देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

दुर्गा प्रसाईं प्रहरीको निगरानीमा

देशान्तर

काठमाडौं । चर्चित र विवादित मेडिकल व्यवसायी दुर्गा प्रसाईंविरुद्ध राष्ट्रिय स्वतन्त्र पार्टीकी नेतृसमेत रहेकी टीभी कार्यक्रम प्रस्तोता ज्वाला संग्रौलाले दिएको साइबर अपराधसम्बन्धी मुद्दामा अदालतबाट पक्राउ पुर्जी जारी भए पनि प्रसाईंलाई पक्रन प्रहरीले सरकारको मुख ताकिरहेको छ भने उनी प्रहरीको सख्त निगरानीमा रहेको प्रहरी सूत्रले देशान्तरलाई बताएको छ । प्रहरीले केही विद्युतीय कारोबार ऐनको दफा ४७ अनुसार प्रसाईंलाई पक्राउ गर्न जिल्ला अदालत काठमाडौंसँग अनुमति मागेकोमा गत बुधबार अदालतले प्रसाईंसहित बाग्लुङका जीवन पाण्डे र धादिङका प्रकाशचन्द्र दाहालविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो । पक्राउ पुर्जी जारी भएपछि प्रसाईंले पत्रकार सम्मेलन गर्दै केपी ओलीको सरकार राणा शासनभन्दा निरकुंश बनेकोे आरोप लगाएका थिए ।

प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अभिव्यक्ति दिएकोमा पक्राउ पुर्जी जारी भएको भनेर प्रसाईंका समर्थकले दाबी गरे पनि उनलाई अहिले पक्राउ पुर्जी जारी भएको भने संग्रौलाको उजुरीका कारण भएको प्रहरीको भनाइ छ । प्रसाईंले गत साउन २० गते युट्युबर जीवन पाण्डे र प्रकाशचन्द्र दाहालसँग एउटा आपत्तिजनक अन्तर्वार्ता दिएका थिए । ती दुई युट्युबरलाई अन्तर्वार्ता दिने क्रममा उनले ज्वालालाई संकेत गर्दै रास्वपाकी केन्द्रीय सदस्यले जापानमा वेश्यावृत्ति गरेको जस्तो गम्भीर र आपत्तिजनक लाञ्छना लगाएका थिए । प्रसाईंले गम्भीर र आपत्तिजनक आरोप लगाएपछि ज्वालाले उनीविरुद्ध कानुनी कारबाहीमा जाने बताएकी थिइन् ।

ज्वालाले आफ्ना कारणले प्रसाईंविरुद्ध पक्राउ पुर्जी जारी भएको बताएकी छिन् । उनले कुनै नेता या सरकारको विरोध गरेर नभई प्रसाईंले ‘एउटी छोरीको चरित्र हत्या गरेर, ..श्या बनाएर, मानवताविरुद्धको अपराध गरेर’ पक्राउ पुर्जी जारी भएको बताएकी छन् । सामाजिक सञ्जालमा संग्रौलाले भनेकी छिन्, ‘तपाईंले एउटी छोरीसमानकी चेलीको चरित्रहत्या गर्नुभएको छ । मर्न बाध्य बनाउनुभएको छ । डिप्रेसनमा पु¥याउनुभएको छ । तपाईंले मानवताविरुद्धको अपराध गर्नुभएको छ । तपाईंले बोलेका शब्दहरू न सुन्नलायक छन्, न माफीका लायक छन् । उनले थप लेखेकी छिन्, ‘होला, तपाईंले धेरै चेलीको उद्धार गर्नुभयो । तर, सयजना उद्धार गरेँ भन्दैमा एकजनालाई मार्न पाइन्छ भनेर कुन कानुनमा लेखिएको छ ? अब जे गर्छ कानुनले गर्छ । कानुनमाथि कोही छैन, हुँदैन र हुनुहुँदैन ।’ प्रहरीले अहिले प्रसाईंलाई निगरानीमा राखेको छ । उनले जापानमा रहेकी छोरीसँग भक्तपुरको ठिमीस्थित घरबाट फोनमा बोल्दै जेल जान तयार रहेको बताएका थिए ।