देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

कांग्रेसको सय दिने अभियान स्थगित !

देशान्तर

काठमाडौं ।  असोज १० गते साँझदेखि १२ गते अपराह्नसम्म ५४ वर्षयताकै रेकर्ड ब्रेक गरी परेको वर्षा र त्यसले ल्याएको बाढी अनि पहिरोका कारण उत्पन्न राष्ट्रिय विपत्तिले मुलुकको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसले संगठन सुदृढीकरणअन्तर्गत असोज ७ देखि पुस १६ गतेसम्मका लागि पूर्वनिर्धारित एक सय दिने कार्यक्रम स्थगित गरेको छ । राष्ट्रिय विपत्तिका कारण प्रभावित नागरिकहरूको उद्धार र उद्धारमा लाग्नुपर्ने भएकाले कांग्रेसले आफ्नो अभियान स्थगित गरेको हो । 

गत मंगलबार बसेको कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठकले एक सय दिने अभियान स्थगन गर्ने निर्णय गरेको हो । कांग्रेसले सम्पूर्ण पार्टी पंक्तिलाई उद्धार र राहत कार्यमा पार्टीको सम्पूर्ण शक्ति केन्द्रित गर्ने निर्णय गरेको छ र प्रभावित क्षेत्रमा पार्टीका नेता तथा कार्यकर्तालाई परिचालन गरेको छ । त्यस्तै कांग्रेसका संघीय सांसदहरूले १५ दिनको तलबबराबरको रकम बाढीपीडितको सहयोगका लागि प्रदान गर्ने निर्णय पनि संसदीय दलको बैठकले गरेको छ । 

कांग्रेसले यसपालि कोजाग्रत पूर्णिमाका दिन चियापान पनि नगर्ने भएको छ । कार्यसम्पादन समितिको बैठकले नै चियापान कार्यक्रमसमेत नगर्ने निर्णय गरेको हो । यसअघि केन्द्रीय समितिको  बैठकले संगठन सुदृढीकरणका लागि असोज ७ गतेदेखि पुस १६ गते राष्ट्रिय मेलमिलाप दिवससम्म १०० दिने अभियान सन्चालन गर्ने निर्णय गरेको थियो । त्यसका लागि सबै ७७ वटै जिल्लामा प्रतिनिधि पनि कांग्रेसले खटाइसकेको थियो । अभियानअन्तर्गत खटिएका प्रतिनिधिले वडा, पालिका, जिल्लाको बैठक बस्न नसकेको भए बैठक नियमित बस्ने वातावरण बनाउनुपर्ने, विभिन्न तहका कार्यसमितिलाई वार्षिक कार्यतालिका बनाउन लगाउने, सदस्यता विशेष अभियानका रूपमा ‘सदस्यता घर आँगन अभियान’ सञ्चालन गर्ने, क्रियाशील सदस्यता कार्ड पुगे÷नपुगेको अभिलेख राख्ने, सदस्यता कार्ड वितरण नभएको भए केन्द्रीय प्रतिनिधिले वितरणको व्यवस्था गर्नेलगायतका जिम्मेवारी तोकिएको थियो । 

कांग्रेसले बाढी र पहिरो प्रभावितहरूको राहत, उद्धार तथा पुनस्र्थापनामा ध्यान केन्द्रित गर्न, राज्यका सम्पूर्ण शक्ति त्यसैमा केन्द्रित गर्न र आवश्यक सहयोग गर्न पनि सरकारको ध्यानाकर्षण गराएको छ । यसपालिको विपत्तिमा सरकारी संयन्त्र सेना, प्रहरी, निजामती कर्मचारी तथा सरकारमै रहेका अन्य दलका मन्त्रीले समेत उचित समन्वय, सहयोग नगरेको विषयमा पनि कांग्रेस बैठकमा छलफल भएको थियो । देशान्तर साप्ताहिकबाट