देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

शर्मालाई गायकको रूपमा चिनाउने पहिलो गीति एल्बम ‘रूपम’ नै हो



काठमाडौं । रुद्रशेखर शर्मा २०७४ सालमा आफ्नो पहिलो एकल एल्बम ‘रूपम’लाई आधिकारिक रूपमा बजारमा ल्याएर नेपाली सांगीतिक क्षेत्रमा प्रवेश गरेका एक प्रतिभाशाली गायक हुन् । ‘रूपम’ एल्बम नै गायक शर्माको पहिलोे गीति एल्बम रहेको थियो । त्यतिवेला सिंगल ट्रयाक तथा फुटकर गीतहरूको प्रचलन हिजोआजको जस्तो खासै थिएन । त्यस्ता फुटकर गीत गाउनेहरूलाई आमरूपमा हेर्ने नजरिया पनि फरक नै रहेको थियो । हुन त यसो भन्दै गर्दा फुटकर गीतहरू अस्तित्वमा नै थिएनन् भन्न खोजेको चाहिँ पक्कै पनि होइन, यस्ता गीतहरू नेपाली गीत–संगीतको प्रारम्भ भएदेखि नै अस्तित्वमा थिए र कालान्तरसम्म रहन्छन् पनि । तथापि न्यूनतम पाँचवटा गीतहरू समावेश गराएर एल्बम बजारमा ल्याएपछि मात्रै पूर्ण रूपमा गायक हो भन्नेजस्तो त्यतिबेलाको प्रचलन बजारमा चलेको थियो । योचाहिँ फलाना एल्बमको गायक हो है भनेर लिने गरिन्थ्यो । गायक शर्माले ‘रूपम’ एल्बम बजारमा ल्याउनुभन्दा अगाडि झण्डै आधा दर्जनजति फुटकर गीतहरू रेकर्ड गराएका थिए । तर, शर्मालाई गायकको रूपमा चिनाउने पहिलो गीति एल्बम ‘रूपम’ नै हो ।

सानै उमेरदेखि नाच्ने र गाउने कलामा उनी निपुण रहेका थिए । सायद यही कलाले उनलाई नेपाली सांगीतिक क्षेत्रमा प्रवेश गराउन मद्दत गरेको हुनुपर्दछ । उनी प्रायः आफूले गायका गीतहरूमा मोडलिङ पनि आफैं गर्ने गर्दछन् । स्कुले जीवन झापामै बिताएका गायक शर्माका मातापिता झापाबाट काठमाडौं बसाइँ सरेपछि उनको गायक बन्ने सपना थप साकार हुन पायो । उनले आफ्नो पढाइका साथसाथै श्रुतिसंगीत विद्यालय, परिवर्तन नेपाललगायत केही गीत–संगीत क्षेत्रको औपचारिक अध्ययन गराउने ठाउँमा गायनको औपचारिक कक्षाहरूसमेत लिए । यसका अलवा शर्माले आफूले पढेको स्कुल तथा प्रशिक्षण केन्द्रहरूमा पनि निरन्तर रूपमा गायनको अभ्यास गर्न थाले । गायक शर्माका बुबा जीपी शर्मा र आमा भूमिका उपाध्याय आफैंमा गीतकार हुन् । बुबा–आमा दुवैजनाले लेखेका फरक गीतहरूमा रुद्र शेखर शर्माले स्वरसमेत दिएका छन् ।

शेखरले नेपालीको अलवा हिन्दी र अंग्रजी भाषामा समेत गीतहरू रेकर्ड गराएका छन् । विगत केही समयदेखि अमेरिका बसोवास गर्दै आएका शर्मालाई आमदर्शक, श्रोता तथा समकालीन कलाकारहरूले रुढी शर्माका नामबाट पनि चिन्ने गर्दछन् । विगत एक दशकभन्दा लामो समयदेखि निरन्तर रूपमा गीत गाइरहेका शर्मालाई ‘दुख्दिनँ म, किन, के होला भोलि’लगायत गीतले थप सफलता दिलाएको छ । ती गीतहरूबाट उनलाई विभिन्न संघ–संस्थाहरूले अवार्डसमेत प्रदान गरेका छन् । त्यस्तै, ‘जिना अभी बाँकी है (हिन्दी), दिल चलदिया (हिन्दी), टेक मी ब्याक –अंग्रेजी),’ जस्ता विभिन्न भाषाका गीतहरूले गायक शर्मालाई अन्तराष्ट्रिय रूपमै गीतसंगीत क्षेत्रमा समेत स्थापित गराउन मद्दत पुगेको विश्वास गर्न सकिन्छ । उनले पछिल्लो समय एरा प्रोडक्सनको ब्यानरमा निर्माण भएको चलचित्र ‘मृत्युकोष’मा शीर्ष गीतमा समेत आफ्नो स्वर दिएका छन् । जसमा प्रा.डा. कृष्णहरि बरालको शब्द तथा सन्तोष श्रेष्ठको संगीत रहेको छ ।

गायक शर्माले बलिउड स्टार गायक सोनु निगम, यजाद गर्ग, गायिका रेखा घिमिरे, बेनिषा पौडेललगायत गायक–गायिकासँग गायनमा सहकार्य गरेका छन् भने संगीतकारहरू सन्तोष श्रेष्ठ, नारायण सुवेदी ‘आभाष’ सुदर्शन शिवाकोटी, अनुज गर्ग, दीपक शर्मा, सरोज प्याकुरेललगायत थुप्रै संगीतकार एवं गीता सापकोटा हुमागाईं, वरुण प्रभु दयाल गुप्ता, माधवराज खरेल, जीपी शर्मा, भूमिका उपाध्याय, सुदन डोटेललगायत गीतकारहरूको गीतमा आफ्नो स्वर दिएका छन् ।

उनले अहिले आफ्ना नयाँ तथा पुराना गीतहरूलाई आफ्नै युट्युब च्यानलमार्फत आर्काइभ गर्ने तथा विश्वव्यापी रूपमा रहेका विभिन्न डिजिटल प्लेटफर्ममार्फत बजारमा ल्याउन थालेका छन् । गायक शर्माका ‘देवदूत हौ तिमी, माया मारी, मैले छेके दौरा र सुरुवाल, तिमी भन्छौ जुन राम्रो, दुख्दिनँ म, तड्पिएर बाँचूँ कति, शीतल ताप्नु, वर्षौं बित्यो, कहिले आँसुमा, किन, मृत्युकोष, दिल दे दिया, जिना अभी बाँकी हे, टेक मी ब्याक’ ती प्लेटफर्ममा उपलब्ध छन् ।