गर्नु हो। जलवायुजन्य हानी-नोक्सानीलाई कम गर्न र हिमाल र वन्य क्षेत्रको संरक्षणका लागि अन्तर्राष्ट्रिय सहयोग आवश्यक छ। 

यस सम्मेलनमा नेपालले जलवायु अनुकूलन र प्रतिरोधात्मक उपायहरू कार्यान्वयन गर्नका लागि विश्व समुदायसँग सहकार्यको अपिल गर्दै नेपालको पर्वतीय क्षेत्रको सुरक्षा र आगामी पुस्ताको भविष्यको लागि विशेष पैरवी गर्नेछ।